बदली र वर्षासँगै चिसो बढ्यो, आज पनि पहाडी भेगमा पानी पर्ने

 चैत ९, २०८० शुक्रबार ९:६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – वर्षा र बदलीसँगै देशभर चिसो बढेको छ । चार दिन अघिसम्म देशका धेरै ठाउँमा गर्मी बढेको थियो । तराईमा तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । तर अस्ति बुधवारदेखि मौसम बदली भएर पानी पर्न थालेपछि अधिकतम तापक्रम घटेर चिसो भएको छ ।

पूर्वको विराटनगर, धरान, जनकपुरलगायतका तराईका ठाउँमा अधिकतम तापक्रम २६ देखि २७ डिग्री सेल्सियसम्म मात्रै पुगेको छ । गएकाे मङ्गलवारसम्म यी ठाउँको तापक्रम ३१ डिग्री सेल्सियसभन्दा माथि थियो । पश्चिम तराईमा पनि अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा कम छ । पहाडी भेगको अधिकतम तापक्रम घटेर १२ देखि २० डिग्री सेल्सियसम्म मात्रै पुगेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम २३ डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । दिउँसो तापक्रम बढे पनि बिहान र बेलुका भने चिसो छ । पर्सि आइतवारसम्मै बदली र वर्षाको सम्भावना भएकाले चिसो बढ्ने मौसमविद्ले बताएका छन् ।

काठमाण्डौ उपत्यकासहित पहाडी भेगमा आज पनि छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो मौसम खुलेर केहीबेर घाम लागे पनि फेरि बदली र वर्षाको सम्भावना रहेको मौसमविद गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा पनि पानी पर्ने सम्भावना छ । हिजो र अस्ति कोशी, मधेश, बाग्मती र गण्डकीका केही ठाउँमा पानी परेको थियो । अरू ठाउँको तुलनामा मधेश र कोशीमा धेरै पानी परेको छ ।

आज मधेश प्रदेशमा पानी पर्ने सम्भावना नभए पनि भोलि फेरि कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद नगरकोटीले जानकारी दिनुभयो ।

काठमाण्डौ उपत्यकासहित केही ठाउँमा राति र अहिले बिहान पनि हल्का पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षा भएको हो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया