नेपाली प्लाइउडको भारत निकासी अवरोध हट्यो

 चैत १४, २०८० बुधबार १८:२०:५८ | रासस
unn.prixa.net

रासस

बाँके – नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ । यसअघि भारतले गुणस्तर प्रमाण चिह्नको अनिवार्य व्यवस्था गर्दै नेपालबाट प्लाइउड लैजान अबरोध गरेको थियो । अवरोध हटेपछि नेपाली प्लाइउड उद्योगी उत्साहित भएका छन् ।

नेपालको पूर्वी नाकाबाट प्लाइउड निकासी भइरहे पनि पश्चिम नेपालको नेपालगञ्ज नाकाबाट भने प्लाइउडको निर्यातमा भारतले रोक लगाएको थियो । भारत सरकारले प्लाइउड, बोर्ड र डोरमा एक वर्ष बिआइएस मापदण्डका लागि म्याद थप गर्ने निर्णय गरेका कारण अवरोध हटेको हो ।

शिखर प्लाइउड उद्योगका सञ्चालक चम्पालाल बोथराले गुणस्तर प्रमाण चिह्न अनिवार्य गरिँदा रोकिएको निर्यात अब नियमित हुने विश्वास व्यक्त गर्नुभयो ।

बाँकेको जानकी गाउँपालिका–८ इन्द्रपुरमा सञ्चालित मिडलाज इन्डस्ट्रिज प्लाइउड उद्योगका सञ्चालक रहमान मियाँले भारतले निर्यातका लागि बाटो खोले पनि गुणस्तरीय प्लाइउड उत्पादनका लागि थप लगानी लगाउन सकिने अवस्था नरहेको बताउनुभयो ।

नेपाली प्लाइउड इन्डस्ट्रिजका लागि ठूलो राहतको निर्णय भएको जनाउँदै ओम प्लाइउड एन्ड फर्निचर प्रालिका सञ्चालक पशुपति दयाल मिश्रले नेपाली प्लाइ उद्योगका लागि निकै ठूलो राहत दिएको बताउनुभयो ।

ओम प्लाईले मात्रै गत वर्ष चार करोड रुपैयाँभन्दा बढीको प्लाई भारत निकासी गरेको थियो । भारत सरकारले गत भदौ १४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेब्रुअरी २८ पछि प्लाइउडमा बिआइएस प्रमाण अनिवार्य गरिएको जनाएको थियो । त्यही सूचना रद्द गर्दै शुक्रबार एक वर्षका लागि म्याद थप्ने निर्णय गरिएको हो ।

नेपालबाट गएको वर्ष पौने पाँच अर्ब रुपैयाँको प्लाइउड निकासी भएको थियो । बाँकेका व्यवसायीले यस वर्ष झण्डै आठ अर्ब रुपैयाँको प्लाइउड निकासी गर्ने लक्ष्य लिएको नेपाल प्लाइउड सङ्घले जनाएको छ ।

उद्योग सञ्चालककाअनुसार भारतको वन मन्त्रालयले आउँदो पाँच वर्षसम्म वनमा रुख कटान नगर्ने नीति लिएपछि नेपालबाट प्लाइउड निर्यात बढेको हो । भारत सरकारको निर्णयसँगै नेपाल–भारत नाका पारी रुपैडिहास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाण चिह्नका नाममा अवरोध सृजना गरेपछि पश्चिमको सबैभन्दा ठूलो नाका नेपालगञ्जबाट प्लाइउडको निकासी मार्च १ तारिखदेखि रोकिएको थियो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया