चट्याङबाट बच्न के गर्ने, के नगर्ने ?

 चैत २१, २०८० बुधबार १८:३९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'प्रि–मनसुन' को यो बेला चट्याङ धेरै पर्छ । केही दिनदेखि लगातार चट्याङ पर्दै आएको छ । नेपालको सबैभन्दा खतरनाक प्राकृतिक प्रकोपमध्ये एक चट्याङ पनि हो । पछिल्लो दुई हप्तामा मात्रै चट्याङ लागेर तीन जनाको ज्यान गएको छ ।

गएको वैशाख महिनापछि मात्रै चट्याङ लागेर एक सय २७ जनाको ज्यान गएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्याङ्कअनुसार ११ महिनामा चट्याङ लागेर चार सय ५१ जना घाइते भएका छन् । चट्याङ लागेर बर्सेनि ठूलो सङ्ख्यामा घरपालुवा पशुचौपायासमेत मर्ने गरेका छन् ।

चट्याङ विशेषगरी प्रि–मनसुन अर्थात् चैत, वैशाख र जेठ महिनामा धेरै पर्छ । अर्थात् अबको झन्डै तीन महिना चट्याङको जोखिम धेरै हुने समय हो ।

चट्याङबाट बच्न के गर्ने, के नगर्ने ?

वरिष्ठ मौसमविद् विभूति पोखरेलको सुझाव यस्तो छ :–

घरबाहिर भएको अवस्थामा चट्याङ परेमा सकेसम्म आश्रय खोज्नुपर्छ । यदि उचित आश्रय फेला नपरेको अवस्थामा वरपरको सबैभन्दा अग्लो वस्तुको नजिक जान हुँदैन । खुला मैदान, पहाडको टुप्पो, अग्ला रुख र बिजुली लाइन वा पोलहरूबाट सकेसम्म टाढा बस्नुपर्छ । कुनै पनि विकल्प नभएको अवस्थामा दुवै खुट्टा जोडी टाउको घुँडाको बीचमा राखेर भुइँमा झुक्नुपर्छ । खुट्टाको बलले जमिनसँगको सम्पर्क कम गर्नुपर्छ । भुइँमा सुत्न हुँदैन ।

घरभित्र भएको अवस्थामा बिजुलीका उपकरणहरू जस्तै– टीभी, टेलिफोन, माइक्रोवेभ ओभन, वासिङ मेशिन लगायतबाट टाढा बस्नुपर्छ । घरभित्र रहेको पानीको धारा, बिजुलीको तार र धातुको पाइपबाट पनि बिजुली प्रवाह हुन सक्ने भएकाले यी कुराहरूबाट पनि टाढा बस्नुपर्छ । यस्तै धातुको झ्याल ढोका तथा कहिलेकाहीँ घरको भित्ता र भुइँबाट पनि बिजुली प्रवाह हुने भएकाले धातु वा भुइँ छुनु हुँदैन । खाट, टेबुल, वा कुर्सीमाथि बस्नुपर्छ ।

चट्याङ परिरहेका बेला पार्क, ताल, पोखरी, खेल मैदान, खोला किनार, खेतबारी जोखिमपूर्ण क्षेत्र भएकाले ती ठाउँमा जान हुँदैन । चट्याङ परिरहेको बेला घरबाहिर निस्कनु हुँदैन ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया