काठमाण्डौको ठमेल र दरबारमार्ग आजदेखि चौबीसै घण्टा खुला

 वैशाख १, २०८१ शनिबार १२:२१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि  चौबीसै  घण्टा खुला हुने भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आचारसंहिता बनाएर ती क्षेत्रलाई आज नयाँ वर्षको पहिलो दिनदेखि चौबीसै घण्टा सञ्चालन गर्न लागेको हो । गृहमन्त्री लामिछानेसहित सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तिको उपस्थितिमा आज विशेष कार्यक्रम गरी ती क्षेत्र चौबीसै घण्टा खुला राख्ने घोषणा हुँदैछ ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी आवश्यक सुरक्षा व्यवस्था कार्ययोजना कार्यान्वयन गरिने बताउनुभयो ।

आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने, उपभोक्ताले पालना गर्नुपर्ने, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षाका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख छ ।  ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि चौबीसै घण्टा खुला गर्न लागिएको बताउनुभयो । दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले चौबिसै  घण्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया