टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डौ – बक्यौता भुक्तानी नगरेका कारण छ वटा उद्योगमा काटिएको लाइन जोडिएको छ । गएराति नेपाल विद्युत् प्राधिकरणले ती उद्योगमा लाइन जोडिदिएको हो । हिजो बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले तीन महिनाभित्र बक्यौता भुक्तानी नगरे पुनः कारबाही गर्ने निर्णयसहित लाइन जोड्ने निर्णय गरेको थियो ।
नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ४ गते सरोकारवालासँग छलफल गर्दै विद्युत् काटिएका उद्योगमा तत्काल जडान गर्न निर्देशन दिनुभएको थियो । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता प्रिमियम महसुल नतिर्ने छ वटा उद्योगमा बिजुलीको लाइन काटेपछि उद्योगी र प्राधिकरणबीच विवाद हुँदै आएको थियो ।
ऊर्जामन्त्रीको अध्यक्षतामा हिजो बसेको आठ सदस्यीय सञ्चालक समितिको बैठकबाट भएको निर्णयप्रति सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यले असहमति जनाएर 'नोट अफ डिसेन्ट' लेख्नुभएको छ । प्राधिकरणले गएको असार २५ देखि २७ गतेभित्र जगदम्बा स्टिल्स, रिलायन्स स्पिनिङ मिल्स, हुलास स्टिल्स, जगदम्बा सिन्थेटिक्स, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टले विद्युत् महसुलको बक्यौता नतिरेको भन्दै विद्युत् आपूर्ति कटौती गरिदिएको थियो ।
प्राधिकरणका अनुसार विगतमा ठूलो अङ्कमा महसुल मिनाहापछि पनि ६१ उद्योगले जरिवानासहित आठ अर्ब २६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । त्यसमध्ये जगदम्बा स्टिलको एक अर्ब ६० करोड १८ लाख, रिलायन्सको ७५ करोड ३७ लाख, घोराहीको ५१ करोड, अर्घाखाँचीको ४४ करोड ८६ लाख, जगदम्बा सिन्थेटिक्सको २० करोड र हुलासको १४ करोड रुपैयाँ बक्यौता छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युतको बक्यौता उठाइने बताउनुभएको छ । उहाँले बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने अवस्था रहेको र यस विषयमा सरकार र विद्युत् प्राधिकरणको बीचमा बाहिर आएजस्तो कुनै मतभेद नरहेको पनि उल्लेख गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।