पर्सिदेखि त्रिभुवन विमानस्थल झन्डै ५ महिनासम्म दैनिक १० घण्टा बन्द हुने

 कात्तिक २०, २०८१ मंगलबार १४:५०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शुक्रवार कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्यक्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको हो ।

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा झन्डै पाँच महिना लाग्ने हुँदा कात्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ । गर्मीयाममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महानिर्देशक अधिकारीले यो कामको योजना झन्डै आठ महिना अघिदेखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गर्नुभयो ।

हिउँद महिनामा उडान कम हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागेको प्राधिकरणले जनाएको छ । ट्याक्सी वे निर्माणपछि विमानस्थलको कार्यक्षमता २५ प्रतिशतले बढेर जाने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । प्राधिकरणले स्तरोन्नतिको अवधिभर बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ ।

महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तो दरको टिकट व्यवस्था गरेको स्मरण गराउनुभयो । उहाँले भैरहवा विमानस्थलमा थाई एअर एसिया, जजिरा र फ्लाई दुबई गरी तीन वटा अन्तर्राष्ट्रिय एअरलाइन्सले उडान भर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिनुभयो ।

त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गर्दा विमानहरुले उडान कटौती गर्ने र भाडा महँगिने तथा टिकट नै नपाउने हुँदा पर्यटक आगमनमा असर पर्ने भन्दै व्यवसायीहरुले चिन्ता जनाएका छन् ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया