भृकुटीमण्डपमा 'क्यान इन्फोटेक' शुरू, प्रदर्शनीमै राष्ट्रिय परिचयपत्रसमेत बनाउन सकिने

 माघ २४, २०८१ बिहीबार १५:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सूचना प्रविधि क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा रहेको क्यान इन्फोटेक आजदेखि शुरू भएको छ । कम्प्युटर एसोसिएशन नेपाल (क्यान) महासङ्घको आयोजनामा आजदेखि काठमण्डौको भृकुटीमण्डप प्रदर्शनी हलमा ३०औं संस्करणको क्यान इन्फोटेक २०२५ शुरू भएको हो ।

इन्फोटेकको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । सूचना प्रविधिको प्रदर्शनी भएकाले एआई रोबोटको सहयोगमा डिजिटल दियो बालेर कार्यक्रमको उद्घाटन भएको छ ।

क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नवीनतम प्रविधि र स्थानीय बजारको माग अनुसार विकास भएका प्रतिभा तथा आविष्कारहरूलाई प्रस्तुत गरिएको क्यानले जनाएको छ । क्यान महासङ्घकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले प्रदर्शनीमा राखिएका नवीनतम प्रविधि र आविष्कारहरूले देशको डिजिटल प्रविधि क्षेत्रमा ठूलो योगदान पुर्‍याउने बताउनुभयाे ।

यस पटक मुख्य आकर्षणमा ह्युमनाइड रोबोटदेखि सेल्फ ड्राइभिङ कारसम्म रहेको क्यानले जनाएको छ । यस संस्करणमा १ सय ५० वटा स्टल रहेका छन् ।

यसैबीच क्यान इन्फोटेकमै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रविष्टको सुविधा रहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोलीले क्यान इन्फोटेकमा छुट्टै दर्ता स्टेशन सञ्चालन गरी यो सेवा दिएको हो । दर्ता स्टेशनमा सेवाग्राहीले आफ्नो वैयक्तिक तथा जैविक विवरण दर्ता गराएपछि तत्कालै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न सक्नेछन् । काठमाण्डाैमा रहेका नेपालका जुनसुकै जिल्लाका नागरिकले क्यान इन्फोटेकमा पुगेर राष्ट्रिय परिचयपत्रका लागि बायोमेट्रिक दिन सक्नेछन् ।

क्यान इन्फोटेकमा सर्वसाधारणका लागि टिकट शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ; ज्येष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्षमुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिशमा सामूहिक अवलोकन निःशुल्क हुनेछ ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया