पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कम्युनिष्ट नेताहरुको जीवनमा उतार–चढावको कुनै ठेगान हुँदैन । आफ्ना अत्यन्तै प्रिय नेताको निधनमा पनि कुनै बेला परिस्थितिबस् श्रद्धाञ्जली चढाउन उपस्थित हुन नसकिने हुन सक्दछ र कतिपय अवस्थामा त्यस्तो परिस्थिति उत्पन्न हुने गरेको पनि छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका अत्यन्तै सरल नेताका रुपमा परिचित निर्मल लामाको निधनमा तात्कालीन माओवादी अध्यक्ष प्रचण्डले जसरी दुःख व्यक्त गर्दै व्यक्तव्यमार्फत् श्रद्धाञ्जली दिनुभयो, ठीक त्यसैगरी कृष्णदास श्रेष्ठको निधनमा नेत्र विक्रम चन्द (विप्लव) को वक्तव्यमार्फत् श्रद्धाञ्जली सन्देश आएको छ ।
प्रचण्ड त्यतिबेला जनयुद्धमा हुनुहुन्थ्यो । निर्मल लामाको अन्त्येष्टिमा आउने हल्ला मात्रै थियो । तर उहाँले वक्तव्य मात्रै पठाउनु भयो । कृष्णदास श्रेष्ठको निधनमा विप्लवले पनि त्यसैगरी वक्तव्य पठाउनुभयो । एकैदिनमा भएका बम विस्फोटका जिम्मेवारीसहितका वक्तव्य पनि आएपछि अहिले विप्लवकातर्फबाट देशमा एकखालको अघोषित युद्धकै अवस्था श्रृजना गरिएको सरकारी पक्षको ठहरका कारण सो समूह भूमिगत अवस्थामा छ ।
नेपाली कम्युनिष्टहरुलाई सबैभन्दा बढी अन्तर्राष्ट्रियवादी द्वन्द्वात्मक भौतिकवादी शिक्षा पढाएका ८७ वर्षीय कृष्णदास श्रेष्ठलाई उहाँका समकालीन साथै पछिल्लो पुस्ताले सधैँ “माड्साब” भनेरै सम्बोधन गरिरहे । माक्र्सको सिद्धान्त पढ्ने र पढाउने आवश्यकता रहेको अवस्थाका कम्युनिष्ट पार्टीहरुका लागि कृष्णदास “गुरु” बराबरकै हैसियतका मान्य नेता हुनुहुन्थ्यो । उहाँ अत्यन्तै अध्ययनशील हुनुहुन्थ्यो । मार्क्सवादी सिद्धान्त र साहित्यका पुस्तकहरु अनुवाद गर्ने र मौलिक लेखनमै पनि अब्बल हुनुहुन्थ्यो ।
नेपाली कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु अध्ययनशील भन्ने गरिन्थ्यो कुनैबेला । पछि सत्तामा पुगेपछि एकथरीले अध्ययनशीलता परित्याग गरेर “विकासे कार्यकर्ता” बनेको भन्ने गरेका छन् । त्यसैले अध्ययनशीलताका प्रतिमूर्तिका रुपमा रहेका कृष्णदास माओवादी विभाजित भएपछि “माओवाद” प्रति असहमति हुँदाहुँदै पनि प्रतिपक्षीय धारतर्फ लाग्नुभयो । वास्तवमा उहाँ “माओ विचारधारा” भन्ने गर्नुहुन्थ्यो । उहाँका निकट पन्ना रत्न महर्जनका अनुसार माड्साबले वैद्य माओवादीभित्रै पनि माओ विचारलाई “वाद” भनिएकोमा विरोध गर्नुहुन्थ्यो ।
सदा माक्र्सवाद सम्बन्धी नयाँ पुस्तक प्रकाशनकै चिन्तामा रहने माड्सापले आफ्नो पुनर्मुद्रित पुस्तकको मुखपृष्ठमा कार्ल माक्र्सको तस्बिर सहितको अन्तिम पुस्तक “कार्ल मार्क्स : व्यक्तित्व र कृतित्व” को प्रकाशन भएको देख्न पाउनु भएन । पुस्तकका प्रकाशक पारस कायस्थले तीन दिनअघि पुस्तकको तयारी कपी देखाउन भ्याएका थिए, तर मुखपृष्ठमा कार्ल मार्क्सको रंगीन तस्बिरसहितको कभर भने देखाउन पाएनन् ।
“माड्सापले बोलाउनुभयो, मैले तयार भएको पुस्तकको भित्री ३ सय ३६ पृष्ठ देखाएँ, पर्सि कभर तयार भएपछि देखाउन ल्याउँछु भनेको थिएँ, देखाउन नपाउँदै उहाँको निधन सुन्नुप¥यो” – पारसको दुःखपूर्ण भनाई हो यो ।
दुःखित् मन लिएर अन्त्येष्टिमा पुगेका कायस्थले कार्ल माक्र्सको फोटोसहित तयार भएको एकप्रति पुस्तक श्रद्धाञ्जलीस्वरुप चढाएर आत्मसन्तुष्टी लिने प्रयास गरे । आफ्नो जीवनमा कहिल्यै नमेटिने अवस्थाको सिर्जना भएकोमा उनी खिन्न छन् ।
‘माड्साब’का निधन भएको खबर फैलिएपछि काठमाडौंको नयाँ बानेश्वर, शंखमूल किनारमा रहेको उहाँको निवासमा भीड बढ्दो थियो । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) ले श्रद्धाञ्जलीको कार्यक्रम तत्काल तय ग¥यो । गृहमन्त्री रामबहादुर थापा बादल साइरन बजाउँदे आइपुगे । ‘माडसाब’का एकमात्र पुत्र संजीबदासले आफ्ना पिताको जन्म कुण्डली लिएर आए । नेवाः समाजमा व्यक्तिको निधनसँगै जलाइने परम्परा रहँदै आएको जन्मकुण्डलीमा माड्साबको जन्म मिति विक्रम संवत् १९८८ साल कार्तिक ३ गते सोमबार लेखिएको थियो । सोही अनुरुप माड्साबको जन्म मिति ८७ वर्ष निक्र्यौल गरेर प्रचारमा ल्याइयो ।
माड्साब नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालबाट दीक्षित हुनुहुन्थ्यो । काठमाडौंको नरदेवी उहाँको पुरानो कुलघर थियो । कहिल्यै कुनै लाभको पदमा बस्न नरुचाएका ‘माड्साब’ले विद्यार्थीहरुलाई सुरुमा केही वर्ष मास्टरी गर्नुभएको, ट्यूसन पढाउनुभएको, निरन्तर पुस्तक लेखन र प्रकाशन गर्नुभएको र पत्र–पत्रिकामा लेख्ने गर्नुभएको प्रत्यक्ष सहकार्य गर्नेहरुले बताइरहेका छन् । मोहन वैद्य “किरण” ले उहाँको कृतित्वको अवलोकन गर्दै पुस्तक प्रकाशन गर्नुभएको छ । त्यसमा उहाँले सारमा लेख्नुभएको छ– “उहाँ मूलतः नेपाली कम्युनिष्ट आन्दोलनको एउटा स्कुल नै हुनुहुन्छ ।”
पञ्चायती व्यवस्थाको अन्त्यतिर उहाँकै पहलमा राजधानीबाट रातो “युगधारा” साप्ताहिक प्रकाशन गरिएको थियो । तीर्थमान ज्यापुको प्रकाशकत्वमा प्रकाशित त्यस साप्ताहिकमा हिरण्यलाल श्रेष्ठ प्रधान सम्पादक हुनुहुन्थ्यो भने वरिष्ठ सम्पादक पद्मरत्न तुलाधर हुनुहुन्थ्यो । त्यसैगरी रघु पन्त कार्यकारी सम्पादक हुनुहुन्थ्यो भने जगदीशचन्द्र भण्डारी साहित्य सम्पादक हुनुहुन्थ्यो । त्यतिबेलाका कुरा स्मरण गर्दै पद्मरत्न तुलाधरले लेख्नुभएको थियो– “मैले कृष्णदास श्रेष्ठलाई कवि दुर्गालाल श्रेष्ठमार्फत् औपचारिक चिनजान गरेको थिएँ । पहिलो भेटमा भएको कुराकानीबाट नै म उहाँको विचार र तर्कबाट प्रभावित बनेको थिएँ । दुर्गालाल श्रेष्ठसँग उहाँको राम्रो सम्बन्ध थियो । म कवि दुर्गालाल श्रेष्ठसँग प्रायः भेट्न जाने गर्दथेँ ।”
यसैगरी “कृष्णदास श्रेष्ठको व्यक्तित्व परिचय” पुस्तकका लेखक रामचन्द्र फुयाँलले लेख्नुभएको छ– “माक्र्सवादप्रतिको उहाँको निष्ठा त्यसका आधारभूत सिद्धान्तहरुको संरक्षण गर्ने उहाँको प्रयत्नमा पनि अभिव्यक्त भएको छ । नेपाली कम्युनिष्ट आन्दोलनका पंक्तिमा रहेका बुद्धिजीवीहरु र आफूलाई ठूलो सिद्धान्तकार र नेता ठान्नेहरुले माक्र्सवादका नाममा गरेका त्यसको गलत प्रयोग वा त्यसलाई संशोधन गरेर विकृत पार्ने गरेको प्रयत्नप्रति उहाँले दृढ विरोध जनाउने गर्नुभएको छ ।”
सारमा कृष्णदास श्रेष्ठ नेपाली कम्युनिष्टहरुका सैद्धान्तिक लेखनीका आधार हुनुहुन्थ्यो । जसले निरन्तर नेपालको कम्युनिष्ट आन्दोलनलाई पढ्ने खुराक दिइरह्यो । त्यस्ता व्यक्तित्वको निधनमा कम्युनिष्ट पार्टीको झण्डा झुकाएको कतै सुन्न र पढ्न पाइएन । यसले नेपाली कम्युनिष्टहरु सत्तामा रहेका होस् वा सत्ता बाहिर, सोच र प्रवृत्तिमा फरक नरहेको देखाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।