सुनको भाउ फेरि निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजा...
मंसिर ९, २०८१ आइतबार
रुकुम पश्चिम – सरकारले घोषणा गरेको १० नमुना शहरमध्येको चौरजहारी नमुना शहरमा अब नगर बस सञ्चालन हुने भएका छन् ।
चौरजहारी नगरपालिकाले सञ्चालन गर्ने नगर बसमा यात्रुहरुले ५० प्रतिशत छुटसमेत पाउनेछन् ।
आफ्नै बस सञ्चालन गरेर नगरमा सहज र सुविधायुक्त यातायात सेवा दिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका अन्तिम तयारीमा रहेको छ । नगर प्रमुख विशाल शर्माले उज्यालोसँग भन्नुभयो, ‘३ ओटा बस किनिसक्यौँ अब तत्काल सञ्चालन गर्छाैँ ।’ उहाँका अनुसार नगरवासीको चाहनालाई प्राथमिकता दिँदै उक्त कार्य थालिएको हो ।
यातायात क्षेत्रमा जनताले समस्या झेल्दै आएकोले बैँकबाट ऋण लिएर भए पनि जनतालाई सहज यातायात सुविधा दिन नगरपालिकाले नयाँ बस भित्र्याएको छ ।
‘नगरवासीको हितका लागि हामी ऋणी बन्न तयार छौ,’ नगर प्रमुख शर्माले भन्नुभयो, ‘बैंकबाट ऋण लिएर पनि जनतालाई सुविधा दिँदैछौ ।’
नगरपालिकाले ९२ लाख १५ हजारमा ३ वटा बस किनेको हो । दुईवटा बस ३१ लाख १० का दरले किनिएको हो भने एउटा बस २७ लाख ९५ हजारमा किनिएको नगरपालिकाले जनाएको छ ।
दुईवटा गाडी ३२-३२ सिट क्षमताका छन् भने एउटा गाडी २६ सिट क्षमताको छ ।
नगरपालिकाले नगर बसका रुपमा बस खरिद गरेको हो । नगरपालिकाले बस खरिदका लागि १ करोड ४ लाखको टेण्डर आह्वान गरेकामा सिप्रदीले ९२ लाख १५ हजारमा टेण्डर पाएको थियो ।
नगरपालिकाले बसका लागि बैंकबाट ऋण लिन लागेको छ । आन्तरिक स्रोतबाट सबै खर्च व्यहोर्न सम्भव नभएपछि नगरपालिकाले बैंकबाट ऋण लिएरै भए पनि बस सञ्चालन गर्ने निति लिएको हो ।
‘किस्ता किस्तामा ऋण चुक्ता गर्ने गरी बैंकबाट ऋण लिने तयारी भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘बसबाट संकलित रकमबाट किस्ता तिरिने छ ।’
नगरपालिकाले कुनै कामका लागि बजेट अपुग भएमा बैंकबाट ऋण लिने नीति लिएको छ ।
नगरपालिकाले यातायायात व्यवस्थापन ऐन २०७५ अनुसार नगर बस सञ्चालन गर्न लागेको हो । नगरपालिकाले चैत्र पहिलो सातापछि नगर बस सञ्चालन गर्ने तयारी गरेको छ ।
बस ल्याइसकिएको र अब चालकको व्यवस्थासहित केही नीतिगत व्यवस्था गरेर बस सञ्चालन गरिने नगर प्रमुख शर्माले बताउनुभयो ।
नगरपालिकाले चालकका लागि सात दिने सूचनासमेत सार्वजनिक गरिसकेको उहाँको भनाइ छ ।
चैत्र पहिलो सातासम्म नगर बस सञ्चालनसम्बन्धी सम्पूर्ण व्यवस्था गरिसक्ने र त्यसपछि बस सञ्चालन गर्ने नगर प्रमुख शर्माको भनाइ छ ।
उहाँका अनुसार तीन वटामध्ये २ वटा गाडी चौरजहारी–नुवाकोट सडक खण्डमा र एउटा चौरजहारी उपत्यकाभित्र सञ्चालन हुनेछ ।
नुवाकोट–चौरजहारी खण्डमा दिनमा दुईवटा गाडी चल्नेछन् । हरेक दिन बिहान चौरजहारीबाट नुवाकोटका लागि र नुवाकोटबाट चौरहजारीका लागि गाडी छुट्नेछन् ।
बिहान छुटेका गाडी साँझ पुनः छुटेकै ठाउँमा फर्किने छन् । यो सडक वडालाई नगरपालिकाको केन्द्रसँग जोड्ने मुख्य सडक हो । यो सडकमा नगर बस चलेपछि १४ मध्ये १२ वडावासी लाभान्वित हुने बताइएको छ ।
८ र ९ नं. वडाबाहेक सबै वडावासीले यस सडकबाट लाभ लिनेछन् ।
नगरपालिकाले सार्वजनिक गाडीको भन्दा ५० प्रतिशत छुटमा नै नगर बसमा सेवा दिने तयारी गरेको छ । नगर प्रमुख शर्माले भाडादरको बारेमा भन्नुभयो, ‘५० प्रतिशत छुट दिने सोच छ, अब बैठकबाट निर्णय गरेर भाडा र गाडी रुट टुंग्याउनेछाैँ ।’
स्थानीय सरकारले गरेको यो कार्यले पनि गाउँमा सरकारको उपस्थिति र सेवाको सहजताको अनुभूति लिन पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।