कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
क्षेत्रफलका हिसाबले पाकिस्तान बंगलादेशभन्दा झण्डै ५ गुणा ठूलो छ । तर विदेशी मुद्रा सञ्चितिमा भने पाकिस्तान बंगलादेशभन्दा झण्डै ५ गुणा कमजोर छ ।
पाकिस्तानसँग झण्डै आठ अर्ब अमेरिकी डलर विदेशी मुद्रा रहेको छ । तर बंगलादेशसँग भने झण्डै ३५ अर्ब अमेरिकी डलर विदेशी मुद्रा रहेको छ । बंगलादेशलाई दक्षिण एसियाकै ‘टाइगर’ भनिन थालिएको छ ।
बंगलादेशको आर्थिक वृद्धिदर ८ प्रतिशत रहेको छ । भारतको आर्थिक वृद्धिदर घटेर झण्डै ५ प्रतिशतको हाराहारीमा पुगेको छ । पाकिस्तानको अर्थव्यवस्था पनि ५ र ६ प्रतिशतकै बीचमा रहेको छ । बंगलादेशमा प्रतिव्यक्ति ऋण ४३४ डलर रहेको छ भने पाकिस्तानमा प्रतिव्यक्ति ऋण ९७४ डलर छ ।
वर्ल्ड इकोनोमिक फोरमका अनुसार बंगलादेशका १२० भन्दा बढी कम्पनीले एक अर्ब डलरभन्दा बढीका सूचना तथा प्रविधि विश्वका ३५ देशमा निर्यात गरिरहेको छ ।वर्ल्ड इकोनोमिक फोरमकै रिपोर्टअनुसार २०२१ सम्म यो एक अर्ब डलर बढेर पाँच अर्ब डलर पुग्नेछ ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाले सन् २००९ मा डिजिटल बंगलादेश कार्यक्रम सुरु गरेकी थिइन् । यसअन्तर्गत सरकारी सेवालाई मात्रै डिजिटल बनाइएन, सूचना प्रविधि उद्योगको पनि विस्तार गरियो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) को आकलनअनुसार बंगलादेशको अर्थव्यवस्था १८० अर्ब डलरबाट बढेर सन् २०२१ सम्म ३२२ अरब डलर हुनेछ ।
सन् १९५१ को जनगणनाअनुसार पूर्वी पाकिस्तान अर्थात आजको बंगलादेशको जनसंख्या ४ करोड २० लाख रहेको थियो, पश्चिमी पाकिस्तानको जनसंख्या ३ करोड ३७ लाख रहेको थियो । आजको कुरा गर्ने हो भने बंगलादेशको जनसंख्या १६ करोड ५० लाख रहेको छ भने पाकिस्तानको जनसंख्या २० करोड पुगेको छ ।
बंगलादेशले आफ्नो जनसंख्या पनि नियन्त्रण गर्न सफल भैरहेको छ, जुन पाकिस्तान र भारतमा सफल देखिएको छैन । अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटका अनुसार अनलाइन वर्करका हिसाबले बंगलादेश विश्वमै दोस्रो ठूलो देश हो । एसियाली विकास बैंकका अनुसार दक्षिण एसियामा भारतलाई पनि चुनौती दिइरहेको छ बंगलादेशले ।
छलाङ मार्दै बंगलादेशी अर्थव्यवस्था
बंगलादेशको अर्थव्यवस्थामा उद्योग क्षेत्रको वृद्धि महत्वपूर्ण भूमिका रहेको छ । अर्कोतर्फ भारतको अर्थव्यवस्थामा भने सर्भिस सेक्टरको योगदान धेरै छ भने उद्योग क्षेत्रको वृद्धिदर नकारात्मक नै छ भन्दा हुन्छ । भारतको ठूलो जनसंख्या कृषिमा आधारित छ । तर जीडीपीमा कृषिको योगदान लगातार कम भैरहेको छ ।
सन् १९७४ को भोकमरीपछि १६ करोडभन्दा बढी जनसंख्या भएको बंगलादेश खाद्य उत्पादनमा आत्मनिर्भर भैसकेको छ । २००९ मा भन्दा अहिले बंगलादेशको प्रतिव्यक्ति आय पनि तीन गुणाले बढेको छ ।
यस वर्ष बंगलादेशको प्रतिव्यक्ति आय १७५० डलर भएको छ । विश्व बैंकको तथ्यांकअनुसार बंगलादेशका गरिबीको रेखामुनि रहेका नागरिक धेरै रहेका छन् । १.२५ डलरमा आफ्नो जीवन चलाउने बंगलादेशी केही वर्षअघि १९ प्रतिशत थिए, त्यो अहिले घटेर ९ प्रतिशत भएको छ ।
बंगलादेशमा उत्पादित कपडाको निर्यातमा पनि बर्सेनि १५देखि १७ प्रतिशतले बढिरहेको छ । सन् २०१८ को जुन महिनासम्म बंगलादेशले ३६ अर्ब ७० करोडको कपडा निर्यात गरको थियो ।
बंगलादेशी प्रधानमन्त्री हसीनाले यसलाई २०१९ को अन्त्यसम्म ३९ अर्ब डलर पुर्याउने बताएकी छिन् त्यस्तै सन् २०२१ मा बंगलादेशले आफ्नो स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा कपडाको निर्यात ५० अर्ब डलरसम्म पुर्याउने बताएको छ ।
मेहनती बंगलादेशी
बंगलादेशको अर्थव्यवस्थामा रेमिट्यान्सको पनि ठूलो भूमिका रहेको छ । झण्डै २५ लाख बंगलादेशी विभिन्न देशमा रहेका छन् । बंगलादेशमा बर्सेनि १८ प्रतिशले रेमिट्यान्स बढिरहेको छ । सन् २०१८ मा मात्रै बंगलादेशमा १५ अर्ब डलर रेमिट्यान्स भित्रिएको थियो ।
प्रधानमन्त्री हसीनालाई थाहा छ कि दिगो अर्थव्यवस्थाका लागि देशमा उद्योगधन्दा बढाउनै पर्छ । बंगलादेश कम लागतवाला ‘म्यानुफ्याक्चरिङ हब’ बाट बाहिर निक्लन चाहन्छ । जुन बाहिरी र विदेशी लगानीमा निर्भर रहेको छ ।
भारत दक्षिण एसियामै औषधि निर्माणका क्षेत्रमा अग्रणी देश हो । पछिल्लो समय बंगलादेश पनि औषधि उत्पादनमा अगाडि बढिरहेको छ ।
रेडिमेड कपडा उद्योग
बंगलादेशको सफलतामा तयारी पोशाक उद्योगको पनि सबैभन्दा ठूलो भूमिका रहेको छ । कपडा उद्योगले नै बंगलादेशी नागरिकलाई सबैभन्दा बढी रोजगार उपलब्ध गराउँछ । बंगलादेशका कपडा उद्योगमा मात्रै ४० लाख नागरिकले रोजगारी पाएका छन् ।
सन् २०१८ मा बंगलादेशको कुल निर्यातमा तयारी पोशाकले ८० प्रतिशत स्थान ओगटेको छ । बंगलादेशका कपडा उद्योगका लागि सन् २०१३ मा राना प्लाजा दुर्घटना एउटा ठूलो झट्का नै थियो । तयारी पोशाकको उद्योग रहेको राना प्लाजा भत्किँदा ११३० जनाको ज्यान गएको थियो । यो घटनापछि कैयौँ अन्तर्राष्ट्रिय ब्राण्ड थुप्रै प्रकारका सुधारका योजनाका लागि बाध्य भएका थिए ।
सन् २०१८ मा चीनले बंगलादेशको ढाका स्टक एक्सचेञ्जको २५ प्रतिशत शेयर किनेको थियो । यसमा भारतले पनि चासो देखाएको थियो तर चीनले भारतले भन्दा बढी मूल्य दिएपछि भारतको हातबाट फुत्किएको थियो । बंगालदेश पाकिस्तानपछि चीनसँग सैन्य हतियार किन्ने विश्वकै दोस्रो ठूलो देश हो । शेख हसीना पनि यस क्षेत्रमा चीनको महत्वपूर्ण भूमिका रहेको मान्छिन् ।
बंगलादेशले थुप्रै कुरामा पाकिस्तानलाई उछिनेको छ । केही कुरामा भारतभन्दा पनि अगाडि रहेको छ । बाल मृत्यु दर, लैंगिक समानता तथा औषत आयुको मामिलामा बंगलादेश भारतभन्दा अगाडि रहेको छ ।
संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार सन् २०१३ मा बंगालदेशको प्रतिव्यक्ति आय ९१४ डलर रहेको थियो । सन् २०१६ मा ३९.११ प्रतिशतले बढेर बंगलादेशको प्रतिव्यक्ति आय १३५५ डलर पुगेको थियो । यसै अवधिमा भारतको प्रतिव्यक्ति आय १३.८० प्रतिशतले बढेर १७०६ अमेरिकी डलर पुगेको छ ।
पाकिस्तानको प्रतिव्यक्ति आय भने यसै अवधिमा २०.६२ प्रतिशतले बढेर १४६२ डलर पुगेको छ । यदि यही गतिमा बंगलादेशले प्रगति गर्ने हो भने सन् २०२० मा भारतलाई प्रतिव्यक्ति आयको मामिलामा पनि पछि छोड्नेछ ।
औषधि उत्पादनमा पनि अगाडि
विश्वमा जेनरिक औषधि उत्पादनमा भारत अगाडि रहेको छ । तर यस क्षेत्रमा बंगलादेश पनि अगाडि बढिरहेको छ । अल्पविकसित देशको दर्जा पाएका कारण पनि बंगलादेशलाई पेटेन्टको नियमबाट छुट प्राप्त भएको छ ।
यही छुटका कारण बंगलादेश जेनरिक औषधि उत्पादनमा भारतलाई पनि चुनौती दिने अवस्थामा पुगेको छ । जेनरिक औषधि उत्पादनमा बंगलादेश विश्वकै दोस्रो ठूलो देश बनेको छ । बंगलादेशले विश्वका ६० देशमा औषधि निर्यात गर्दछ ।
खराब संरचनाकै कारण बंगलादेश कतिपय कुरामा पछाडि रहेको छ । तर कैयौँ क्षेत्रमा चीनले ‘वान बेल्ट वान रोड’ परियोजनाअन्तर्गत चीनले बंगलादेशलाई सघाइरहेको छ ।
चीनले पद्मा नदीमा चार अर्ब डलरको लगानिमा ब्रिज रेलवे लाइन बनाइ दिँदैछ । जसले बंगलादेशको दक्षिणी–पश्चिमी तथा उत्तरी–पूर्वी इलाकालाई जोड्नेछ । चीनले बंगलादेशलाई ३८ अर्ब डलर ऋण दिने प्रतिबद्धता पनि जनाएको छ ।
चीन ठूलो धनराशि ऋणका रुपमा उपलब्ध गराएकै कारणले आलोचित हुँदै आएको छ । साना देशहरुलाई ऋणको दुष्चक्रमा फसाएको भन्दै चीनको आलोचना भैरहेको छ । पाकिस्तान र श्रीलंकालाई ऋणको गह्रौँ भारी बोकाएको भन्दै चीनको आलोचना भए पनि बंगलादेशमा भने चीनलाई लिएर त्यस्तो अवस्था आइसकेको छैन ।
-बीबीसी हिन्दीबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।