सुनको भाउ फेरि निरन्तर बढ्ने क्रममा : आज एकैदिन तोलामा १ हजा...
मंसिर ९, २०८१ आइतबार
चितवन – कुनै समय हात्तीलाई जमिनदार र मुखियाहरूले शोखको रूपमा पाल्ने गर्थे । अहिले हात्ती पालन शाेखकाे रुपमा मात्र नभइ पर्यटन व्यवसाय बढाउन र वन्यजन्तुु संरक्षण गर्नमा केन्द्रित बन्न थालेको छ ।
चितवनको सौराहामा पुग्दा हात्तीप्रति पर्यटकको आकर्षण कत्ति छ ? भन्ने प्रष्ट देखिन्छ । तर हात्ती व्यवसाय सोचे जति सहज भने छैन । चितवन राष्ट्रिय निकुञ्ज र वन आसपासका होटल व्यवसायीले व्यवसायको प्रवर्द्धनकाे लागि हात्ती पालन गर्दै आएका छन् ।
'हात्ती सफारी' चितवनमा आउने पर्यटकको मुख्य आकर्षण पक्ष हो । संरक्षणमा सकस र आयात बन्द हुँदा अबको केही वर्षमा पालुवा हात्ती लोप हुने अवस्था सिर्जना भएकाे छ । नेपालमा हात्ती भारतबाट किनेर ल्याउँने गरिन्थ्याे तर अहिले भारतबाट हात्ती किनेर ल्याउन पाइँदैन ।
भारतबाट १२ दिनसम्म हिँडाएर नेपालमा हात्ती ल्याइन्थ्याे । हात्तीको आयु ८० वर्षसम्म हुने भएकाले पहिले नै भारतबाट आयात गरिएका हात्ती अहिलेसम्म नेपालमा किनबेच भइरहेकाे छ । एउटा हात्ती दुई टनसम्मकाे हुन्छ । हात्तीले १५ वर्षमा गर्भाधान गर्न सक्छ । हात्तीले २२ देखि २४ महिनामा मात्रै बच्चा जन्माउँछ ।
मूल्यका हिसाबले हात्ती महँगाे हुन्छ । सामान्यतया एउटा हात्तीलाई ८० लाखदेखि एक करोड रूपैयाँसम्म पर्ने गर्दछ । उमेरका हिसाबले हात्तीको मूल्याङ्कन हुन्छ । मासिक १ लाख ५० हजार रुपैयाँसम्म हात्ती पाल्नमै खर्च हुने गरेको सौराहाका हात्ती व्यवसायी दामोदर रेग्मी बताउनु हुन्छ ।
हात्तीको आहाराको रुपमा दैनिक २५ किलो धान, तीन किलो सख्खर, पाँच किलो चना, नुन, पराल, अन्य घाँस र पानी गरेर तीन सय किलोग्राम आहारा आवश्यक पर्ने गर्छ । रेग्मीले सम्पूर्ण आहारा र हात्ती हेर्ने माउते, पछुवार र फनितलाई गरेर दैनिक चार देखि पाँच हजार खर्च लाग्ने जानकारी दिनुभयो ।
स्वास्थ्यको हिसाबले पनि हात्ती संवेदनशील प्राणी हो । हात्तीलाई घाउ, खटिराले दुःख दिन्छ । खुट्टाकाे खुर खाने रोग, जुका जुम्राबाट जोगाउन कीटनाशक सुइ दिनुपर्ने हुन्छ । बच्चा हात्तीलाई 'हात्ती हर्पिस' भाइरल रोगको भ्याक्सिन दिनुपर्छ । व्यवसायीहरुले हात्तीको बीमा व्यवस्था गर्न माग गरेका छन् ।
आवश्यक आहाराको कमी र पर्यटक बोकेर हिँडिरहनु पर्ने भएकाले हात्तीमा टीबी रोग लाग्ने सम्भावना धेरै हुन्छ । केही वर्ष अगाडि चितवनमा आठ वटा हात्ती टीबी रोगका कारण मरेका थिए ।
पालुवा हात्तीलाई १२ वर्ष उमेर पुगेपछि पर्यटकलाई डुलाउन प्रयोग गरिन्छ भने ती हात्तीले ७० वर्षको उमेरसम्म पर्यटक ओसार्छन् । चितवनका हात्ती पाल्ने व्यवसायीले आफ्नै हात्तीसार बनाएका छन् । दिनमा तीन पटक बिहान, दिउँसो र राति हात्तीलाई आहारा खुवाउनु पर्छ ।
हात्तीको चरिचरण क्षेत्र नहुँदा व्यवसायीहरु थप मारमा परेका छन् । प्रशस्त घाँस चाहिने हात्तीलाई जङ्लमा सहजरुपमा चराउन नपाउँदा थप समस्या परेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताउनु भयो । ठूलो लगानीमा खरिद गरिएको हात्तीलाई खुला ठाउँमा चरणको व्यवस्था हुन सके राम्रो हुने भट्टराईले भन्नुभयाे ।
राष्ट्रिय निकुञ्ज ऐन २०२९ अनुसार कसैलाई पनि निकुञ्जको जङ्गलमा चरिचरण गर्ने अधिकार दिइएको छैन । चितवनको सौराहामा पर्यटक घुमाउने निजी हात्ती ५५ वटा छन् । निजी हात्ती प्रजनन केन्द्र खोल्ने व्यवस्था सरकारले गर्न सके राम्रो हुने व्यवसायीहरु बताउँछन् ।
वन्यजन्तु पालन तथा प्रजनन ऐनअनुसार कुनै पनि व्यक्ति वा निजी सङ्घ-संस्थालाई दुर्लभ वन्यजन्तुको प्रजनन केन्द्र खोल्ने अनुमति नभएकाले निजी क्षेत्रमा हात्ती प्रजनन केन्द्र नै छैनन् ।
चितवनको सौराहामा मात्र हात्तीको लागि ५० करोड रुपैयाँको हाराहारीमा लगानी भइसकेको छ । यति ठूलो लगानी भएको क्षेत्रमा राज्यले ध्यान दिएर उपयुक्त संरचना र कानुन बनाइदिनु पर्ने व्यवसायीहरुको माग रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।