भारतको महाराष्ट्रमा सत्तारुढ भाजपा नेतृत्वको गठबन्धनलाई अत्यधिक...
मंसिर ९, २०८१ आइतबार
गोरखा – गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर १ बक्राङको पन्त गाउँ । २०७२ सालको भूकम्पबाट समेत जोगिएका पुरानो वास्तुशैलीका केही घर अझै उभिएका छन् । यिनैमध्येको एउटा घरका धनी गुरुप्रसाद पन्त तनहुँको आँबुखैरेनीमा बसाइ सरेपछि केही महिनादेखि घर खाली थियो ।
विभिन्न सम्पर्क सूत्रको माध्यमबाट पन्त परिवारले छाडेको त्यो घर रुँग्न आइपुगे, तनहुँको पुर्कोट घर बताउने ४० वर्षका नन्दुलाल श्रेष्ठ । घरको रेखदेख गरेसँगै नन्दुले बाँझो जग्गामा खेतीपातीको काम पनि गर्थे, जसको कुनै आयस्ता जग्गाधनी गुरुप्रसादलाई बुझाउनु पर्दैनथ्यो ।
२०७५ सालको मङ्सिरमा पन्त गाउँमा भित्रेका नन्दुलाल छोटो समयमै अरु गाउँलेसँग भिजे, गाउँलेले उनलाई ‘माइला’ भनेर चिन्न थाले । माइलासँगै उनकी श्रीमती र एउटा छोरो पनि थिए । तर त्यही वर्षको माघे सङ्क्रान्तिलगत्तै श्रीमतीले छोरोसहित नन्दुलाललाई छोडिन् । ‘उनीहरुको घरझगडा के पर्यो, त्यो त हामीलाई थाहा भएन, तर माघेसङ्क्रान्तिलगत्तै श्रीमतीले छोडेर हिँडिन्, माइलो एक्लै पर्यो’ छिमेकी भगवती पन्तले भन्नुभयो ।
सात महिनासम्म एक्लै घर व्यवहार धानेका माइलाले ७६ सालको भदौमा अर्को श्रीमती ल्याए । नाम माया, माइती मकवानपुर । ‘माइती हेटौँडा, तामाङकी छोरी हो भन्थी, खिरिलो थिइ, एउटा काखे नानी पनि च्यापेर ल्याएकी थिइ, पहिलो लोग्नेको छोरी हो भन्थी’ छिमेकी भगवतीले माइलाले नयाँ श्रीमती ल्याएको सम्झना गर्दै भन्नुभयो, ‘एक्लो थियो, नयाँ श्रीमती पायो, ठिकै भयो भन्ने लाग्यो, बिचरा, श्रीमतीलाई धेरै माया गर्थ्याे, सबै काम आफै गर्थ्याे ।’ माइला अर्थात् नन्दुलालले मायालाई कति माया गर्थ्याे भनेर जान्न खोज्दा छिमेकीहरुले भने, ‘श्रीमतीले काटेको बारीको घाँससमेत घरसम्म आफै बोकेर ल्याउँथ्यो, मेलापातमा कहिल्यै हिँडाएन ।’
२०७२ सालको भूकम्पपछि पन्त गाउँका धेरैले थातथलो छोडेर हिँडे । चकमन्न गाउँमा माइला र मायाको जोडी नयाँ परिवारको रुपमा आइपुगेकोमा सबैलाई रमाइलै लाग्यो ।
तर यो रमाइलो लामो समय टिक्न पाएन । २०७६ साल माघ २७ गते पन्त गाउँ पारिपट्टीको गैरीगाउँमा बिहेभोज थियो । गाउँका सबैको प्यारो बनेका माइला अर्थात् नन्दुलाल र उनकी श्रीमती मायालाई पनि निम्तो थियो । साँझ भोज खान अरु छिमेकीहरु सहित माइला र माया पनि पुगे । मगर घरधनीको बिहे भोजमा माइला एकछिन रमाउन लागे, छिमेकीहरु सहित माया घर फर्किइन् ।
माइला भने राति अबेरसम्म पनि फर्किएनन्, खोजी सुरु भयो । छिमेकीहरुको सहयोगमा खोज्दै जाँदा पन्त गाउँ नजिकैको साउने खोलामा माइला लडिरहेको भेटिए । टाउकोको पछाडीपट्टिको भागबाट हल्का रगत बगिरहेको थियो, उनी अर्धचेत थिए । छिमेकीहरुलाई हारगुहार गर्ने र गाडी जुटाउने गर्दैमा रातिको २ बज्यो, घाइते माइलालाई उद्धार गरेको गाडी काठमाण्डौतिर बत्तियो ।
भोलिपल्ट बिहान साढे १० बजेतिर काठमाण्डौको ट्रमा सेन्टरमा माइलाको प्राण गयो ।
जसै शहरमा माइलाको प्राण गयो, गाउँमा माया अर्धचेत बनिन् । थानकोटमा मजदुरी गर्ने माया पहिलो श्रीमानबाट आजित् थिइन् । मध्यरातमा रक्सीले मातिएर आउने श्रीमानको कुटाइ खप्न नसकेर उनी सहारा खोज्दै माया काखे नानी च्यापेर नन्दुलालको सहारामा आइपुगेकी थिइन्, तर जसलाई सहारा मानेर आएकी थिइन्, ऊ पनि सधैँका लागि बिदा भएर गयो, मायाले अन्तिम पटक मुखसम्म हेर्न पाइनन् । माघ २८ गते श्रीमानको निधन भएको खबरले विक्षिप्त बनेकी माया घरबाहिर निस्किन छोडिन् । छरछिमेकले सम्झाइ बुझाइ गरे, सामान्य दिनचर्यामा फर्काउने प्रयास गरिरहे ।
२०७६ को फागुन १८ गते बिहानतिर छिमेकीहरुले मायाको बच्चा खेर गएको थाहा पाए । ‘भदौमा माइलासँग आएकी हो, त्यस्तै दुई तीन महिनाको बच्चा हुँदो हो, खेर गएछ’ छिमेकी भगवतीले भन्नुभयो, ‘रगत बगेको बग्यै रहेछ, हामीले एम्बुलेन्स खोजेर गोरखा अस्पताल पठायौँ ।’
फागुन १८ गते दिउँसो ३ बजेतिर गोरखा अस्पताल आइपुग्दा मायाको अवस्था निकै जटिल थियो । ‘शरीरमा रगतको मात्रा एकदमै कम थियो, हेमोग्लोबिनको सूचक ३ को बिन्दुमा थियो, जुन निकै क्रिटिकल मानिन्छ’ अस्पतालका मेडिकल अधिकृत डाक्टर विनोद दुवाडीले भन्नुभयो, ‘यस्तो अवस्थामा रिफर गर्दा बाटोमै जटिल अवस्था आउन सक्ने भएकाले हामीले सकेको उपचार थाल्यौँ ।’
डाक्टर दुवाडीले मायालाई आवश्यक पर्ने ‘बी’ पोजेटिभ रगतको खोजी सुरु गर्नुभयो, दुई जना दाता तत्काल अस्पताल आएर रगतदान गर्नुभयो, अरु धेरै जना तयारी अवस्थामा थिए । ‘कम्तीमा ५ पिन्ट जति रगत चाहिन सक्थ्यो, हामी रगत दिँदै अरु उपचार गर्दै थियौँ तर राति साढे १२ बजेतिर उहाँको निधन भयो ।’ माइलाको प्रेमको निशानीको रुपमा रहेको तीन महिनाको शिशु खेर गएको २४ घण्टा नबित्दै मायाको पनि प्राण गयो ।
छरछिमेक रोहबर बसेर अस्पतालबाट शव उठाए, लुदी खोला र दरौँदी खोलाको दोभानमा अन्तिम संस्कार गरे । अन्तिम संस्कारमा आफन्त कोही जुट्न सकेनन्, अहिलेसम्म पनि कुनै आफन्तले खोजखबर गरेका छैनन् ।
र तीन वर्षकी विमला जो मायाको पहिलो श्रीमानतर्फकी छोरी हुन्, उनका अबोध बालसुलभ प्रश्नको जवाफ छिमेकीहरुसँग छैन । आमालाई एम्बुलेन्समा राखेर लगेको देखेकी विमला छिमेकीहरुलाई सोध्छिन्, ‘मेरो आमा खै ?’ छिमेकीहरु जवाफ दिन्छन्, ‘तिम्रो आमा देउताको घरमा जानुभएको छ, एक दुई दिनमा आउनुहुन्छ ।’ एक दुई दिनमा आमा आउँछिन् भनेर बालिकालाई ढाँटनु पर्दा छिमेकीको मन कुँडिन्छ, कति दिन यसरी अलमल्याउने हो, उनीहरुलाई नै थाहा छैन ।
मायाको संस्कार गरेकै साँझ तीन वर्षकी विमलाले सबैलाई रुवाइन् । ‘मायाले पालेका दुई वटा बाख्रा किलैमा कराइरहेका थिए, कोही नभएको घरमा किन बाँधी राख्नु भनेर मेरो गोठतिर ल्याउन लागेको थिएँ, हाम्रो बाख्रा किन लगेको भनेर डोरीमै तान्नँ आइ’ छिमेकी रुक्मणि कडुवालले भावुक हुँदै भन्नुभयो, ‘त्यो अबला उसको बाख्राको मायाले रोइ होला, हामी चाहिँ त्यसको मायाले रोयौँ ।’
विमला अहिले छिमेकी बाबुराम पन्तको रेखदेखमा छिन् । त्यसो त छिमेकका सबैले उनलाई उत्तिकै माया गर्छन् । ‘हाम्रो गाउँमा चार घर छ, ऊ हामी सबैका लागि उत्तिकै हो’ रुक्मिणी भन्नुहुन्छ, ‘जसको घरमा पहिले खानेकुरा पाक्छ, उसैकोमा खान्छे । सबैलाई आफ्नै ठानेर व्यवहार गर्छे ।’ तीन वर्ष पूरा भएकी विमलाको अब विद्यालय जाने बेला भएको छ । पन्त गाउँबाट सबैभन्दा नजिकको महेन्द्रशक्ति माध्यमिक विद्यालय पुग्न झण्डै एक घण्टा लाग्छ, गाउँबाट त्यो स्कुल जाने कोही पनि छैनन् ।
गाउँलेलाई विमलाको पढाइको चिन्ता छ । ‘उसलाई हामीसँगै राख्न चाहन्छौँ, अहिलेको जमानामा पढाउनै पर्यो तर यहाँ स्कुल टाढा छ’ विमलाको संरक्षण गरिरहेका बाबुराम पन्त भन्नुहुन्छ, ‘बच्चीको लालनपालन गर्ने विश्वासिलो कोही भएमा राम्रै हुन्थ्यो ।’
बीचमै छिमेकी रुक्मणि कडुवालले थप्नुभयो, ‘साथीहरुले तिम्रो घर कहाँ भनेर सोध्दा विमला बक्राङ पन्त गाउँ भन्न पाउँछिन्, दशैँ तिहार जस्ता पर्व उत्सवमा सबै साथीहरु आ–आफ्नो घर जाँदा उसले पनि मेरो घर यहीँ हो भनेर आउन सक्छिन्, हामी जाँदा भेट्न पाउनुपर्यो ।’ गाउँलेहरु यही शैक्षिक सत्रबाट विमलाको पढाइ सुरु गराउन चाहन्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।