अवैध उत्खनन गरिएका खोलानालामा सीडीओसहितको टोलीद्वारा अनुगमन

 मंसिर २४, २०७७ बुधबार १९:४९:५४ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरमा मापदण्ड विपरीत नदी तथा खोलानाला उत्खनन भइरहेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ । चुरे तथा वन क्षेत्र आसपासका खोलानालामा उपकरण प्रयोग गरी मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन भएको गुनासो बढेसँगै बुधबार प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, प्रहरी प्रमुख, प्रमुख वन अधिकृतलगायतको टोलीले अनुगमन गरेको हो । 

बेदकोट नगरपालिका ४ बैतडाको बगुन खोलामा दर्जनौँ ब्याकहो लाेडर प्रयोग गरेर मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेको गुनासो आएसँगै स्थानीय प्रशासनले चासो देखाएको हो । 
अनुगमनका क्रममा चुरे भएर बग्ने बगुन खोलामा मापदण्ड विपरीत उत्खनन गरेको पाइएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । 

उहाँले बगुन खोलामा बेदकोट नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण गरी ठेक्का दिए पनि मापदण्ड विपरीत उत्खनन भएको बताउनुभयो । उहाँका अनुसार उत्खननका लागि छुट्याइनुपर्ने क्षेत्रको नाप, जाँच नभएको र कति गहिराइसम्म उत्खनन गर्ने भनेर लेभल नछुट्याइएको बताउनुभयो । 

यस्तै, ठेक्का सम्झौताअनुसार दैनिक २९६ घनमिटर मात्रै उत्खनन गर्नुपर्ने र ३० टिपरभन्दा बढी नदीजन्य सामग्री बिक्री, वितरण गर्न नपाइने भए पनि त्योभन्दा बढी उत्खनन तथा बिक्री वितरण भएको पाइएको छ । 

त्यसैगरी एक मिटर गहिरो उत्खनन गर्नुपर्नेमा दुई मिटर गहिरो उत्खनन गरिएको, मेसिनको प्रयोग गर्दा नगरपालिकाको अनुमति निलिइएको र नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन गरी बिक्री, वितरण गर्दा अभिलेखसमेत नराखेको पाइएको प्रमुख जिल्ला अधिकारी महतोले बताउनुभयो । उहाँले नियन्त्रणमा लिएका ब्याकहो लाेडरलाई नगरपालिकाको कार्य निर्देशिकाअनुसार जरिबाना गरेर छोडिने बताउँदै ठेकेदारलाई मापदण्डअनुसार काम गर्न निर्देशन दिएको बताउनुभयो । 

‘हामीले अहिलेलाई ठेकेदारलाई मापदण्ड पूरा गरेर मात्रै उत्खनन गर्न निर्देशन दिएका छौँ’, प्रजिअ महतोले भन्नुभयो, ‘फेरि पनि मापदण्ड विपरीत उत्खनन गरे कडा कारबाही गर्छौँ ।’

नदीजन्य पदार्थ उत्खननका लागि नगरपालिकाले ठेक्का दिएकाले मापदण्ड विपरीत उत्खनन गर्न नदिन बेदकोट नगरपालिकालाई सुझावसहितको पत्र पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । 

कञ्चनपुरको बगुन खोलामा सोमबार दर्जनौ ब्याकोलोडर प्रयोग गरी अवैध उत्खनन भएपछि स्थानीय प्रशासनले अवैध उत्खननमा संलग्न ६ वटा ब्याकहो लाेडर नियन्त्रणमा लिएको थियो ।  

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया