बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
कञ्चनपुर - कैलाली गौरीगंगाका नन्दराज चौधरी कुमाउँबाट घर फर्किएको पाँच महिना मात्रै भएको छ ।
वैशाखको चर्को घाम र लकडाउनका अनेक दुःखकष्ट छिचोल्दै चौधरी भारतमा फैलिँदै गएको कोरोना सङ्क्रमणको त्रासले घर फर्किनुभयो । तर घर फर्किएको पाँच महिना नबित्दै भारत जाने सयौँ युवाहरुसँगै लाइनमा उहाँ पनि लामबद्ध भएर उभिनु भएको छ ।
हातमा कागज बोकेर उभिएका कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाका बलदेव ओझाको पीडा पनि उस्तै छ । उहाँ पनि कामकै खोजीमा भारत जाँदै हुनुहुन्छ । पछिल्लो समय कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पनि कामको खोजीमा भारत जान थालेको सरोकारवाला बताउँछन् । जसले गर्दा जोखिमकाबीच रोजगारीका लागि भारत जानेहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
कोरोनाका कारण वैदेशिक रोजगारीबाट घर फर्किएकाहरुमध्ये ५० प्रतिशत युवाहरु कामको खोजीमा भारत गइसकेको सुरक्षित श्रम-आप्रवासनका लागि लक्षित समुदायको क्षमता विकास कार्यक्रम संचालन गर्दै आएको निड्स नेपालले जनाएको छ ।
यसरी कामको खोजीमा भारत जानेहरुमध्ये पछिल्लो समय तेस्रो देशबाट फर्किएका युवाहरु समेत रहेका निड्स नेपालका सह-कार्यकारी अध्यक्ष प्रकाश मडैले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले कोभिडका बेला फर्किएका युवाहरुका लागि विभिन्न खालका कार्यक्रम ल्याए पनि त्यसले लक्षित समुदायलाई छुन नसकेको बताउनुभयो ।
पालिका, प्रदेश तथा संघीय सरकारले कोभिड प्रभावितका लागि सीपमूलक तथा आयमूलक कार्यक्रम ल्याए पनि समयमै निर्देशिका नआउँदा समस्या भएको इन्सेक कञ्चनपुरका कोमल निरञ्जन भाटको भनाइ छ । उहाँले कोभिड प्रभावितका नाममा ल्याइएका कार्यक्रमहरुमा कोभिडबाट रोजगारी गुमाएर घर फर्किएका युवाहरुको पहुँच नभएको भन्दै त्यसको दुरुपयोग भएको बताउनुभयो ।
‘सरकारले अहिले कोरोना प्रभावितलाई सम्बोधन गर्न सकेको छैन,’ भाटले भन्नुभयो ‘जसका लागि कार्यक्रम ल्याइएको हो, उनीहरु जोखिमकाबीच काम खोज्दै भारत फर्किँदैछन् । यहाँ जो नेताहरुका निकट छन्, उनीहरुले नै अनुदान तथा अन्य कार्यक्रमहरु पाइरहेका छन् ।’
यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख सानुमाया बुढाथापा महराले समेत सरकारले कोभिड प्रभावितका लागि ल्याएको कार्यक्रमले लक्षित वर्गलाई छुन नसकेको स्वीकार गर्नुभयो । उहाँ झन्झटिलो प्रक्रियाका कारण पनि लक्षित समुदायको त्यसमा पहुँच पुग्न नसकेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।