टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्यको सनाखत लिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका हुन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षमा बहुमत कार्यकारिणी सदस्यले हस्ताक्षर गर्नुभएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गर्नुभएको छ । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गर्नुभएको छ । अहिले जेल सजाय भोगिरहनुभएका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बस्नुभएको छ ।
जसपाको आधिकारिकता विवाद निरूपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । निर्वाचन आयोगका अनुसार जसपाको कार्यकारिणी सदस्यको सनाखत सकिएको छ ।
जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले आफूहरूका पक्षमा बहुमत सदस्य रहेकाले पार्टी विभाजनमा नजाने बताउनुभयो । उहाँका अनुसार अहिलेको अवस्थामा अर्को पक्षले ४० प्रतिशत पुर्याउन सक्ने अवस्था नरहेकाले जसपा दल विभाजनबाट बचेको छ । जसपा विभाजन नभइ जसपामा आउन नचाहने नेताहरूले नयाँ दल दर्ता गराउने बाटोसमेत खुलेको छ । यद्यपि आयोगले पार्टी आधिकारिकताको निर्णय सुनाइसकेको छैन ।
आयोगले जसपाको आधिकारिकता विवाद निरूपणका लागि इजलास गठन गरी यही साउन ३ देखि ७ गतेसम्म कानुनी बहस सकेर पार्टी एकीकरण हुँदाका समयमा पेस भएका कागजातसहित उपस्थित हुन आदेश दिएको थियो ।
जसपा सरकारका जान्छ : यादव
निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपा छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताउनुभएको छ ।
उहाँले आफ्नो पक्षमा बहुमत कार्यकारिणी सदस्य रहेको भन्दै पार्टी सरकारमा सहभागी हुने बताउनुभएको हो । पार्टीका बाँकी सदस्यले आत्माआलोचनासहित सच्चिएर आएमा विचार गरिने अध्यक्ष यादवको भनाइ थियो ।
जसपाको ठाकुर पक्षको संसदीय दलका नेता राजेन्द्र महतोले शोषण र उत्पीडनमा परेका नागरिकका लागि एक वर्षअघि पार्टी एकीकरण गरिएकामा आज विभाजनको अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै मधेशका मुद्दा र अधिकारका लागि नागरिककाे साथ लिएर अघि बढ्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।