अलैँचीको भाउ तीन वर्षपछिकै महँगाे, भारतीय बजारमा माग उच्च

 कात्तिक २९, २०७८ सोमबार ८:२४:२८ | सुजता सुनुवार
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ– तीन वर्ष पछि अलैँचीले राम्रो भाउ पाएको छ । यस वर्ष भारतीय बजारमा अलैँचीको माग उच्च रहेकाले राम्रो भाउ पाएको व्यापारीहरु बताउँछन् ।

भारतमा मात्रै होइन अन्तर्राष्ट्रिय बजार बङ्गलादेश र दुबईमा समेत अलैँचीको माग बढेर गएको माइजोगमाई गाउँपालिका १ इलामकी व्यापारी कुसुम दाहालले बताउनु भयो । उहाँका अनुसार माग बढेसँगै अझै मूल्य बढ्ने सम्भावना छ ।

तर यस वर्ष फल्दाफल्दै अलैँचीमा रोग लाग्यो । रोगका कारण अहिले गुणस्तरीय अलैँची पाउन गाह्रो छ । फल लाग्ने समयमा अलैँचीमा रोगको सङ्क्रमण नभएको भए माग अझै उच्च हुने व्यापारी दाहालको भनाइ छ ।

अलैँची किनबेच हुने यो मुख्य सिजनमा गएको साल प्रतिमन (४० किलोको एक मन) २२ हजार रुपैयाँमा किनबेच भएको थियो । यस वर्ष भने प्रतिमन ५१ हजार रुपैयाँमा किनबेच भइरहेको व्यापारी दाहालले जानकारी दिनु भयो । निरन्तर तीन वर्षसम्म ओरालो लागेको अलैँचीको भाउ यस वर्ष गएका वर्षहरुको तुलनामा २६ हजार रुपैयाँले बढी हो ।  

कुल उत्पादनको आन्तरिक खपत २ प्रतिशत हुने र ९८ प्रतिशत बाह्य निर्यात हुने भएकाले अन्तर्राष्ट्रिय मागले अलैँचीको मूल्य निर्धारण गर्ने अलैँची विकास केन्द्र फिक्कल इलामका प्रमुख पदम प्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार भारतमा उत्पादन कम र अन्य देशबाट कम मूल्यमा आयात गरेका र आन्तरिक कलकारखानाको माग बढी भएका कारण अलैँचीको भाउ यस वर्ष बढेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा ५२ लाख ४० हजार तीन सय २९ किलो अलैँची निर्यात भएकामा आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख १२ हजार छ सय ९४ किलो निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७५/०७६ मा चार अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँको अलैँची निर्यात भएकामा आर्थिक वर्ष २०७६/०७७ मा चार अर्ब एक करोड ९२ लाख १४ हजार रुपैयाँको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

खेती विस्तार भए पनि फल छैन 

अलैँचीको खेती विस्तार भए पनि उत्पादनमा भने ह्रास आएको छ ।

रोपेको १५ वर्षसम्म राम्रो उत्पादन दिने पहिलेका अलैँचीले अहिले रोपेको एक वर्ष फल दिने त्यसपछि मर्ने समस्या देखिएकाले उत्पादनमा ह्रास आएको माईजोगमाई गाउँपालिका २ इलामका नवजीवन कृषि सहकारीका अध्यक्ष तथा व्यावसायिक किसान वीरबहादुर महतले बताउनु भयो ।

उहाँका अनुसार फल्दाफल्दै फूल कुहिने, फल लागे पनि कोसा ख्रोक्रो हुने जस्ता समस्या देखा पर्ने गरेको छ । डेढ सय मनसम्म सुक्खा अलैँची उत्पादन हुुने उहाँको बगानबाट यस वर्ष काँचो आठ मन मात्रै उत्पादन भएको किसान महतले जानकारी दिनु भयो ।

उहाँको बगानमा भर्लाङ्ग जातको अलैँचीले मात्रै राम्रो फल दिएको छ भने अन्य जातको अलैँची भने रोगले मासिँदै गएको छ । पालिकाभरिमा कुल उत्पादनको ४५ प्रतिशत उत्पादनमा गिरावट आएको छ । अलैँचीबाट मात्रै चार लाख रुपैयाँ आम्दानी गर्नु भएका उहाँले यस वर्ष ६० हजार रुपैयाँ मात्रै आम्दानी गर्नु भयो ।

रोगले अलैँची बगान सबै सखाप भए पनि अहिले खेतीयोग्य जमिन मासेर नयाँ बारीमा नयाँ विरुवा भारतको सिलगुढीबाट ल्याएर रोपेको उहाँको भनाइ छ । यस वर्ष पनि छ रोपनी खेतीयोग्य जमिन मासेर नयाँ अलैँचीको विरुवा लगाउने महतको योजना छ । 

उहाँको जस्तै समस्या फाकफोकथुम गाउँपालिका – १ का व्यावसायिक किसान हरिप्रसाद दाहालको पनि छ । ५० मन सुक्खा अलैँची उत्पादन भएको बगानबाट यसवर्ष सात मन मात्रै उत्पादन भएको किसान दाहालले बताउनु भयो । ‘पहिले मेहनत नपर्ने । जङ्गल भएकै बारीमा पनि उत्पादन राम्रो हुने हुन्थ्यो भने अहिले त्यस्तो छैन । मेहनत धेरै गर्नु पर्छ  । मल लगाउने, गोड्ने, खेतीयोग्य जमिन मासेर रोप्ने गर्दा समेत पहिलेको जस्तो उत्पादन हुन सकेन’ उहाँको गुनासो छ । 

उत्पादन घटेको र मूल्य समेत नआएकाले चार वर्ष अगाडिको अलैँची यसै वर्ष बेचेको किसान दाहालले बताउनु भयो । खेतीयोग्य जमिन मासेर अलैँची विस्तार गरेको तर एक वर्ष फल दिए पनि अर्को वर्ष फल नै नदिने रोगले अलैँची नै मर्ने गरेको छ । जङ्गलमा मात्रै त अलैँची फल्नै छोडेको छ ।

खुल्ला ठाउँमा मात्रै अलैँची फस्टाउने गरेको छ । स्याहारले मात्रै नपुग्ने ठाउँ नै फरक चाहिने उहाँको अनुभव छ । प्राविधिक सल्लाह छैन । रोग निराकरणका लागि प्राविधिक तालिम पनि नपाउँदा समस्या समाधानमा ज्ञान नै नभएको किसानको गुनासो छ ।

पूर्वमा अलैँची मासिनबाट जोगाउन पालिका र प्रदेशमार्फत नर्सरी कसरी राख्ने, कसरी रोप्ने, रोग नियन्त्रणका लागि किसानले के गर्ने ? कस्ता जात कतिको उचाइमा रोप्ने जस्ता पक्षमा जनचेतनामूलक तालिम दिने तयारीमा रहेको अलैँची विकास केन्द्र फिक्कल इलामले जनाएको छ । 

पूर्वतिर मासिँदै, पश्चिमतिर फैलिँदै

अलैँचीको उद्गमस्थल पूर्वी क्षेत्रलाई नै मानिन्छ । अहिले भने पूर्वतिर अलैँचीका बगान मासिँदै गएको र पश्चिमतिर भने फैलँदै गएको छ । अलैँचीमा रोग देखा परेसँगै पूर्वका अलैँची बगान मासिएकाले पश्चिमतिर अलैँचीको बगान विस्तार भएर गएको हो ।

अलैँचीमा गानो कुहिने, छिर्केफुर्के, बगान डढ्ने, फूल कुहिने जस्ता रोगले बगान मासिँदै गएको अलैँची विकास केन्द्र फिक्कल इलामका प्रमुख पदम प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मर्न थालेपछि कृषि मन्त्रालय अन्तर्गतका नेपाल कृषि अनुसन्धान परिषद्  (नार्क) ले अध्ययन अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानका क्रममा केही कारण फेला परेको र केहीको भने कारण पत्ता लाग्न बाँकी रहेको नार्कले जनाएको छ । बगान पुराना हुनु, छहारीका लागि प्रयोग भएका रुख विरुवामा किटाणु रहेकाले यसको प्रत्यक्ष प्रभाव अलैँची बगानमा परेका कारण विभिन्न रोग देखा परेको अनुसन्धानबाट खुलेको पाइएको छ । यसको ज्वलन्त उदाहरण पूर्वमा बगान मासिनु र पश्चिममा फस्टाउनु पनि हो । पश्चिममा नयाँ ठाउँ भएकाले अलैँचीमा रोग देखा नपरेको अनुसन्धानले देखाउँछ । पछिल्लो समय  अलैँचीले नयाँ ठाउँ खोजेको ।

खुल्ला बारीमा मात्रै फस्टाउने गरेको र स्याहारसुसार पनि बढी नै गर्नुपर्ने यी कार्य गर्न नसके रोगले मर्ने गरेको अलैँची विज्ञहरुको भनाइ छ । निरन्तरको अध्ययनपछि किसानलाई विभिन्न तालिम र जनचेतना जगाउने जस्ता काम गरिएकाले गानो कुहिने रोग भने केही नियन्त्रणमा आएको प्रमुख अधिकारीको भनाइ छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेश १ मा १५ हजार दुई सय ७४, वाग्मतीमा एक हजार दुई सय ३८, गण्डकीमा एक हजार चार सय ४६, लुम्बिनीमा एक सय ६७, कर्णालीमा एक सय २७ र सुदूरपश्चिममा २१ हेक्टर गरी नेपालमा जम्मा १८ हजार दुई सय ७३ हेक्टरमा अलैँची खेती हुँदै आएको छ । जसमा सबैभन्दा धेरै उत्पादन हुने जिल्लाहरुमा इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, दोलखा र लमजुङ हुन् । नेपालका ५२ जिल्लामा खेती हुँदै आएको अलैँची प्रदेश नम्बर दुईमा भने अहिलेसम्म खेती सुरु नै नभएको तथ्याङ्कले देखाउँछ ।

नेपालमा रोपिने अलैँचीका जातहरुमा रामशाइ, गोलशाइ, डम्बरशाइ, जिर्मले, भर्लाङ्ग, साउने, सिबेशाइ, सेरिम्ना, मधुशाइ, सिक्किमे, रामला, ताप्लेजुङ र जङ्गुगोलशाइ हुन् । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया