गण्डकी : अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र ११ जिल्लाका खेलकुद समितिका अध्यक्ष हटाइए

 चैत २५, २०७८ शुक्रबार १८:३७:३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका सङ्क्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित चार पदाधिकारी र ११ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष र सदस्यहरूलाई पदमुक्त गरेको छ ।

हिजो बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल र खेलकुद समितिका अध्यक्षहरूलाई हटाउने निर्णय गरेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो । गएको चैत १८ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष पौडेललगायत चार जना पदाधिकारीलाई ‘पदबाट किन नहटाउने ?’ भन्दै २४ घन्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

अध्यक्षसहित चार जना पदाधिकारीलाई सङ्क्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठनादेश २०७७ बमोजिम अध्यक्षबाट हटाउने निर्णय गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो । सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई एक महिनाअघि प्रदेश स्थापना दिवस (फागुन ४ गते) प्रदेश सरकारले प्रदेशभरिकै उत्कृष्ट अस्पताल घोषणा गरेको थियो ।

अस्पताल व्यवस्थापन समितिका प्रा. डा. कृष्णप्रसाद पौडेलसहित पदाधिकारी धुव्र अधिकारी, मेजर रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जारालाई सेवा सम्पादन सन्तोषजनक नभएको भन्दै स्पष्टीकरण सोधेको थियो । गण्डकी प्रदेशका खेलकुद मन्त्रालयले केही दिनअघि ११ जिल्लाकै अध्यक्षलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै खेलकुद मन्त्रालयको सिफारिसमा सबैलाई पदबाट हटाउने निर्णय मन्त्री परिषद्ले गरेको खड्काले जानकारी दिनुभयो । 

यसैबीच गण्डकी प्रदेश सरकारले संसदको चालु हिउँदे तथा नवौँ अधिवेशन अन्त्य गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज शुक्रवार बसेको बैठकले मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य हुने सभामुख नेत्रनाथ अधिकारीले बताउनुभयो । 

हिजोको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुखलाई जानकारी गराएको थियो । हिउँदे अधिवेशमा गण्डकीमा तीन विधेयक पास भएका छन् । 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया