रसुवागढी जलविद्युत आयोजनाको परीक्षण उत्पादन सफल
पुस ८, २०८१ सोमबार
(उडायो सपना सबै हुरीले)२
(सपना सबै हुरीले)२
उडायो सपना सबै हुरीले...........
मुरलीधरको शब्द सङ्गीत र आवाजमा रहेको यो गीतले भने झैँ पुरुषोत्तम पौड्यालको पनि सबै सपना हुरीले उडाइदिएको छ । नेपालमै सुन्दर भविष्य बनाउँछु भनेर साँचेका सपना नउडाओस् पनि कसरी ? प्राण भन्दा प्यारो देश । चिटिक्कको घर । अनि आफ्नै नामको लालपुर्जामा रहेको जग्गाजमिनलाई भोटेताल्चामा सीमित गरेर उठिबास लाग्नु पर्दा !
उहाँलाई आफू बसिरहेको घरमा भोटेताल्चा लगाएर जाने मन कहाँ थियो र ! तर, बाध्यताले नगइ धरै भएन । बाग्लुङको जैमिनी नगरपालिका वडा नम्बर १ टुनीबोटका पौड्याल भन्नुहुन्छ, ‘बाढी पहिरोसँगै ज्यानलाई पनि बगाउन सकिएन, त्यसैले ज्यान बचाउन परिवारै भारततिर हिँडियो ।’
उहाँ स–परिवार जेठ १० गते भारत जानु भएको हो । आज उहाँ भारत पुग्नु भएको आठ दिन भयो । केही महिना अघिसम्म उहाँका हरेक सपना नेपालसँग जोडिएका थिए । तर अब ती सबै सपना नेपालसँग नभएर भारतसँग जोडिन गएका छन् ।
आजको रात काटेपछि भोलि बिहान राम्रो समाचार सुन्न पाइयोस् भनेर भगवानलाई पुकार्दै हरेक रात काट्नुको साटो सबै सँगै बस्ने भन्दै उहाँ स–परिवार भारत जानु भएको हो । श्रीमती, छोरा, बुहारी, एक नातिसहित उहाँ अहिले भारतको चेन्नईमा हुनुहुन्छ ।
उहाँको सपना नातिलाई नेपालमै पढाउने अनि जागिरे बनाउने थियो । तर बसेको भूमि सधैँका लागि छोडेर जानु परेपछि पुरुषोत्तमको सपना सबै हुरीले उडाइदिएको छ । अब त्यो सपना सपनामै सीमित भयो ।
बस्तीमा बाढी पसेपछि पहिरोमा परेर दुई जनाको ज्यान गयो । यही पहिरोको डरले अहिले बस्ती नै रित्तिएको छ । जैमिनीको टुनीबोटमा घरहरु बाक्ला देखिए पनि बस्ती भने सुनसान छ ।
उहाँ मात्रै होइन सुनसान बस्तीलाई झन् सुनसान बनाउँदै विकास पौड्यालले पनि टुनीबोट बस्ती छोडेको केही दिन भयो । उहाँ पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयमा राजीनामा पत्र थमाउँदै नवलपरासी पूर्वको गैँडाकोट नगरपालिका वडा नम्बर १५ पुग्नु भएको छ ।
विद्यालय स्रोतबाट विद्यार्थीलाई अध्यापन गराउँदै आउनु भएका उहाँलाई अझै धेरै वर्ष पढाउन मन थियो । विकास दुःख पोख्दै भन्नुहुन्छ, ‘मन भन्दा ठूलो बाध्यता भएपछि रहरले मात्रै जागिर जोगिन्न रहेछ ।’ उहाँको परिवारको अन्य सदस्य भने गएको वैशाख २८ गतेदेखि नवलपरासी बस्दै आउनु भएको छ । नवलपरासीमा अहिले भने उहाँसहित आमा, बुबा, श्रीमती, एक छोरा गरी पाँच जना कोठामा भाडा तिरेरै बस्नु हुन्छ ।
उहाँ प्रश्न गर्दै भन्नुहुन्छ, ‘हुँदाहुँदैको आफ्नो निजी घर, जग्गा छोडेर कोठाभाडा तिर्दै अर्काको घरमा बस्न मन कस्को हुन्छ र ? हो कि होइन तपाईँ नै भन्नुहोस् न ? तर बाध्यता भएपछि बस्न कर लाग्दो रहेछ ।’
सरकारले सुरक्षित बस्ती बनाइदिए उहाँलाई आफ्नै गाउँ फर्किन मन छ । विकाससँगै त्यही विद्यालयका करार शिक्षक राजु पौड्यालले पनि टुनीबोट बस्ती छोड्नु भएको छ । उहाँले पनि राजीनामा पत्र लेखेरै गाउँ छोड्नु भएको हो ।
उहाँ अहिले बाग्लुङ नगरपालिका वडानम्बर ४ मा बस्नु हुन्छ । टुनीबोट बस्तीका नागरिकको पीडाले जनप्रतिनिधिको मनलाई छुँदै नछोएको उनीहरुको गुनासो छ । यो बस्ती सुरक्षित छ, भन्ने महसुस गराएर बसाइँसराइ गरिरहेका नागरिकलाई सरकारले रोक्ने प्रयाससम्म पनि नगरेको स्थानीय बासिन्दाको आरोप छ ।
रित्तिदो बस्तीमा अब तत्काल अर्को घर खाली हुँदैछ । जैमिनी आधारभूत विद्यालय टुनीबोटका शिक्षक यदुनाथ पौड्यालले यही असार ९ गते गाउँ छोड्दै हुनुहुन्छ । जागिरबाट अवकाश प्राप्त गरेलगत्तै टुनीबोट छोडेर उहाँ चितवन जान लाग्नु भएको छ । उहाँको परिवार पनि टुनिबोटको बस्ती छोडेर चितवनको कालीका नगरपालिका वडा नम्बर २ जान लाग्नु भएको हो ।
यदुनाथको भने चितवनमा आफ्नै घर छ । उहाँसँगै उहाँको श्रीमती, तीन छोरा, एक बुहारी र एक नातिनी गरी सात जनाको परिवार छन् । अवकाश प्राप्त गरेका यी ६० वर्षे शिक्षकलाई गाउँ छोडेर अन्त जान मनै छैन । तर बर्खा लागेसँगै पहिरोको डर भएकाले मध्य बर्खा लाग्नु भन्दा अगाडि नै उहाँले गाउँ छोड्ने योजना बनाउनु भएको हो ।
पहिरोको मात्रै होइन बाँदरको पनि उस्तै छ पिर
कच्ची सडकबाट केही तल झरेपछि बाक्ला घरबस्ती भेटिन्छन् । बस्तीमा रहेका धेरै घर रित्तै छन् । साना तर चिटिक्क परेका यी सबै घरका मूल ढोकामा ताला लगाइएको छ । आँगनमा झाडी पलाएका छन् । मान्छेको भन्दा चराचुरुङ्गीका आवाज बढी सुनिन्छ । धेरै वटा घर चहारेपछि बल्ल कतैकतै घरमा फाट्टफुट्ट मान्छे भेटिन्छन् । त्यो पनि एक घरमा एकजना, बढीमा तीन जनासम्म मात्रै ।
विष्णु पौड्याल भन्नुहुन्छ, ‘मानिस नै कम भएपछि बाँदरको बगालले पनि मान्छेलाई हेप्दो रहेछ ।’ बाँदर भगाउन नसकेकाले हराभरा मकैका बोट हुने जमिन अहिले बाँझै छ । सात हलको मेलोमा धान र मकै रोप्ने विष्णुले पनि अहिले दुई हलको मेलोमा मात्रै मकै रोप्नु भएको छ । बाँकी बारी भने बाँझै छन् । विष्णु गुनासो गर्नुहुन्छ, ‘पहिले बाँझो बारी देखिन्नथ्यो, अहिले बाली लगाइएका बारी देखिन नपाइने भएको छ ।’
पहिले आफ्नै बारीमा फलेको बालीले आधा वर्ष कट्थ्यो अहिले किनेकै भरमा घर चलाउनु पर्ने बाध्यता छ । पैसा नहुनेले ऋणकै भरमा दैनिकी गुजारिरहेका छन् । यसै पिरले पनि टुनीबोटवासीका बासिन्दा विरक्तिएका छन् ।
भोट माग्न आउँदा भनेका छौँ, समस्या बुझिदेलान् की !
पालिका चुनाव २०७९ को नतिजापछि स्थानीयवासी आशावादी बनेका छन् । अघिल्लो कार्यकालका जनप्रतिनिधिका उपलब्धिमूलक समय शून्यमै बितेर गए । यस पटकको नवनिर्वाचित जनप्रतिनिधिले केही गर्लान कि भन्ने आशा छ टुनीबोटवासीलाई ।
जैमिनी आधारभूत विद्यालयका प्रधानाध्यापक ऋषिराम पौड्याल भन्नुहुन्छ, ‘भोट माग्न आएका सबैलाई यो बस्तीको समस्यालाई गम्भीर रुपमा हेरिदिन आग्रह गरेका छौँ, समस्या बुझिदेलान् की !’ यो समस्या यस पटक भने जित हासिल गर्ने बहाना मात्रै बन्ने छैन भन्नेमा टुनीबोटका स्थानीय बासिन्दा आशावादी छन् ।
प्रत्यक्ष हेर्दा बस्तीको भौगोलिक अवस्था पहिरोको जोखिममा छ भन्ने जस्तो देखिँदैन । तर, ग्रामीण सडक खन्दा बगेको पहिरोले बाग्लुङ कुश्मीसेरा सडक भत्काएर २०७७ भदौको २८ मा टुनिबोट बस्तीमा बाढी पसेको थियो ।
ठूलो पानी पर्दा त्यो बाढी अझै पनि त्यसैगरी टुनीबोट बस्तीमै पस्छ । बाढी पहिरोको थप जोखिम हुन नदिन पालिकाले झण्डै १३ लाख रुपैयाँ खर्च गरेको बताए पनि यसको ठोस उपलब्धि भने केही देखिँदैन । देखिने काम भनेको ८० मिटर लम्बाइमा बारबेरा मात्रै गरिएको छ । पक्की नाला बनाएर भेल नकटाएसम्म जोखिम कम हुनै नसक्ने स्थानीयवासी बताउँछन् ।
राधिकादेवी पौड्याल दुखेसो गर्दै भन्नुहुन्छ, ‘राति पानी परे न खानको ठेगान हुन्छ, न बस्नको नै, बस्नका लागि बनाइएको घरै छोडेर अर्काको घर खोज्दै हिँड्नु पर्छ ।’ जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाका अनुसार झन्डै ५० लाख रुपैयाँको लगानीमा ढल व्यवस्थापनका लागि पक्की नाला बनाउने काम भइरहेको छ । यो काम सहरी विकासको लगानीमा असार मसान्तसम्ममा सक्ने योजनासहित काम गरिरहेको उहाँले जानकारी दिनु भयो । नगरपालिका भने छलफलकै क्रममा छ ।
प्रचारप्रसारका क्रममा स्थानीयले समस्या राखेपछि टुनीबोटवासीको मागप्रति गम्भीर रहेको जैमिनी नगरपालिकाका जनप्रतिनिधिहरुको भनाइ छ । नगरपालिकाका मेयर नरबहादुर पुन भन्नुहुन्छ, ‘प्राकृतिक प्रकोपमा परेर परिवारै विस्थापित भएका कारण र समाधानका उपायबारे अध्ययन गर्न प्राविधिक टोली खटाउँछौँ, विज्ञको सल्लाह नलिइ के गर्ने ? कहिलेदेखि गर्ने ? भन्नेबारे हचुवाको भरमा अहिले हामी केही पनि बोल्दैनौँ ।’
रहेकालाई बस्ने र गएकालाई फर्केर आउने वातावरण मिलाइदिन आग्रह
४१ घरधुरी रहेको जैमिनीको टुनीबोट बस्तीमा अहिले १२ घर मात्रै बाँकी छन् । यीमध्ये पनि असार १५ पछि गाउँ नै छोडेर जाने दुई घरपरिवार छन् । बर्खा लागेपछि पहिरोले जोखिम मानिएको बस्तीबाट बसाइँ सर्ने स्थानीय बासिन्दा प्रायजसाेकाे बसाइँ कोठाभाडामा नै छ । दिनरातको डरत्रासले बस्न नसकेपछि कमाउँदै गरेको बारी र घर छोडेर बसाइँ सर्न बाध्य भएकाहरु सुरक्षित बस्ती भए फेरि फर्केर आउने बताउँछन् । यहाँबाट चितवन, नवलपरासी, काठमाण्डौ र केही भने भारत र बाग्लुङ नगरपालिकामा बसाइँ सरेर गएका छन् । सबैभन्दा धेरै चितवन र सबै भन्दा कम काठमाण्डौ तथा भारत बसाइँ सरेर गएको स्थानीय बताउँछन् ।
टुनीबोट बस्तीमा पुनः पहिले जस्तै गरी बस्ती बसाल्नका लागि तीन काम गर्नुपर्छ । जैमिनी आधारभूत विद्यालयका प्रधानाध्यापक ऋषिराम पौड्याल भन्नुहुन्छ, ‘पहिलो काम ढल व्यवस्थापनका लागि पक्की नालाको व्यवस्थापन गर्ने, दोस्रो काम बाग्लुङ नगरपालिका १२ अम्लाचौरबाट आउने पानीलाई जैमिनीको टुनीबोट बस्तीमा आउन नदिने र तेस्रो काम अहिले बाँकी रहेका स्थानीयलाई कृषिमा व्यावसायिक बनाउने कार्यक्रम ल्याइदिन सकेमा पहिले जस्तै गरी टुनीबोटमा बस्ती बसाल्न सकिन्छ ।’
पौड्याललाई अन्तिम समयसम्म यही बस्तीमा मन छ । तर बस्तीमा बस्ने वातावरण नै भएन भने यो सम्भव छैन । उहाँ विरक्त मान्दै भन्नुहुन्छ, ‘बस्ने वातावरण नै भएन भने म पनि विद्यालयमा राजीनामा दिएरै जान बाध्य हुनेछु ।’
टुनीबोट बस्तीमा अहिले कमजोर आर्थिक अवस्था भएका परिवार र छोडेर जान नमिल्ने सरकारी विद्यालयमा अध्यापन गराउने परिवार मात्रै छन् । अरु भने बसाइँ सरेर अन्तै पुगिसकेका छन्। गाउँ छोडेर बसाइँ सर्नु रहर नभइ उनीहरु सबैको बाध्यता नै हो ।
२०७७ सालको पहिरोले घरघडेरी बगाएपछि अरुको घरमा बसिरहनु भएका तारा बोहरा र इन्द्रबहादुर पौड्यालको परिवार अझै पनि अरुकै घरमा बसिरहेका छन् । उनीहरुको न आफ्नो घर छ न जग्गा जमिन नै ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।