‘भ्यु टावर बन्ने त्रिचन्द्र कलेज चाहिँ नबन्ने ?’

 जेठ ३१, २०७९ मंगलबार १३:३०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – त्रिभुवन चन्द्र बहुमुखी क्याम्पस (त्रि–चन्द्र) को पुनर्निर्माण गर्न गर्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । आज मङ्गलवार कलेज अगाडि विद्यार्थीहरूले क्याम्पसको पुनर्निर्माण गर्न माग गर्दै सडकमै पढेर विरोध जनाएका हुन् ।

क्याम्पसका भौतिक संरचनाको पुनर्निर्माण हुन नसक्दा विद्यार्थी जीर्ण कक्षाकोठामा बसेर अध्ययन गर्न बाध्य छन् । कलेजमा अध्ययनरत विद्यार्थीहरू भवन कुन बेला भत्किन्छ भन्ने डरमा पढ्नुपरेको बताउँछन् । भवनका कक्षाकोठामा पानी परेको बेला पानी चुहिने गरेको उनीहरूले बताए । अध्ययनका लागि क्याम्पस पस्ने विद्यार्थीहरूको सङ्ख्या बढिरहे पनि भवन भत्किएर खस्ने हो कि भन्ने डरमा कलेजमा बस्नै डर लाग्न थालेको उनीहरूकाे गुनासो छ ।

सत्तामा पुगेपछि आफैँले पढेको घर बिर्सिने परिपाटी रहेको भन्दै विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले यसमा कुनै चासो नदिएको बताए । उनीहरूले नजिकै रहेको धरहरा र रानीपोखरी बन्दा विद्यार्थीको शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीलाई योग्य बनाउने शैक्षिक संस्था बन्न नसक्नु दुःखद रहेको बताए । प्रदर्शनका क्रममा बोल्दै त्रिचन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी गोविन्द कोइरालाले २०७२ सालको भूकम्पपछि रातो स्टिकर लगाएर राखिएको भवन निर्माणको काम अहिलेसम्म सुरु नहुँदा कक्षाकोठाको अभाव भएको र विद्यार्थीहरूले उठेर पढ्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मा पाएको र गएकाे वर्षसम्म नबनाएपछि शिक्षा मन्त्रालयले नै भवन निर्माण गर्ने जिम्मा पाए पनि अहिलेसम्म कुनै पहलकदमी नभएको गुनासाे गर्नुभयो ।

त्यस्तै अर्का विद्यार्थी शेरेन जोशीले घरबाट कलेज आएपछि पढ्न बस्दा कहिले पुरिने हो भन्ने डरमा अध्ययन गर्नुपरेको बताउनुभयो । अर्का विद्यार्थी सुरेन्द्र विश्वकर्मा र विष्णु पाण्डेले कलेजका भवनहरू निर्माण नहुँदा विद्यार्थी सडकमा आउनुपरेको बताउनुभयो ।

विद्यार्थीहरूले 'भ्यु टावर बन्ने त्रिचन्द्र चाहिँ नबन्ने ?', 'प्रधानमन्त्रीज्यू तपाईँ पढेकाे कलेज कहिले बन्ने ?', 'इतिहास ढल्दैछ सरकार माैन छ', 'शिक्षा मन्त्रालय हराएकाे सूचना' लेखिएकाे जस्ता प्ले कार्ड बाेकेका थिए ।

क्याम्पसका सुरक्षागार्ड जीवन लामाले आर्थिक अवस्था सम्पन्न नभएका विद्यार्थी पनि अध्ययन गर्ने शैक्षिक संस्था नबन्नु दुःखको कुरा भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि यही विद्यालयमा अध्ययन गर्नुभएको तर अहिले चासो नदिएको गुनासाे गर्नुभयाे । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bhim Kaushal

    June 14, 2022, 3:50 p.m.

    कलेज बन्ने शिक्षाको बजेट बाट होला, भ्यु टावर बन्ने पर्यटनको बजेटले होला । यो त कुतर्क भएन र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया