राति १२ बजे कुनै मान्छे आएर राजस्व हेरफेरमा चलखेल गर्‍याे भन्ने कुरा झुटाे हाे : अर्थमन्त्री

 जेठ ३१, २०७९ मंगलबार १७:३२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झुटाे र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गर्नुभएको छ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले राजीनामा माग गरिरहेका बेला अर्थमन्त्री शर्माले यस्तो स्पष्टीकरण दिनुभएको हो । 

आज मङ्गलवार प्रतिनिधि सभा बैठकमा समय माग गरेर बोल्दै उहाँले बजेट निर्माणका लागि अर्थ मन्त्रालयमा अर्थ सचिव र राजस्व सचिवको नेतृत्वमा टिम परिचालन हुने र उनीहरूले तयार गरेको बजेटमा अर्थमन्त्रीको हैसियतमा आफूले सरकारको नीति तथा भिजन मात्रै दिने अधिकार भएको र त्यहीअनुसार काम गरिएको बताउनुभयो । 

अर्थमन्त्री शर्माले कार्य सम्पादन नियमावलीले आफूलाई बजेट निर्माण गर्नका लागि अधिकार दिएको र त्यही अधिकार मात्रै आफूले प्रयोग गरेको पनि पटक–पटक दोहोर्‍याउनुभयो । सरोकारवालाहरूको सुझाव, सम्बन्धित मन्त्रालयले पठाएको कार्यक्रम र योजनाहरूकै आधारमा अर्थ मन्त्रालयको पदाधिकारीले बजेट बनाउने विधि र प्रक्रिया रही आएको अर्थमन्त्री शर्माको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले सरकारको नीति र भिजनलाई नीतिगत रूपमा निर्देशन दिने, त्यस आधारमा बजेट तयार हुने परम्परा रहेको र अहिले पनि त्यसरी नै बजेट तयार भएको म स्पष्ट गर्न चाहन्छु । बजेट बनाउँदा राजस्वको दरहरू गर्न कुनै मान्छे रातको १२ बजे आएर चलखेल गर्‍याे भन्ने सन्दर्भमा जुन विषय उठेको छ । त्यो अत्यन्त भ्रामक, कपोकल्पित एउटा झुटा कथा बनाइएको छ । यसको म खण्डन गर्न चाहन्छु । मन्त्रालयका सचिवज्यूहरूको नेतृत्वमा, राजस्व सचिवको नेतृत्वमा राजस्वसम्बन्धी तयारी र अर्थ सचिवको नेतृत्वमा अर्थसम्बन्धी तयारी दुवै तयारी पनि हुने गरी कार्य विभाजन हुने, कमिटीहरू बन्ने र ती कमिटीले नै यी कुराहरूलाई प्रक्रियागत रूपमा टुङ्ग्याउने हाे । सबै काम आधिकारिक ढङ्गले भएको र अर्थमन्त्रीको हैसियतले कार्य सम्पादन नियमावलीअनुसार प्राप्त भएको जिम्मेवारीप्रति उत्तरदायी भएर बजेट बनाइएको कुरा यहाँ स्पष्ट गर्न चाहन्छु ।’

उहाँले राजस्व परिचालनबारे राजस्व सचिव र अर्थ परिचालनसम्बन्धी अर्थ सचिवले आवश्यक तयारी गर्ने हुनाले त्यसमा अर्थमन्त्रीले खेल्न मिल्ने कुनै अधिकार नभएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया