‘राजालाई केन्द्र बनाएर बालेनजीले किन ट्वीट गर्नुभयो ?’ : घनश्याम भुसाल

 पुष ११, २०७९ सोमबार १७:५९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – खेलकुद होस् वा राजनीति दुवैमा हार–जितको प्रतिस्पर्धा रोचक हुन्छ । दुवैमा प्रायः जित्नेहरूको चर्चा हुन्छ । राम्रै खेल खेलेर हारे पनि उनीहरू विजेताको छायामा पर्छन् । 

तर नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन हार्नेहरूको चर्चा भयो । नेकपा एमाले पार्टी परित्याग गरी पछिल्लो पटक चुनावमा प्रतिस्पर्धा गरेका घनश्याम भुसाल र चुनावमा प्रतिस्पर्धा गर्नबाट वञ्चित नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालको हार छलफलको मुख्य विषय बनेको हो । 

लेखक विजय कुमारले सञ्चालन गरेको यो सत्रमा उहाँले आफ्नो चिरपरिचित शैलीअनुसार सुरुमै घनश्याम भुसाललाई प्वाक्क सोध्नुभयो, ‘तपाईं अहिले के पार्टीमा हुनुहुन्छ घनश्यामजी ?’

एक चरण दर्शक स्रोता हाँसिसकेपछि भुसालको जवाफ सुनियो, ‘म अहिले नेकपामा छु ।’

अनि विजय कुमारले भन्नुभयो, ‘ए !’

विजय कुमारले अर्का वक्ता मिनेन्द्र रिजाललाई पनि किन छोड्नु हुन्थ्यो ! उहाँले रिजाललाई कबुल गर्न बाध्य पार्नुभयाे । ‘म पार्टीको चुनावमा महामन्त्रीमा मज्जैले पराजित भएँ । रक्षामन्त्रीबाट राजीनामा गरेँ’, उहाँले भन्नुभयाे ।

तर छलफल वक्ताद्वयलाई होच्याउन नभइ हार–जितको बुझाइलाई नयाँ कोणबाट हेर्ने प्रयासका लागि थियो । दुवै नेताले पालैपालो आफ्नो हारलाई सङ्घर्षका रूपमा व्याख्या गर्ने अवसर पनि पाए । 

रिजालले भन्नुभयो, ‘हरेक मान्छे विजेता, हरेक मान्छे हार बेहोर्छ । मैले पटक पटक संसदमा हुँदा ओलीजीको प्रतिपक्षमा हुँदा भनेको थिएँ हारमा सानसाथ हार्न सक्नुभएन भने जितमा विनयशीलता भएन भने मानिस मानिस हुन्न । आज फेरि भन्छु– ओलीजी, प्रचण्डजी विनयशीलता नगुमाउनुस् ।’

उहाँले राजनीति र चुनावमा जित्नेभन्दा हार्ने धेरै हुने टिप्पणी गर्नुभयो । एउटा निर्वाचन क्षेत्रबाट फगत एक जनाले जित्ने भन्दै उहाँले भन्नुभयो, ‘चुनाव लड्न नपाएका पहिल्यै हार्छन् । चुनाव लडिसकेका पनि एक जनाबाहेक सबै हार्छन् ।’ 

नेता भुसालले हार–जित एकदम वृहद् विषय भन्दै आफ्नो हार्ने स्वतन्त्रताको रक्षा गर्न सफल भएको दाबी गर्नुभयो ।  ‘म हार्ने स्वतन्त्रताका लागि खडा भएको थिएँ । यो आज भन्दै छुइनँ । एक वर्ष अगाडि सौराहामा हाम्रो महाधिवेशन भएको थियो । त्यहाँ हाम्रो अध्यक्षले लिस्ट पढेर सुनाउनुभयो र अब यहाँ कसैको कुनै विमति हुन सक्दैन भन्नुभयो’, भुसालले भन्नुभयो, ‘मैले मञ्चमा गएर उहाँलाई विनम्रतापूर्वक भनेको थिएँ, यहाँबाट हामीले जितेर जान दिनुहुन्न तपाईंले । तर हामीलाई हाम्रो हार्ने स्वतन्त्रता चाहिँ दिनुस् ।’ 

उहाँले हार्ने स्वतन्त्रताको रक्षा गर्ने क्रममा आफूले जितेको भन्दै आफूलाई भाग्यमानीसमेत भन्नुभयो ।  

छलफलमा राजनीतिमा साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर जित्नैपर्ने मूल्य स्थापित भएकोमा दुवै नेताले चिन्तासमेत व्यक्त गरे । 

रिजालले यसबारे भन्नुभयो, ‘हामीले एउटा संस्कृति निर्माण गर्यौँ, त्यहाँ पुग्नै पर्छ । जसले जसलाई जति बेला झुक्याएर पनि त्यहाँ पुग्नै पर्छ । हाम्रो भाष्य के थियो ? नमिली जितिन्छ ? एक्लै लडेर जितिन्छ ? जित अन्तिम सत्य बन्यो हाम्रो । आज कांग्रेससँग जित पनि छ, हार पनि छ ।’

यही विषयमा नेता भुसालले पैसा, लोकप्रियता र विचारका लागि राजनीति गर्ने तीन थरी अभ्यास रहेको बताउनुभयो । उहाँले राजनीतिमा पैसा कमाउन र चर्चा कमाएर सान देखाउनेहरू हाबी भएको टिप्पणी गर्नुभयो । यसबाहेक विचार र मूल्यमा रहेर, त्यो मूल्यलाई समाजमा सम्प्रेषित गर्न राजनीति गर्नेहरू पनि सानो सङ्ख्यामा रहेका उहाँले बताउनुभयो । 

हार–जितमा केन्द्रित छलफलमा पछिल्लो राजनीतिक प्रकरणपछि काठमाण्डौका नेता भुसालले मेयर बालेन्द्र शाहको ट्वीटबारे पनि आफ्नो धारणा पोख्नुभयो । 

मेयर शाहले नयाँ सत्ता समीकरणबारे ट्वीटमा लेख्नुभएको थिया–   

राजा फर्काउछु भन्ने,
राजा चाहिन्न भन्ने,
र,
राजा मार्छु भन्ने तीनटै सरकारमा ।
हामी प्रजा सधै सास्तीमा ।

‘बालेनजीले जुन उदाहरण राजालाई नै केन्द्रित भएर त्यो उहाँले किन भन्नुभएको भन्ने कुरा मैले अहिलेसम्म बुझेको छैन । आगामी दिनमा नेपाली राजनीतिका अनेक कौतुहलता क्रमशः अगाडि आउँछन् केही छ भने’, भुसालले भन्नुभयो, ‘यदि छैन त्यसै एउटा कविता लेख्नुभयो उहाँले छोटा कविता लेख्नुभएको हो भने सकिएला । यसभित्र केही छ भने यो राजालाई नै केन्द्र गरेर किन यो प्रश्न आयो भन्ने कुरा, मेरो कौतुहलता त्यत्ति हो ।’ 

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया