उद्योगी व्यवसायीलाई रातो कार्पेटले स्वागत गर्छाैँ : गृहमन्त्री लामिछाने

 पुष २०, २०७९ बुधबार १४:२२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीलाई जस्तो आँखाले हेरे पनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताउनुभएको हो । उहाँले उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने काममा नचुक्ने प्रतिबद्धतासमेत जनाउनु भयो । 

गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायी साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभयो । उहाँले उद्योगी व्यवसायीले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूलाई भेटेर समय खेर फाल्नुनपर्ने बताउनुभयो । सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह, सुझाव दिन उहाँको आग्रह छ । 

उहाँले भन्नुभयो, ‘अगाडि कस्तो निर्णय भएको र कस्तो आँखाले हेरियो थाहा छैन तर हाम्रो तर्फबाट तपाईँहरूलाई रेर्ड कार्पेट छ । उद्योग, व्यवसायको सुरक्षा र उन्नतिका लागि गृह मन्त्रालयले गर्ने काममा चुक्दैनौँ । सरकारको एउटा स्पेशल युनिट खडा हुन्छ । कुनै कामका लागि व्यवसायीले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन । अब उद्योगी व्यवसायीले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरूकामा गएर समय खेर फाल्नुपर्दैन । सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह, सुझाव दिनु होला । म कानुनी परिधिभित्र रहेर काम गर्ने हो । हामी आउँदैमा समाज रातारात परिर्वतन हुने होइन ।’

गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीले पैसा कमाउनुलाई अपराध गर्नुजस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्ने पनि आश्वासन दिनुभयो । उहाँले उद्योगी व्यवसायीले सही ढङ्गले स्वच्छ प्रतिस्पर्धा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै देशको उन्नति हुने बताउनु भयो । उहाँले कानुनभन्दा बाहिर रहेर काम गर्नेहरूको सङ्ख्या ठूलो रहेको भन्दै फोहर सफा गर्न समय लाग्ने बताउनुभयो । आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएकोले कानुनी परिधिभित्र रहेर काम गर्ने उहाँको भनाइ छ । 

मन्त्री लामिछानेले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताउनुभयो । उहाँले कालोबजारी तथा कानुन विपरीतका काममा कुनै पनि राजनीतिक दबाब आए कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले गृह मन्त्रालयले राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा व्यवस्थाको विषयमा अध्ययन भइरहेको बताउनुभयो । 

चेम्बरले गृहमन्त्रीसँग कालोबजारी, सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया