प्रधानमन्त्रीको निर्देशनअनुसार कहिले घट्छ इन्धनको मूल्य ?

 पुष २२, २०७९ शुक्रबार १०:२८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशनअनुसार पेट्रोलियम पदार्थको मूल्य कहिले घट्छ भन्नेमा अन्योल भएको छ । प्रधानमन्त्री प्रचण्डले हिजो उद्योग, वाणिज्य तथा आपूर्ति सचिव तोयम रायालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर इन्धनको मूल्य घटाइ नागरिकलाई राहत दिन निर्देशन दिनु भएको थियो ।

मूल्य समायोजनको निर्णय नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले गर्छ । सञ्चालक समितिका अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रहने व्यवस्था छ । प्रधानमन्त्रीको निर्देशन पाएका उद्योग मन्त्रालयका सचिव तोयम रायाको हिजै अर्थ मन्त्रालयमा सरुवा भएको छ । उहाँको ठाउँ वाणिज्य मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनी पुग्नु भएको छ । अर्थ मन्त्रालयमा सरुवा भएका रायाको बिदाइ र उहाँको ठाउँमा पुगेका मरासिनीको स्वागत आज हुँदैछ ।

पुरानो सचिवको बिदाइ र नयाँ सचिवको स्वागतको कार्यभएकाले प्रधानमन्त्रीको निर्देशनअनुसार मूल्य घटाउनेबारे आज छलफल हुने सम्भावना कम छ । मूल्य समायोजनको निर्णय सञ्चालक समितिको बैठकले गर्ने गरेको र आज बैठक बस्ने सम्भावना कम रहेको निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिनुभयो । बैठक बसे पनि आजै निर्णय हुन सम्भावना कम रहेको उहाँले बताउनुभयो ।

उद्योग मन्त्रालयबाट सरुवा भएका रायाले आफ्नो सरुवा भइसकेकाले यस विषयमा केही पनि भन्न नसक्ने बताउनु भएको छ । ‘यो सरकारको नियमित काम हो, सरुवा भइसकेको मान्छेले केही भन्नै मिल्दैन, अहिले मैले केही भन्ने स्थिति छैन’ उहाँले उज्यालोसँग भन्नुभयो ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनलाई ऋण र बक्यौता तीर्न बाँकी रहेको भन्दै भाउ घटाएको छैन । यो महिनाको १५ दिनमा नै निगमले एक अर्ब ३२ करोड ८९ लाख नाफा कमाएको छ । पुस १६ गतेदेखि ३० गतेसम्म थप ९९ करोड १२ लाख नाफा हुने अनुमान गरिएको छ । 

भारतबाट ८५ रुपैयाँ ३५ पैसा प्रतिलिटरमा खरिद गरिएको पेट्रोल करसहित सम्पूर्ण प्रशासनिक खर्च जोड्दा १६३ रुपैयाँ ३४ पैसा पर्छ । तर, निगमले एक सय ७८ रुपैयाँ प्रतिलिटरमा पेट्रोल बेच्दै आएको छ । त्यस्तै, प्रतिलिटर एक सय ६७ रुपैयाँ ८२ पैसा लागत पर्ने डिजल एक सय ७५ रुपैयाँमा र  एक सय ३१ रुपैयाँ २१ पैसा लागत पर्ने मट्टीतेल एक सय ७५ रुपैयाँ लिटरमा बिक्री भैरहेको छ । पुरानो ऋण घटाउन भन्दै निगमले भाउ घटाएको छैन ।

यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४८ रुपैयाँ ८१ पैसा नाफा राखेर एक सय ९० रुपैयाँमा र बाह्य हवाई इन्धनमा ९९ रुपैयाँ ३५ पैसा नाफा राखेर बिक्री गरिरहेको छ । खाना पकाउने एलपी ग्यासमा भने निगमले नियमित रूपमा नोक्सान खेप्दै आएको छ । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया