टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै - सत्तारुढ दलबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुकी बसेको बैठकले कुन दलले कुन-कुन मन्त्रालय लिने भन्ने टुङ्गो लगाएको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । तर कुन मन्त्रालय कसलाई भन्ने जानकारी भने सार्वजनिक गरिएको छैन । थपिएका मन्त्रीहरुले आज दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ लिने पनि मन्त्री लामिछानेले जानकारी दिनुभयो।
शपथ ग्रहणपछि दिउँसो ४ बजे नेपाली कांग्रेससहितका विश्वासको मत दिएका दलहरुको बैठक बस्ने गृहमन्त्री लामिछानेले जानकारी दिनुभयो । दलहरुले यसअघिको सहमति अनुसार राष्ट्रपति र सभामुख नेकपा एमालेले नै पाउने सहमति गरेका छन् । उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने भएको छ ।
यस्तै एमालेले ८, माओवादीले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३–३ र जनमत पार्टीले एउटा मन्त्रालय लिने सहमति भएको छ । जसपालाई दिने मन्त्रालयबारे टुङ्गो लागेको छैन । जसपाले तीन मन्त्रालय दाबी गरेपछि सहमति हुन नसकेको हो ।
नागरिक उन्मुक्ति पार्टीले संस्थापक नेता रेशम चौधरीको रिहा हुने व्यवस्था नभएसम्म सरकारमा नजाने अडान लिएको छ । सहमति अनुसार दुई राज्यमन्त्रीसहित आठ मन्त्रालय लिने एमालेले रक्षा, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत मन्त्रालय पाउने छ ।
माओवादीले स्वास्थ्य, सञ्चार तथा प्रविधि र भूमिसुधार पाउने सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ र अरु दुई मन्त्रालय पाउने भएको छ ।
पार्टीको नेतृत्व गर्दै अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्रीको रुपमा सरकारमा जानुहुने भएको छ । राप्रपाले सहरी विकास र खेलकुद मन्त्रालय दाबी गरेको छ । जनमतले भने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दाबी गरेको छ । अहिले बिहान फेरि सत्ता गठबन्धनको बैठक बसेर सहमतिलाई अन्तिम रुप दिने गृहमन्त्री लामिछानेले बताउनुभयो ।
हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । तर, भागबण्डामा असहमति जनाउँदै उपेन्द्र यादव भने बैठकको बीचमै बाहिरिनु भएको थियो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।