रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै : नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई देशबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवर्धनमा महत्त्वपूर्ण निर्णय गरेको छ ।
नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक्षतामा शनिवार भारतको राजस्थानमा रहेकाे माउन्ट आबुमा सम्पन्न बैठकले अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ ।
बैठकमा दुई देशबीचका सहसचिवस्तरीय संयुक्त कार्यदलले ऊर्जा गरेको सिफारिसमाथि छलफल भएको थियो । विद्युत् उत्पादन, प्रसारण र व्यापारका लागि संयुक्त निर्देशक समितिको बैठक कोशेढुङ्गा भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
बैठकमा सहभागी कार्यकारी निर्देशक घिसिङले नेपालले भारतको प्रसारण ग्रिडको प्रयोग गरी बङ्गलादेश विद्युत् निर्यातका लागि राखेको प्रस्तावलाई भारतले सकारात्मकरूपमा लिँदै निर्यात गरिने जलविद्युत् आयोजनाको नाम पठाएपछि आवश्यक सहमति दिने निर्णय भएको उल्लेख गर्नुभयो ।
‘बङ्गलादेशमा विद्युत् निर्यात गर्ने आयोजनाको प्रस्ताव स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणसमक्ष बढाउने र प्राधिकरणले आवश्यक परीक्षण गरी भारत सरकाले जारी गरेको विद्युत् आयात/निर्यात (क्रस बोर्डर) निर्देशिकाको परिधिभित्र रहेर सहमति दिने निर्णय भएको छ । इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गर्न अहिले हामीले एक वर्षको स्वीकृति पाउँदै आएकोमा यसलाई एक वर्षभन्दा बढाउन प्रस्ताव गरेका थियौँ, यसलाई जाँच गरी पुनरावलोकन गर्ने र अन्य थप आयोजनाहरूको विद्युत् निर्यातका लागि हामीले पेस गरेका प्रस्तावहरूलाई प्रक्रिया पुर्याएर स्वीकृति दिने सहमति भएको छ । साथै रियल टाइम मार्केटमा सहभागी हुन गरिएको प्रस्ताव परीक्षणका क्रममा रहेको भारतीय पक्षले जानकारी गराएको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयाे ।
घिसिङले नेपाल–भारत अन्तरसरकारी सम्झौता आधारमा नेपालबाट दीर्घकालीनरूपमा विद्युत् निर्यातका लागि प्रस्ताव गरिएकोमा भारतीय पक्षले यसलाई सकारात्मकरूपमा लिँदै नेपालबाट प्रस्ताव प्राप्त गरेपछि जाँच गरी आवश्यक निर्णय लिइने जानकारी गराएको पनि बताउनुभयो ।
बैठकले टनकपुरबाट नेपालले विद्युत् आयातमात्र गर्दै आएकोमा अब निर्यात पनि गर्न पाउने निर्णय गरेको छ । बैठकले टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनबाट अप्रिलबाट जुनसम्म ७० मेगावाट र जुलाइबाट मार्चसम्म ८० मेगावाट विद्युत् दुवैतर्फ प्रवाह गर्न सहमति दिएको छ । ‘यसबाट सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रहेका जलविद्युत् आयोजनाको विद्युत बर्खाको समयमा भारतको केन्द्रीय प्रसारण प्रणालीमा निर्यातका लागि बाटो खुलेको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘साथै अहिले रहेको प्रसारण लाइनको क्षमता विस्तार गर्ने या २०० केभीको नयाँ प्रसारण लाइन निर्माण गर्ने भन्नेबारे सम्भावित विकल्पहरू खोज्न संयुक्त प्राविधिक समूहलाई निर्देशन दिइएको छ ।’
नेपालले १३२ केभी तथा त्यसभन्दा कम क्षमताका प्रसारण लाइनमार्फत भारतीय बजारमा विद्युत् निर्यातका लागि राखेको प्रस्तावमा भारतले प्रस्ताव अन्तरराज्य प्रणाली कारोबारको भएको र प्रसारण शुल्क, चुहावट आदि विषय रहेकोले केन्द्रीय विद्युत् प्राधिकरणले भारतका निकायहरूसँगको समन्यमा टुङ्गो लगाउने निर्णय भएको छ ।
नेपाल र भारतबीच विद्युत् आयात–निर्यातका लागि इनरुवा पूर्निया र नयाँ लम्की (दोदोधारा) र बरेली ४०० केभी प्रसारण लाइन क्रमशः सन् २०२७ २८ र २०२८ र २९ सम्ममा सम्पन्न गर्ने गरी कार्यान्वयमा लैजाने निर्णय भएको छ । नेपालले यस प्रसारण लाइनहरू नयाँ बुटवल–गोरखपुर प्रसारण लाइनको लगानी मोडालिटमै बनाउने प्रस्ताव गरेको थियो । बैठकमा लगानी मोडालिटीलाई चाँडै टुग्याउने सहमति भएको छ । यी दुई प्रसारण लाइन निर्माण भएपछि दुई देशबीचको विद्युत् आयात–निर्यातका लागि ४०० केभी क्षमताका पाँच वटा प्रसारण लाइन हुनेछन् । नयाँ बुटवल–गोरखपुर लाइन कार्यान्वयन तथा प्रसारण सेवा सम्झौता छिट्टै सम्पन्न गर्ने र लाइन मार्च २०२५ सम्ममा निर्माण सम्पन्न गर्ने निर्णय भएको छ ।
अहिले सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर ४०० केभी पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट आयात–निर्यात भइरहेको विद्युत् क्षमतालाई ६०० मेगावाटबाट बढाएर ८०० मेगावाट पुर्याउने निर्णय भएको छ ।
बैठकले सङ्खुवासभामा भारतीय सरकारको स्वामित्वको सतलज जलविद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणाधीन ढल्केबर सीतामढी (भारत) ४०० केभी प्रसारण लाइनबाट समेत विद्युत् आदानप्रदान गर्न अध्ययनका लागि संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिएको छ ।
कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘यस प्रसारण लाइनको क्षमता झन्डै २ हजार मेगावाट हो, अरुण तेस्रोका विद्युत् प्रवाह भएपछि जगेडामा रहने झन्डै ११ सय मेगावाटको क्षमता प्रयोग गर्न प्राविधिक पक्षले अध्ययन गर्ने निर्णय भएको छ, सतलजले नै निर्माण गर्ने तल्लो अरुण निर्माण हुन केही समय लाग्छ, त्यति बेलासम्म यस लाइन हामीले प्रयोग गर्न पाउनु सकारात्मक हो ।’
भारतीय पक्षले अरुण तेस्रोको प्रसारण लाइन निर्माणमा भोजपुर, खोटाङ, उदयपुरलगायतका जिल्लामा जग्गा अधिग्रहण, स्थानीयको अवरोधलगायतमा विषयमा नेपाली पक्षको गम्भीर ध्यानाकर्षण गराएको थियो । साथै कोशी राजमार्ग निर्माणमा भइरहेको ढिलाइका कारण पावर ट्रान्सफर्मरलगायतका ठूला उपकरणहरू लैजान नसकिँदा निर्माण तालिका प्रभावित हुन सक्ने भएकोले राजमार्ग निर्माणमा सहजीकरण गरिदिन भारतीय पक्षले आग्रह गरेको थियो ।
नेपाली पक्षले समस्या समाधान गरी तोकिएकै समयमा आयोजना निर्माण सम्पन्न गर्ने वातावरण निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ । आयोजनाको निर्माण मार्च २०२४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कटैया ( बिहार)–कुशवा (नेपाल) १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट मार्च २०२३ भित्र निर्माण सम्पन्न गर्ने निर्णय भएको छ । भारततर्फ पर्ने लाइन भारत आफैँले आफ्नो खर्चमा निर्माण गर्ने छ । रक्सौल–परवानीपूर १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट अप्रिल/मे २०२३ मा निर्माण सम्पन्न गर्ने निर्णय भएको छ ।
नेपाल र भारतको उत्तर प्रदेश जोड्ने मैनहिया–सम्पत्तिया १३२ केभी डबल सर्किट प्रसारण लाइनलाई जोड्न भारतको सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेशनमा गर्नुपर्ने आवश्यक काम सेप्टेम्बर २०२३ भित्र सम्पन्न गर्ने निर्णय भएको छ । भारततर्फको सबस्टेशनको काम भारत आफैँले आफ्नो खर्चमा निर्माण गर्ने छ ।
यसैगरी नानपारा (भारत)–कोहलपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन जनवरी २०२४ भित्र निर्माण सम्पन्न गर्ने निर्णय भएको छ । भारततर्फ पर्ने लाइन भारत आफैँले आफ्नो खर्चमा निर्माण गर्ने छ ।
नेपालमा सौर्य लगायतका ऊर्जा क्षेत्रमा परामर्श सेवा तथा क्षमता अभिवृद्धि उपलब्ध गराउन भारतको एनटीपीसीसँग समझदारीपत्रमा छिट्टै हस्ताक्षर हुने भएको छ । बैठकमा हरित हाड्रोजनको क्षेत्रमा द्विपक्षीय सहयोग गर्ने निर्णय भएको छ ।
संयुक्त निर्देशक समितिको ११ औँ बैठक ६ महिनापछि चितवनमा बस्ने निर्णय भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।