आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले देशको अर्थतन्त्र जोखिमपूर्ण छ : अच्युत वाग्ले

 फागुन २५, २०७९ बिहीबार १३:५१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्थविद् तथा प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । 

अर्थविद् डा. वाग्लेले सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न अर्थतन्त्र बुझेको क्षमतावान अर्थमन्त्री बनाएर तत्काल सरकारको वर्तमान वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या आउँदाे वर्षको बजेटमार्फत् सम्बोधन गर्नुपर्ने बताउनु भयो । प्रा.डा. वाग्लेले देशको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारिताको हिसाबले असाध्यै जोखिमपूर्ण अवस्था रहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको भन्दै यसमा राज्यको खर्च गर्ने क्षमताको गम्भीर प्रश्न उठेको बताउनु भयो । उहाँले सरकारले समयमा नै पुँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्रमा एकपछि अर्को बहुआयामिक खालका समस्याहरु आइरहेको दाबी गर्नुभयो ।

उहाँले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण ठप्प, उत्पादकत्वमा कमी जस्ता समस्या विद्यमान रहेको बताउनु भयो । उहाँले न्यून आय भएका मानिसहरुको क्रय शक्ति र आय दुवै कम भएको कारण आर्थिक चक्र नै खण्डित हुने अवस्थामा आइपुगेको उल्लेख गर्नुभयो । उहाँले लघुवित्तको समस्या नयाँ नभएर पुरानै भएको भन्दै २५ देखि ३० प्रतिशत लागतमा सानो–सानो ऋण प्रवाह गरेर ऋणीलाई थप ऋणीमा ऋण थप्नेभन्दा बाहेक केही नभएको बताउनु भयो । 

अर्थविद् वाग्लेले बैंक तथा वित्तसंस्थाहरुले प्राथमिक र निर्देशित क्षेत्र कर्जा प्रवाह नगर्दा समस्या आइरहेको बताउनु भयो । उहाँले बैंकिङ प्रणालीमा तरलता सहज हुँदा घरजग्गा कारोबारमा बैंकहरुले कर्जा लगाउने गरेको भन्दै नियमन गर्ने निकाय राष्ट्र बैंकको कमजोरी भएको बताउनु भयो । उहाँले राष्ट्रिय आर्थिक नीतिको पनि कमजोरी रहेको भन्दै हरेक बजेटमा लाइसेन्स लिएर घर जग्गा कारोबार गर्नुपर्छ भनिन्छ तर अहिलेसम्म त्यो प्रक्रियामा अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले राज्यविहीनताको अवस्था बढ्दै गएको कारण बैंक तथा वित्तीय क्षेत्रमा समस्या अत्यधिक चर्किँदै गएको दाबी गर्नुभयो । उहाँले अर्थशास्त्रका बारेमा जानकार, मन्त्रालय चलाउने योग्य र समाजको संरचना कृषि लगायतका समस्या बुझेको मान्छे अर्थमन्त्री भएर नीति बनाए मात्रै समस्याको समाधान हुनसक्ने उल्लेख गर्नुभयो ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया