प्रचण्डमाथिको मुद्दा जनयुद्धमाथिको आक्रमण हो, कुनै पनि जवाफ दिन तयार छौँ : महासचिव विप्लव

 फागुन २६, २०७९ शुक्रबार १७:३३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधीकरण गरेर उपलब्धिहरूलाई विनाश गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्दा लगाइएको जिकिर गर्नुभएकाे छ ।

शुक्रवार चार कम्युनिस्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै महासचिव विप्लवले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध मुद्दा लगाएर गणतन्त्रलाई पश्चगामी र दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको दाबी गर्नुभयाे । उहाँले प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ मुद्दा हालिएको भन्दै त्यसको जवाफ दिनका लागि आफूहरू तयार रहेको बताउनुभयो । उहाँले क्रान्तिको नेतृत्व गर्ने नेतालाई व्यक्तिगतरूपमा मुद्दा लगाउनु क्रान्तिलाई अस्वीकार गर्ने प्रवृत्तिसँग सम्बन्धित रहेको उल्लेख गर्नुभयो । महासचिव विप्लवले त्याे मुद्दालाई आफूहरूले अस्वीकार गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो मुद्दा भनेको गणतन्त्रलाई पनि सहन गर्न नसक्ने प्रवृत्तिको हमला हो । याे गणतन्त्रलाई सम्पूर्णरूपले पश्चगामी र दलाल पुँजीपति वर्गको हातमा हाल्दिने षड्यन्त्र हाे । विश्वमा र नेपालमा एउटा परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको थियो त्यो सम्भव छैन है, अब कसैले पनि त्यसलाई सोच्नुहुँदैन है भनेर एकदमै प्रतिक्रान्तिकारी सन्देश दिने उद्देश्यका साथ यो मुद्दा हालिएको छ । प्रश्न उठ्छ किन ? किनकि क्रान्ति भनेको पुरानो सत्ताले खडा गरेका अन्तरविरोधहरू, समस्याहरू, सङ्कटहरू, दमन, उत्पीडनहरूको विरुद्धमा हुने चिज हो । त्यो नागरिकसँग सम्बन्धित कुरा हो । पार्टी वा नेताले त्यसको नेतृत्व गर्ने हो । त्यो कुरालाई एउटा व्यक्तिमा लगेर जोडेर जसरी हमला गर्न खोजिन्छ, त्यो चाहिँ क्रान्तिलाई नै अस्वीकार गर्ने, ध्वंस गर्ने प्रवृत्तिसँग सम्बन्धित छ । त्यसैले हामीले अस्वीकार गरेका छौँ । यसको जवाफमा हामीले के भनेका छौँ भने– प्रचण्डजीहरूले उहाँको पार्टीमा के गर्नुहुन्छ उहाँहरूको कुरा हो । तर जनयुद्धलाई अपराधीकरण गर्ने र जनयुद्धका उपलब्धिहरूलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा पनि लड्छ । र त्यसको कुनै पनि जवाफ दिन हामी तयार छौँ । यो जनयुद्धमाथिको आक्रमण हो ।’

महासचिव विप्लवले प्रचण्डमाथिको मुद्दा व्यक्तिगत मामिलामात्रै नभएर राज्य र नागरिककाे मामिला भएको भन्दै आफूहरू त्यसको प्रतिरोधमा आएकाे बताउनुभयो । उहाँले माओवादी घटकहरू एक हुने सम्भावना रहेको र त्यसको निम्ति छलफल पनि भइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया