प्रमुख निर्वाचन आयुक्तको भनाइ संविधान अनुकूल छैन : उपसभापति खड्का

 फागुन २६, २०७९ शुक्रबार १८:९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गर्नुभएको छ ।

शुक्रवार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति खड्काले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरीत अभिव्यक्ति दिनुभएको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले नेपालको संविधानले फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेरमात्रै संविधानले व्यवस्था गरेको बताउनुभयो ।

उपसभापति खड्काले संविधानको व्यवस्था विपरित आयोगले निर्णय गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा देशकाे वर्तमान संविधानले गरेको व्यवस्था अनुकूल नरहेको उल्लेख गर्नुभयाे । उहाँले आयोगले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोल्नुभएको कुरा नमिल्ने भन्दै संविधानले स्पष्ट व्यवस्था गरेअनुसार नै उपराष्ट्रपतिको उम्मेदवार छनोट हुने बताउनुभयो । उहाँँले प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइका बारेमा बुझेरमात्रै आफूहरू अघि बढ्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘महिला उम्मेदवारबाहेक उपराष्ट्रपतिमा उम्मेदवार नबनाउनु भनेको छ, यसमा कांग्रेसको मात्रै टिप्पणी भन्ने होइन, कानुनले के भनेको छ ? नेपालको संविधानले के भनेको छ ? फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको छ । एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेर संविधानले व्यवस्था गरेको छ । तर फरक लिङ्ग वा फरक समुदायको राष्ट्रपति/उपराष्ट्रपति हुनुपर्छ भनेर संवैधानिक जे व्यवस्था छ, त्यो व्यवस्थाको विपरीत निर्वाचन आयोगले निर्णय गरेको छ । अनलाइनहरूमा हेरेँ, प्रमुख आयुक्तले बोल्नुभयो भन्ने खबर आएको छ । उहाँले गरेको कुरा देशको वर्तमान संविधानले गरेको व्यवस्था अनुकूल छैन । आयोगले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोल्नुभएको कुरा मिल्दैन ।’

उपसभापति खड्काले राष्ट्रपतिकाे चुनाव भइसकेपछिको आज समीक्षाका रूपमा बैठक बसेको बताउनुभयो । उहाँले राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवार जिताउन सहयोग गर्ने दल, कर्मचारी, निर्वाचन आयोग र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि आजको बैठकले गरेको बताउनुभयो । उहाँले १० दलीय गठबन्धनमा उपराष्ट्रपतिको बारेमा कुनै छलफल नभएको भन्दै दलहरूको प्रमुख नेताहरूको बैठकपछि मात्रै उम्मेदवारको टुङ्गो लाग्ने जानकारी दिनुभयाे । 

उहाँले उपराष्ट्रपतिको उम्मेदवार दरखास्त दिने समयअघि नै सर्वसम्मतिले हुने बताउनुभयो । आउँदाे चैत ३ गते हुने उपराष्ट्रपतिको चुनावका लागि आयोगले भाेलि शनिवार उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यसअघि बिहीवार भएको राष्ट्रपति चुनावमा गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसक्नुभएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया