प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको ८ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन

 चैत १३, २०७९ सोमबार २०:१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएको आठ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । मन्त्रिपरिषद् विस्तार गर्ने भनेर पटक–पटक मिति नै घोषणा गर्नुभएका प्रधानमन्त्रीले अहिले पनि विभिन्न बहाना बनाएर मन्त्रिपरिषद् विस्तारलाई टार्दै आउनुभएको छ ।

नेकपा एमालेसँगको सहकार्य टुटेपछि उहाँले राष्ट्रपतिको चुनावलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभएको थियो, त्यसपछि प्रचण्डले उपराष्ट्रपतिको चुनावपछि मात्रै सरकार विस्तार गर्ने बताउनुभयो । उपराष्ट्रपतिको चुनावपछि प्रचण्डले विश्वासको मत लिएपछि सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने वाचा गर्नुभयो । तर चैतको ६ गते विश्वासको मत लिएको आज आठ दिन हुँदा पनि मन्त्रिहरू नियुक्त भएका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन भइरहेको पहल, गृह, अर्थ, रक्षाजस्ता महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने विवाद, जसपा र जनमत पार्टीले धेरै मन्त्रालय माग्नुलगायतका कारण प्रधानमन्त्री प्रचण्ड समस्यामा पर्नुभएको छ ।

मन्त्रिपरिषद् विस्तार नहुँदा १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसँगै छ । यसले गर्दा मन्त्रालयका काम भद्रगोल भएका छन् । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको मुख्य समय र आउँदो वर्षको बजेट बनाउने समयमा मन्त्रालयहरू मन्त्रिविहीन हुँदा समस्या झनै बढेको छ । मन्त्रालयका काम निकै प्रभावित भएको सचिवहरूले बताएका छन् ।

चाँडै मन्त्रिपरिषद् विस्तार गर्नुको साटो सत्ता साझेदार दलकै बीचमा भनाइ बाझिन थालेको छ । माओवादीले जतिसक्यो चाँडै मन्त्रिपरिषद् विस्तारको माग गरेको छ भने कांग्रेस र एकीकृत समाजवादीले न्यूनतम साझा कार्यक्रम ल्याएपछि मात्रै विस्तार गर्ने बताएका छन् । यसअघि आजसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने आन्तरिक सहमति भएकोमा अब न्यूनतम साझा कार्यक्रमपछि मात्रै सरकार विस्तार हुने नेताहरूले बताउँदै आएका छन् ।

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • खेमराज

    March 28, 2023, 4:13 p.m.

    यो कन्फर्टेबल झुम्राको पुतली 🦋 (बाँदर) लाई नचाउने मदारी ब्यस्त भएर हो । उसको फुर्सद हुनासाथ मन्त्री मण्डलले पुर्णता पाउँछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया