२ करोड घुसको अडियो काण्ड : रास्वपा सांसद श्रेष्ठ निलम्बनमा, पार्टीले सोध्यो २४ घण्टे स्पष्टीकरण

 चैत २६, २०७९ आइतबार १६:३९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ निलम्बनमा पर्नुभएको छ । आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको र त्यसका लागि साढे दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आज सार्वजनिक भएपछि उहाँलाई पार्टीले तत्कालका लागि निलम्बन गरेको हो ।

रास्वपाले पार्टीको साधारण सदस्य र सांसदको रूपमा कुनै पनि काम र क्रियाकलाप गर्न नपाउने गरी श्रेष्ठलाई तत्कालका लागि निलम्बन गरेको महामन्त्री डाक्टर मुकुल ढकालले निकालेको विज्ञप्तिमा उल्लेख छ । रास्वपाले सांसद श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको छ ।  

‘छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न नगराउनसमेत डा. श्रेष्ठलाई निर्देशन दिइएको छ । साथै केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न डा. श्रेष्ठलाई निर्देशन दिइएको छ’, पार्टीको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै पार्टीले सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईंबीचको टेलिफोन वार्ताका सम्बन्धमा सत्य/तथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको छ । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया