देश र नागरिककाे आवश्यकताअनुसार कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ : प्रधानमन्त्री

 वैशाख १०, २०८० आइतबार २०:२०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र नागरिककाे आवश्यकताअनुसार कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ । 

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाण्डाैमा नेकपा (एकीकृत समाजवादी) द्वारा आज आयोजित 'नेपाली कम्युनिस्ट आन्दोलन : उपलब्धि, चुनौती र सम्भावना' विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘सही विचार र नीतिका आधारमा कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने कुरा जारी राख्नुपर्दछ । अहिले हामी त्यही प्रक्रियामा छौँ । जनवादी केन्द्रियताको सिद्धान्तविरुद्ध रहेकाहरू कम्युनिस्ट एकताको पक्षमा छैनन् । हामी अहिले पनि एकताकै पक्षमा छौँ ।’ उहाँले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीँबाट कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुव्रीकरणमा अगाडि बढ्ने बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले आफूहरू देश र नागरिककाे आवश्यकताअनुसार थुप्रै नेताहरूसँगको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा छलफल गरी नेकपातिरै फर्कनेमा रहेको उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयो, ‘कम्युनिस्ट पार्टीभित्र नेतृत्वलाई साँचोका रूपमा लिइन्थ्यो र हो पनि । नेतृत्वले गलत विचार र प्रवृति अङ्गीकार गर्‍याे भने धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि देख्यौँ र आफ्नै आँखा अगाडि पनि देख्यौँ ।’

उहाँले २०७४ को आम चुनाव कम्युनिस्टहरूले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै त्याे प्रस्ताव आफूहरूले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैँ भएको बताउनुभयो । ‘राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता, नागरिककाे जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिस्टहरू एक हुन जरुरी छ’, उहाँले भन्नुभयो । लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुद गर्नका लागि पनि कम्युनिस्टहरू एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो । 

उहाँले विना आग्रह पूर्वाग्रह विचारधारात्मक रूपले समीक्षा गर्दै देशको हितमा एकताको नयाँ पहलका लागि वामपन्थी कम्युनिस्टहरूलाई आह्वान पनि गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, ‘एकताबद्ध भएर मात्र हामी कम्युनिस्ट आन्दोलनप्रति इमानदार हुनसक्छौँ । अहिले हामी कम्युनिस्ट पार्टीहरू कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौँ । अहिले राष्ट्रको आवश्यकता, राष्ट्रियता, जनतन्त्र जनजीविका, विकासको आवश्यकता र दलाल पुँजीवादको विरुद्ध सङ्घर्षको आवश्यकता महसुस गर्नेहरू सबै एउटा मोर्चामा आबद्ध भएर एउटा सन्देश दिऔँ ।’

अन्तिम अपडेट: माघ ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया