उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
‘पानीमुनि माछा पानीमुनि माछा पौडिरहेछ,
हेर न साथी हेर न साथी समाउन मन लाग्छ !’
काठमाण्डौको पद्मोदय माध्यमिक विद्यालयको प्रारम्भिक बालविकास तथा शिक्षा (ईसीडी) का बालबालिका ‘पानीमुनि माछा’ भन्नेबित्तिकै जर्याकजुरुक उठ्छन् । अनि शिक्षिकासँगै गीत र मादलको तालमा ओठ चलाउन र कम्मर मर्काउन थाल्छन् । उनीहरु यसैगरी रमाउँदै पढाइको सुरुवात गर्छन् । नाचगानले थाकेपछि कक्षा कोठाको अघिल्तिर रहेको टेलिभिजनमा कार्टुन हेरेर रमाउँछन् । अक्षर, अङ्क र किताबका अरु विषय नाचगानकै माध्यमबाट सिक्छन् ।
विषयगत ज्ञानसँगै सरसफाइ र व्यावहारिक ज्ञान पनि लिन्छन् । विद्यालयकी ईसीडी शिक्षिका एलिजा श्रेष्ठ भन्नुहुन्छ, ‘नाच्दै, खेल्दै पढ्दैमा बालबालिकाले साह्रै छिट्टो पढ्न सिक्छन्, यस्तो सिकाइले उनीहरुलाई आमाको न्यानो काख भुल्न पनि सहयोग पुगेको छ ।’
पद्मोदय माध्यमिक विद्यालयका बालबालिकाहरुलाई १० वर्षदेखि यसैगरी सिकाउने गरिएको छ । विद्यालयका प्रधानाध्यापक नारायण गौतम भन्नुहुन्छ, ‘अविभावककै कारण हामीले यो कक्षा सञ्चालन गरेका हौँ ।’
विद्यालयले बालबालिकालाई पढाउने मात्रै नभइ विद्यालय पोसाक पनि वितरण गर्नेगर्छ । पूर्वप्राथमिक कक्षाका लागि मात्रै विद्यालयले आन्तरिक स्रोतबाट महिनाको एक लाख रुपैयाँ खर्च गर्दै आएको विद्यालयका प्रधानाध्यापक गौतमले जानकारी दिनु भयो ।
देशका अरु धेरै विद्यालयमा भैरहेको सिकाइको यस्तो अभ्यास काठमाण्डौको कागेश्वरी मनोहरामा रहेको आनन्द भैरव माध्यमिक विद्यालयमा पनि हुने गर्छ । विद्यालयले १८ वर्षदेखि पूर्वप्राथमिक कक्षा सञ्चालन गर्दै आएको छ । यस्ता शिक्षाले बालबालिकालाई विद्यालय जाने बानी बसाल्न सजिलो भएको छ । शिक्षिका र अविभावकलाई समेत सजिलो भएको छ ।
अविभावक उर्मिला खड्का भन्नुहुन्छ, ‘मेरो सानी छोरीलाई विद्यालय जाने बानी बसाल्न केही गाह्रो भएन, अहिले त उनी बिरामी हुँदा समेत विद्यालय जान्छु भन्छिन् ।’ अहिले कक्षा १ मा पढ्ने उर्मिलाकी छोरी पूजाको पढाइ मात्रै होइन नाच्ने र गाउने सीप पनि राम्रो छ । छोरीको पढाइ र सीप राम्रो भएको भन्दै आमा उर्मिला दङ्ग हुनुहुन्छ ।
पालिकाको सहयोगले झन् सजिलो
देश सङ्घीयतामा गएपछि माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी पालिकाले पाएको छ । पालिका सरकारलाई आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन गर्ने अधिकार दिएको छ । विद्यालयमा ‘प्रारम्भिक बालविकास तथा शिक्षा’ (ईसीडी) का बालबालिकाको पढाइ गुणस्तरको बनाउन पालिकाहरुले लगानी गर्न थालेको छ ।
काठमाण्डौ महानगरपालिकाले पद्मोदय माध्यमिक विद्यालयलाई यसै शैक्षिक सत्रमा ईसीडी कक्षा स्तरोन्नतिका लागि दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक नारायण गौतमले जानकारी दिनु भयो ।
यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाले पनि गएको शैक्षिक सत्रको मंसिरदेखि नगरपालिका भित्रका १६ वटै सामुदायिक विद्यालयका ईसीडी शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम दिँदै आएको छ । नगरपालिकाले रातो बङ्गला फाउण्डेशन स्कुल पाटनको सहयोगमा यस्ता शिक्षिकाहरुलाई तालिम दिँदै आएको हो ।
प्रारम्भिक बाल सिकाइका लागि रातो बङ्गलाले एक वर्षसम्म तालिम दिन्छ । दुई वर्षसम्म यसको प्रभावकारिताको अध्ययन गरेर त्यसपछि नगरपालिकाले नै यसको जिम्मेवारी समाल्ने प्रारम्भिक बालसिकाइ संयोजक कविता दाहालले जानकारी दिनु भयो ।
भर्नादर बढ्यो
खेल्दै, पढ्दै सिक्दै शिक्षण पद्धति लागू भएपछि भर्नादर बढेको छ । कागेश्वरी मनोहरा नगरपालिकाको आनन्द भैरव माध्यमिक विद्यालयमा अहिले ईसीडी कक्षामा मात्रै एक सय जना बालबालिका भर्ना भएका छन् । भवन अभावका कारण भर्ना अवधि नसकिँदै ईसीडी कक्षाका लागि भने भर्ना लिन बन्द गरिएको विद्यालयकी प्रधानाध्यापक गीतादेवी कार्कीले बताउनु भयो । उहाँका अनुसार गएको शैक्षिक सत्रमा भने ८२ जना बालबालिका भर्ना भएका थिए ।
यस्तै, काठमाण्डौको पद्मोदय माध्यमिक विद्यालयमा पनि अहिले पूर्वप्राथमिक तह (ईसीडी) मा बालबालिकाको सङ्ख्या बढेको छ । गएको शैक्षिक सत्रमा ४५ जना बालबालिका थिए। यस शैक्षिक सत्रको सुरुमा नै भर्ना हुनेको सङ्ख्या ६० पुगेको छ । यो सङ्ख्या अझै बढ्न सक्ने प्रधानाध्यापक नारायण गौतमको भनाइ छ । विद्यार्थी भर्ना जेठ १५ सम्म चल्नेछ ।
पहिले बालबालिकाको सिकाइ पुस्तकबाटै सुरु हुन्थ्यो अहिले अडियो र भिडियोबाट सुरु हुन्छ । आदर्श भैरव माध्यमिक विद्यालयकी ईसीडी शिक्षिका नम्रता कार्की भन्नुहुन्छ, ‘पहिले घोकन्ते विद्या थियो अहिले जीवनोपयोगी छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।