सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
शिवपुरी–नार्गाजुन राष्ट्रिय निकुञ्जमा नागमती बाँध निर्माण गर्ने कुरा अहिले चर्चाको विषय बनेको छ । यसले काठमाण्डौको मानव बस्तीमा असर पुर्याउन सक्ने खतराका बारेमा वातावरणविद्हरुले चासो व्यक्त गरिरहेका छन् । जुन नागमती खोला छ त्यसको वरपर रहेर २०६९ सालमा अध्ययन पनि गरेको थिएँ । त्यसको अध्ययन गरेको हुनाले त्यहाँको वातावरण तथा भूगोलका बारेमा पनि राम्रो जानकारी छ । त्यसबेलाको अध्ययनमा त्यहाँको हाइड्रोलोजिकल मोडल तथा अन्य कुराहरु पनि अध्ययनमा समावेश थियो ।
हाम्रो जस्तो गरिब देशमा विकास निर्माण हुनु र त्यसले आर्थिक तथा अन्य कुराहरुको पनि फाइदा त हुन्छ । तर, त्यसमा धेरै कुराहरु ध्यान दिनु आवश्यक हुन्छ । नागमती बाँध बनाउनु अगाडि वातावरणीय तथा अन्य प्रभावको मूल्याङ्कन गरेर नै निर्माणको कुरा गरिएको हुनुपर्छ । तर, हाम्रो जस्तो देशमा वातावरणीय प्रभाव मूल्याङ्कन भन्दा त्यसको सामाजिक आर्थिक प्रभावमा बढी फरक पर्छ । यस्तो अध्ययनमा त्यहाँका मानिसको आर्थिक उन्नतिको आधार सांस्कृतिक पक्ष तथा त्यहाँको जैविक विविधतालाई ध्यानमा राखेर वातावरणीय प्रभाव मूल्याङ्कनको अध्ययन हुनुपर्छ । यस्ता संरचना बन्न यी सबै कुरा सकारात्मक छ वा न्यूनीकरण गर्छ भनेर मूल्याङ्कन अध्ययन गर्नुपर्छ । न्यूनीकरण गर्छ भने त्यसलाई कसरी अनुदान दिएर उत्थान गर्न सकिन्छ भन्ने बारेमा अध्ययन प्रतिवेदन तयार गर्नुपर्छ।
अहिले चर्चामा रहेको नागमती बाँधको सबैभन्दा राम्रो पक्ष भनेको त्यसले भू–सतहको पानीलाई पुनर्भरण गर्छ । यसले काठमाण्डौको घनाक्षेत्र तथा जलाधार क्षेत्र पुनर्भरण हुने कारणले त्यहाँको जैविक विविधतामा थप मद्दत गर्छ । तर, नागमती बाँध बनाउने ठाउँ चट्टान रहित ग्रेगर तथा अन्य किसिमको माटो भएको र पानी चाँडो घुलन हुने हुनाले भूक्षयको सम्भावना हुन्छ । त्यसकारण त्यहाँ बाँध बनाउँदा फुट्ने सम्भावना बढी हुन्छ । यदि बाँध बनाएर फुट्यो भने त्यसले विकराल रुप लिन्छ । यसले प्राकृतिक विपत्ति तथा त्यस्ता बाँधमा यदि आन्तरिक द्वन्द्व वा वाह्य आक्रमण भयो भने पनि त्यसको क्षति अुनमान गरेभन्दा धेरै नै हुन्छ।
यदि त्यहाँ बाँध बनाउने हो भने त्यहाँको जैविक विविधता नष्ट हुन्छ । यदि त्यहाँको वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको हो भने पानीमा हुने वनस्पति र जमिनको बीचमा हुने वनस्पति लोप हुन्छन् । कतिपय लोपोन्मुख जनावर, चरिचर र सरिसृप लोप हुने खतरा हुन्छ । हामी भूकम्प जस्ता प्राकृतिक विपत्तिको जोखिममा रहेको हुनाले यस्ता नयाँ कुराहरु थप्दा हामी सचेत हुनैपर्छ ।
कुनै ठाउँमा बाँध बनाउने कुराको औचित्य त्यसले त्यहाँ पार्ने जैविक विविधतामा पुर्उने असर, वाष्पीकरणले त्यहाँको तापक्रममा पार्ने असर तथा त्यहाँको जनजीवनमा पार्ने असर सकारात्मक छ भन्ने कुराको पुष्टि हुनसक्ने हुनुपर्छ । कुनै पनि ठूला आयोजनाको असर चरिचरन अर्थात् मानिसले पाल्ने गाईबस्तु, त्यहाँको माटो आदिमा पनि पर्छ । अहिले हामीले विकासका नाउँमा जथाभावी डोजर चलाउँदा पानीको वर्षौँदेखिको धारलाई उल्टो दिशातर्फ बगाउने गरेको छ । जसका कारण धेरै भूक्षय, सुक्खा पहिरो लगायतका समस्याहरु देखिएका छन् । हामीले यस्ता विकासका कुरा गर्नुभन्दा पनि जीवनस्तर कसरी उठाउने भनेर कृषिलाई आधुनिकीकरण गर्ने भन्नेतर्फ बढी ध्यान दिनुपर्छ । यसो गर्दा हाम्रा जैविक विविधता, रुख, जंगली जनावर तथा पर्वरण सबै जोगिन्छ । हामीले सबैभन्दा जीवनस्तर कसरी वातावरणमैत्री हुन्छ भनेर जाँदा उपयुक्त हुन्छ ।
अहिले बाग्मती नदी सरसफाइका लागि भनेर नागमती बाँधको जुन कुरा चलिरहेको छ त्यो भन्दा पनि नदी सरसफाइको लागि मुख्य कुरा भनेको जनचेतना हो । पहिले बाग्मती नदी क्षेत्रका मानिसहरुको जीवन कृषिमा आधारित थियो । बाग्मती पनि कलकल सफा बग्थ्यो । पछि बस्ती बढेर ढल मिसाउन थालेपछि नै बाग्मती प्रदूषित हुन थालेको हो । त्यसकारण नदी थुनेर सफा बनाउने भन्दा पनि जनचेतनामूलक कार्यक्रम र हरेक जीवजन्तु आदि सबैलाई कसरी सन्तुलन गर्ने भन्ने कुरामा हामी जानुपर्छ ।
विकास निर्माणका काम गर्दा प्रकृतिको सुरक्षा तथा विपद्को घटना कम गर्न सडक निर्माणको कुरामा सबैभन्दा धेरै ध्यान पुर्याउनु पर्छ । त्यस्तै संरचना निर्माण गर्दा त्यहाँको माटो कस्तो छ भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । हामीकहाँको माटो प्रायः पाँच/सात सय वर्ष पुरानो माटो हो । त्यो भन्दा तलको तह यहाँको खोलानालाले बनेको कारणले फरक किसिमको छ । त्यसकारण भूगर्भ कुन माटो कसरी बनेको छ सजिलै अनुमान गर्न सकिन्छ ।
अर्को भनेको हाम्रो गाउँमा जुन खेत/बारीका गह्रा हुन्छन् त्यसलाई हाम्रा पुर्खाले निकै मेहनत गरेर बनाएको भन्ने अहिले हेर्दा बुझिन्छ । त्यसकारण सयौँ वर्ष त्यसरी मिलेर बसेका त्यस्ता जमिनको बीचबाट बाटो निर्माण गर्दा त्यसले ठूलो असर पर्छ । अहिले माटोको परीक्षण गर्नु खासै गाह्रो कुरा पनि छैन । त्यसमा प्रविधि पनि छ । माटोको एक्सरे पनि गर्न सकिन्छ । अझ त्यहाँको माटोको अवस्थाका बारेमा त्यहाँका स्थानीय बासिन्दाले पनि धेरै कुरा भन्न सक्छन् । हाम्रो भूगोल अनुसार अध्ययन गरेर विकास निर्माणको काम गर्ने हो भने खासै अप्ठेरो कुरा छैन ।
हाम्रा पालिकामा माटोको बारेमा त्यस्ता विज्ञहरु नहुन पनि सक्छन् तर, साधारण रुपमा यति हुनुपर्छ र यस्तो निर्माण गर्न सकिन्छ भनेर सूचक बनाउन सकिन्छ । अहिले पालिकातिर पनि सानासाना पोखरी बनाउने प्रचलन बढ्दो छ यसको लागि पनि माटोको परीक्षण आवश्यक छ । कुनै पनि निर्माण गर्दा कस्ता किसिमको भूगोलमा गर्ने भनेर सूचीकृत गर्नुपर्ने हुन्छ । विकसित देशहरुमा पनि यस्ता पोखरीहरु बनाउने चलन छ । हामीकहाँ पनि पहाडको टुप्पामा यस्ता पोखरीहरु बनाउँदा त्यसले पानी पुनर्भरण हुने र गाईबस्तुलाई पानी खुवाउन सजिलो हुन्छ ।
तर, त्यस्ता पोखरीहरु बनाउँदा पनि कति क्षेत्रफलमा बनाउने, कस्तो ठाउँमा बनाउने, माटोको अवस्था कस्तो छ भन्ने बारेमा विज्ञसँग सल्लाह गरेर बनाउनु उपयुक्त हुन्छ । विना पूर्वाधार विना विज्ञ यस्ता संरचना बनाउनु अनुपयुक्त नै हुन्छ । विकास निर्माणका कुरा गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनले ठूलो अर्थ राख्छ । त्यहाँको जनजीवन, वातावरण तथा त्यस वरपरका अन्य विविध विषयमा यस्ता विकास निर्माणले ठूलो प्रभाव पार्ने हुन्छ । तर, अस्थिर राजनीति, भ्रष्टाचार जस्ता कुराले हामीकहाँ धेरै योजना प्रभावित भएका छन् ।
सबै ठाउँमा सबै किसिमका विकास हुनुपर्छ भन्ने होइन । पूर्व, सुदूरपश्चिम, पश्चिम, तराई, उपत्यका आदि सबै ठाउँका आफ्नै विशेषता तथा जोखिम छन् । विकास निर्माण सबै ठाउँ लानुपर्छ तर, ठाउँ हेरि उपयुक्त किसिमका विकास लैजानुपर्छ र कति ठाउँलाई संरक्षित क्षेत्रको रुपमा पनि विकास गर्नुपर्छ । कुनै ठाउँमा बाँध बनाएर तल बेसीमा कुलो, नहर बनाएर सिंचाइ गर्न नसक्ने ठाउँहरु पनि हुन्छन् । कारण त्यस्ता ठाउँमा बाढी, पहिरो र बाँध फुट्दा सयौँ वर्ष त्यस्तो ठाउँको उत्थान गर्न सकिँदैन । यसकारण वातावरणीय प्रभाव मूल्याङ्कनमा मात्र कडाइ गर्न सकियो र विज्ञ र अनुसन्धानकमीहरु मिलेर यस्तो काम गर्न सकियो सम्भावित क्षति न्यूनीकरण गर्न सकिन्छ ।
अहिले हाम्रा गाउँघरमा विकासका नाममा हरेक घर घरमा बाटो पुर्याउने नाममा विध्वंश भइरहेको छ । अब सरकारले यो ठाउँ उर्वरशील हो, यो संरक्षित ठाउँ हो भनेर नीति बनाएरै संरक्षण गर्नुपर्छ । जस्तो अहिले कसैले कृषि गर्छु भन्यो भने पनि त्यो ठाउँमा बैंकबाट ऋण लिनको लागि पनि बाटो पुगेको हुनुपर्छ । हाम्रो नीति नै यस्तो छ । भोलि त्यो मानिस त्यो व्यवसायबाट पलायन भयो भने आफ्नो लगानी सुरक्षित गर्न पनि बाटो खोजेको हुनसक्छ । तर, सरकारले नीति बनाउँदा कृषि गर्नको लागि बाटोभन्दा पाँच किलोमिटर टाढा हुनुपर्ने गर्नुपर्छ । गाईभैँसी पाल्न बाटो चाहिने होइन । यदि त्यस्ता कृषिमा अनुदान धेरै दिने हो भने यस्ता विनाशका काम कम हुनजान्छ ।
वातावरण मूल्याङ्कन भएका आयोजनामा पनि त्यसबाट क्षणिक लाभ कसरी हुन्छ भनेर निर्माण गर्दा वातावरणीय समस्या बढी आएको देखिन्छ । यसकारण पनि वातावरणीय विनासका बारेमा चिन्तनमनन र यस्ता कुरा जनसमुदायलाई पनि बुझाउनु जरुरी रहेको छ । हामी प्राकृतिक रुपमा भिरमा खस्न लागेको ढुङ्गाको जस्तो अवस्थामा छौँ । त्यहाँ हावा, पानी र प्राकृतिक विपत्ति जे भए पनि ढुङ्गा लड्छ । त्यस्तो जोखिमपूर्ण अवस्थामा हाम्रा निर्माणहरु छन् । त्यसकारण हाम्रो जस्तो देशमा नागमती जस्तो बाँध बनाउँदा ठूलो खतरा देखिन्छ । जस्तो कसैले भोलि काठमाण्डौ क्षेत्रमा आक्रमण गर्दा त्यहाँको पानीमा मात्र आक्रमण गर्दा हुन्छ । भोलि यो एउटा अस्त्र हुनजान्छ । सुरक्षाको दृष्टिकोणले पनि यो निकै ठूलो खतरा देखिन्छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा त्यहाँका स्थानीयसँग छलफल गरेको त देखिन्छ । तर, त्यसका बारेमा त्यहाँका स्थानीयले कति बुझेका छन्, त्यसको प्रभाव कस्तो पर्छ भन्ने बारेमा कति जानकार छन् त्यसले महत्तवपूर्ण भूमिका खेल्छ । मानौँ त्रिशुलीमा कुनै बाँध बन्दैछ भने त्यहाँका सर्वसाधारणले त्यो बाँध तथा त्यसको असरको बारेमा कति बुझ्नुहुन्छ र ? अनि त्यो कार्यक्रममा गएका मानिसले यो यो राम्रो हुन्छ भनेका आधारमा हुन्छ भन्ने लाग्छ । त्यसको साँच्चिकै पर्ने असरका बारेमा उहाँहरु अनभिज्ञ हुनुहुन्छ । यसले पनि वातावरणीय प्रभाव मूल्याङ्कन गरेको भनिएको आयोजनाले पनि प्राकृतिक विनास विपद् भइरहेको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा त त्यहाँको भूगोलको अध्ययन, त्याहाँको चट्टानको अध्ययन, पानीको बहावको अध्ययन, उद्योग राख्ने हो भने त्यसले वातावरणमा पार्ने प्रभाव, स्वास्थ्यमा पार्ने प्रभाव, जनजीवनमा पार्ने प्रभाव आदि सबैको बारेमा अध्ययन हुनुपर्छ । तर, ठूलो बजेट र केही अनुदान दिएका भरमा अहिलेसम्मका वाताववरणीय प्रभाव मूल्याङ्कन भइरहेको देखिएको छ ।
योजना बनाउँदा त्यहाँको ग्रामीण परिवेश, त्यहाँको स्थानीय कुराहरुलाई जोगाउनु चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्छ । त्यहाँको जनजीवनलाई वैज्ञानिक ढंगले संरक्षण नगरी केही मुआब्जा दिएर त्यहाँको रहनसहन र परिवेशको संरक्षण गर्नुपर्छ । विपद् व्यवस्थापन गर्ने हाम्रा परम्परागत सिकाइहरु ज्यादै वैज्ञानिक छन् । ती वातावरण मैत्री तथा स्थानीय स्रोत साधनको प्रयोग भएको हुन्थ्यो । तर, हामीले त्यसलाई संरक्षण र पुस्तान्तरण गर्न सकेका छैनौँ ।
हामीले ठूला आयोजना बनाउने र त्यसबाट वातावरणीय क्षति गर्नेभन्दा पनि हामीले कृषिमा जोड दिनुपर्ने देखिन्छ । अहिले ठूला जलविद्युत् आयोजनाको कुराहरु उठिरहेका छन् । तर, हामी चामल, फलफूल, तरकारी सबै आयात गर्छौँ । हाम्रा जमिनहरु बाँझो भएको छ । त्यसकारण हामी यस्ता कुरामा आत्मनिर्भर बन्नेतर्फ जानुपर्छ ।
जलविद्युत् आयोजना बनाउँदा हामीले चाहेको ठाउँमा बनाउने कि प्राकृतिकरुपमा उपयुक्त ठाउँमा बनाउने भन्ने कुरा हुन्छ । यो सम्बन्धी चेतना आयोजना बनाउनेलाई पनि हुनुपर्याे । ठूलाठूला उपकरणको प्रयोगले जमिन थर्किने, चर्किने भएको छ । यस्ता ठूला उपकरण प्रयोग गर्दा भएका ध्वनी प्रदुषणका कारण किरा फट्याङ्ग्रा पनि लोप भएका छन् । यसले गर्दा त्यहाँको जैविक विविधतामा असर पर्छ । त्यहाँको बोटविरुवामा असर पर्छ । त्यसले भूक्षय हुन्छ । भूक्षयले खेतीकिसानी कम हुन्छ । यसले गर्दा उत्पादन भन्दा किन्न सस्तो पर्न जान्छ । यसले हामीलाई चरणगतरुपमा असर गरिरहेको छ र हामी किन्दा सस्तो पर्न जाँदो रहेछ भनेर आयातमुखी भएका छौँ । यसको असर यसरी देखिँदै जान्छ । यसका लागि स्थानीय स्तरमा बहस र नीतिगतरुपमा सच्चिनु जरुरी छ ।
कुनै विकास आयोजना शुरु गर्दा त्यसबाट कति कर आउँछ भनेर हाम्रा पालिकाहरुले हेर्नु भएन । लगानी गर्नेले पनि यो क्षेत्रमा लगानी गर्दा यति फाइदा हुन्छ भन्ने हिसाबले मात्र हेर्नु भएन । स्थानीयले पनि हामीले यति मुआब्जा पायौँ भने यहाँबाट शहर छिर्ने अनि हाम्रा आवश्यक्ता पूरा हुन्छन् भन्ने ढङ्गबाट हेर्नु भएन । त्यस क्षेत्रको दीगो विकासको लागि पालिकाले पनि त्यहाँको जमिनमा के गर्न सकिन्छ, स्कुल, कलेजको स्तरनोन्नति गर्न सकिन्छ, जमिनलाई पनि केही गर्न सकिन्छ कि भन्ने ढङ्गबाट सोच्नुपर्याे ।
स्थानीयले त्यहाँ विकासका आयोजना सञ्चालन गर्दा हाम्रो यही ठाउँमा कसरी बास रहन्छ, हाम्रा पुर्खा जसरी उभिन सक्ने वातावरण कसरी हुन्छ भन्ने प्रश्न त्यहाँको पालिकालाई वातावरणीय प्रभाव मूल्याङ्कनका बेलामा सोध्नु पर्छ । जस्तै ठूला जलविद्युत् आयोजना बन्दा पनि डुबान हुने जमिनको मुआब्जा आउँछ भनेर कतिपय स्थानीय दङ्ग भएको पनि देखिन्छ । तर, त्यसले त्यस ठाउँमा दीर्घकालीन असर पर्छ । यसले त्यहाँको संस्कृति लोप हुन्छ । मितव्ययिता लोप हुन्छ । हाम्रो जीवन भनेको पहिले जस्तो थियो त्यस्तै हुनुपर्छ । तर, त्यो वैज्ञानिक किसिमको हुनुपर्छ भन्ने नै मुख्य कुरा हो । त्यो भनेको हामी आत्मनिर्भरतातर्फ जानुपर्छ ।
(वातावरणविद् ढाकासँगको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ढाका वातावरणविद् हुनुहुन्छ ।