वैदेशिक रोजगारीका मुद्दा मेलमिलापबाटै, न्याय छिटो पाउने विश्वास

 माघ ३, २०७६ शुक्रबार १७:३:२८ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार विभागले व्यक्तिगत उजुरी फरफारक गर्न ५३ जना लाइसेन्सप्राप्त मेलमिलापकर्ताको सूचिकरण गरेको छ । 

व्यक्तिगत उजुरी न्यायधिकरणमा पठाउदा प्रक्रिया लामो हुने र धेरै समय लाग्ने भएकाले उजुरीकर्ताले चाहेमा मेलमिलापकर्ताबाट उजुरीको फरफारक गर्न सक्ने विभागका सूचना अधिकारी भोलानाथ गुरागाईँले बताउनुभयो । 

‘अहिले पीडितले न्याय पाउन धेरै समय कुर्न पर्ने र न्यायधिकरणको फैसला कुर्नपर्ने बाध्यता छ,’ सूचना अधिकारी गुरागाईँ भन्नुहुन्छ, ‘यो अवस्था नहोस्, पीडितले न्याय छिटो पाउन भनेर नै यो व्यवस्था गरिएको हो ।’

इजाजत प्राप्त म्यानपावर व्यवसायीबाट भएका ठगीलाई संस्थागत ठगी र त्यसबाहेक व्यक्तिगत पहलमा विदेश लगिदिने नाममा गरिने ठगीलाई  व्यक्तिगत ठगी भनिन्छ ।

विभागको २१ नम्बर कोठामा छुट्टै मेलमिलाप कक्षको स्थापना हुनेछ । उजुरीकर्ता र दोषी दुवै पक्षले सूचिकृत भएकामध्ये आफूलाई मन पर्ने कुनै एउटा मेलमिलापकर्तालाई रोज्न सक्नेछन् । 

अहिले व्यक्तिगत उजुरी विभागले न्यायधिकरणमा पठाउने हुँदा न्यायको प्रक्रिया लामो छ । मेलमिलाप ऐन २०७० अनुसार यस्ता प्रकृतिका मुद्धालाई मेलमिलापको माध्यमबाटै सुल्झाउन वैदेशिक रोजगार विभागमा मेलमिलाप केन्द्र नै स्थापना गरिएको विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले बताउनुभयो ।

मेलमिलापकर्ताबाट विभागमा परेको उजुरीमा छलफल गरी क्षतिपूर्ति पाउनु पर्ने भए क्षतिपूर्ति अङ्कमा सहमत भई मेलमिलाप गर्न सक्नेछन् ।

यसले गर्दा न्यायाधिकरणमा मुद्दा  पठाउनु पर्ने र लामो समय पर्खिनुपर्ने अवस्थाको अन्त्य हुने र पीडितले सजिलै र छिट्टै राहत पाउने विभागको विश्वास छ ।

यदि कसैले मेलमिलापकर्ताबाट नगएर न्यायाधिकरणबाटै मुद्दा अगाडि बढाउन चाहेमा पनि सक्नेछन् । 

मेलमिलाप हुन नसक्ने अवस्थाका मुद्दा हरुलाई पहिलेकै तरिकाले न्यायाधिकरणमार्फत जना सकिने विभागले जनाएको छ । 

तपाईको प्रतिक्रिया