वैदेशिक रोजगारी : बीमा र कल्याणकारी कोषको रकम अब इसेवाबाट तिर्न सकिने

 माघ १०, २०७६ शुक्रबार १८:१३:४८ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीमा जाने श्रमिकले बिमा बापतको रकम अब इसेवामार्फत तिर्न सक्ने भएका छन् ।

श्रमिकले निःशुल्क इसेवामार्फत अनलाइन भुक्तानी गर्न मिल्ने गरी वैदेशिक रोजगार बोर्ड र इसेवाबीच सम्झौता भएको विभागका महानिर्देशक भीष्मकुमार भूसालले बताउनुभयो ।

श्रमिकले इसेवामार्फत तिरेको बीमाको शुल्क हरेक दिन म्यादी बीमा जारी गर्ने कम्पनीले तोकेको बैंक खातामा इसेवाले नै जम्मा गरिदिने छ । इसेवाले श्रमिकको म्यादी बीमा भएको जानकारी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्ने र बीमाको बीमाङ्क रकम भुक्तानी भए नभएको रूजू गर्न पोर्टलको व्यवस्था मिलाउने महानिर्देशक भूषालले बताउनुभयो ।

प्राविधिक कारणले सेवा अबरुद्ध भएको अवस्थामा पनि समस्या समाधानका लागि दुवै पक्षले तत्काल समाधानको पहल गर्नेछन् । तर अझै पनि बीमा कम्पनी र विभागबीच भने समझदारी हुन बाँकी छ ।

विभागले अनलाइन भुक्तानी प्रक्रियाका लागि बीमा कम्पनीलाई सम्झौताका लागि पटक पटक आह्वान गरे पनि आनाकानी गर्दै आएको महानिर्देशक भूसालले बताउनुभयो ।

वैदेशिक रोजगारीको बीमाका लागि अनलाइन भुक्तानीमा जान बीमा समितिले पनि बीमा कम्पनीहरुलाई यसअघि नै बीमा समितिले पनि निर्देशन दिइसकेको छ । आइतबारका लागि विभागमा बीमा कम्पनीलाई बोलाएको र नआएमा त्यही अनुसारको प्रक्रिया अघि बढाउने महानिर्देशक भूसालको भनाइ छ ।

‘विभाग पहिलेदेखि नै तयार छ, तर बीमा कम्पनीहरु आइरहेका छैनन्, अब नआएमा माथिल्लो तहबाटै पहल गर्नेछौं यो धेरै समय लम्बिदैन,’ महानिर्देशक भूसालले भन्नुभयो । इसेवासँगै खल्ती लगायत अरु अनलाइन सेवा प्रदायकसँग पनि आइतबार समझदारी गर्ने तयारी छ ।

यस्तै, वैदेशिक रोजगारीका लागि जाँदा कल्याणकारी कोषमा तिर्न पर्ने रकम पनि अब इसेवाबाट तिर्न सकिने र आइतबार नै त्यसका लागि इसेवा र वैदेशिक रोजगार बोर्डबीच समझदारी हुने महानिर्देशक भूसालले बताउनुभयो ।

बीमा कम्पनी र विभागबीच सहमती हुनासाथ श्रमिकले विदेशस्थित नेपाली नियोगबाटै पनि पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था कार्यान्वयनमा आउनेछ ।

तपाईको प्रतिक्रिया