वैदेशिक रोजगारीका उजुरी अब मेलमिलापकर्ताबाट टुङ्ग्याउन सकिने

 माघ १३, २०७६ सोमबार १५:४८:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीको क्रममा ठगीमा पर्नुभएको छ र न्यायका लागि विभाग धाइरहनुभएको छ ? त्यसो भए अब उजुरी फरफारकको अर्को बाटो पनि खुलेको छ ।

तपाईँले चाहेमा वैदेशिक रोजगारीको मुद्दा मेलमिलापकर्ताबाट पनि फछ्यौट गर्न सकिने भएको छ । सोमबार विभागमा सूचीकृत ५३ जना मेलमिलापकर्ताले सपथ लिएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले मेलमिलापकर्ताको सपथ गराउनुभएको हो । यस्तै सोमबारदेखि नै विभागमा मेलमिलाप कक्षको पनि उदघाटन भएको छ ।

उजुरीकर्ता र दोषी दुवै पक्षले सूचीकृत भएकामध्ये आफूलाई मन पर्ने कुनै एउटा मेलमिलापकर्तालाई रोज्न सक्नेछन् । व्यक्तिगत उजुरी न्यायधिकरणमा पठाउँदा प्रक्रिया लामो हुने र धेरै समय लाग्ने भएकाले उजुरीकर्ताले चाहेमा मेलमिलापकर्ताबाट उजुरीको फरफारक गर्न सक्नेछन् ।

अहिले व्यक्तिगत उजुरी विभागले न्यायाधिकरणमा पठाउने हुँदा न्यायको प्रक्रिया लामो छ । मेलमिलाप ऐन २०७० अनुसार यस्ता प्रकृतिका मुद्दालाई मेलमिलापको माध्यमबाटै सुल्झाउन वैदेशिक रोजगार विभागमा मेलमिलाप केन्द्र नै स्थापना गरिएको महानिर्देशक भूसालले बताउनुभयो ।

मेलमिलापकर्ताबाट विभागमा परेको उजुरीमा छलफल गरी क्षतिपूर्ति पाउनुपर्ने भए क्षतिपूर्ति अङ्कमा सहमत भई मेलमिलाप गर्न सक्नेछन् ।

७५ प्रतिशत मुद्दा मेलमिलापको माध्यमबाट टुङ्ग्याउन सकिन्छ

मेलमिलाप परिषदका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडाले अरु विषयमा मेलमिलाप गराउनु र वैदेशिक रोजगारीका मुद्दामा मेलमिलाप गराउनु फरक भएको भन्दै दुवै पक्षको न्यायलाई ख्याल गर्नुपर्ने बाताउनुभयो ।

वैदेशिक रोजगारका उजुरीमध्ये ७५ प्रतिशत मेलमिलापबाट टुङ्ग्याउन सकिने भए पनि २५ प्रतिशत भने फैजदारी अभियोग अन्तर्गत कानुनी प्रकृयामा लैजानुपर्ने अवस्था रहेको उहाँको अनुमान थियो ।

तर त्यसो भन्दैमा सबै विवादहरुलाई मेलमिलाप प्रकृयामा लैजान नहुने भन्दै उहाँले सामान्य प्रक्रियाका विवाद मात्र मेलमिलापबाट मिलाउँदा राम्रो हुने सुझाव पनि दिनुभयो ।

उहाँले भन्नुभयो ‘जहाँ मेलमिलाप गराउनु उपयुक्त हुँदैन त्यो मेलमिलाप प्रकृयामा पठाउनु हुँदैन त्यो प्रकृयाबाट संवोधन हुन दिनु हुँदैन तर सामान्य किसिमका विवादहरु मेलमिलाम प्रकृयाबाट टुङ्ग्याउनु असल हुन्छ ।’ न्यायाधीश खतिवडाले न्यायोचित समाधान दिन मेलमिलामकर्ताहरुको महत्वपूर्ण भूमिका हुने भन्दै दुई पक्षबीचको सन्तुलनमा ध्यान दिन मेलमिलापकर्तालाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा नायव महान्यायाधिवक्ता पद्यम प्रसाद पाण्डेले कुनै पनि विवादको मुद्दा गरेर मात्रै समस्या समाधान नहुने बताउनुभयो । उहाँले समस्याको समाधानको निम्ति र समाजलाई सहज रुपमा अगाडि लैजानका लागि मेलमिलाप उपयुक्त हुने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘मेलमिलाप यो नयाँ संहिताहरुमा किन आएको होला भनेर विचार गर्दाखेरी दुई तीन वटा कुराहरु छन त्यो के हो भने मुद्दा गरेर मात्रै त समस्याको समाधान हुँदैन त्यसकारण समस्याको समाधान गर्नको निम्ति र समाजलाई सहजरुपमा अगाडि लैजानको निम्ति समाजमा झगडाको वातावरण होईन मेलमिलापको वातावरण चाहिन्छ ।’

सपथ ग्रहण कार्यक्रममा विभागका महानिर्देशक भूसालले अहिलेसम्म संस्थागत विवादमा नैतिक दवाव दिएर पनि समस्याको समाधान गरिदै आएकोमा अब मेलमिलापकर्तालाई प्रमाण जुटाएर मेलमिलाप गराउने विषय चुनौती रहेको बताउनुभयो ।

विभागले अहिले थोरै जनशक्तिमा पनि परेका उजुरीमा सक्दो छिटो न्यायको प्रक्रिया अघि बढाइहरेको र अब मेलमिलापकर्ता पनि थपिएपछि पीडितले छिटो न्याय पाउने विश्वास व्यक्त गर्नुभयो ।

पुराना मुद्दा फरफारकका लागि विभागले प्रयास गरिरहेको बताउँदै महानिर्देशक भूसालले व्यक्तिगत ठगीको सन्दर्भमा न्यायको प्रक्रिया नै लामो हुने हुँदा केही ढिलाइ भए पनि न्यायका लागि विभागले प्रयास गरिरहेको बताउनुभयो ।

अब मेलमिलापकर्ता पनि विभागमा जोडिएपछि न्यायाधिकरणमा मुद्दा पठाउनु पर्ने र लामो समय न्यायका लागि पर्खिनुपर्ने अवस्थाको अन्त्य हुने र पीडितले सजिलै र छिट्टै राहत पाउने विभागको विश्वास छ ।

यदि कसैले मेलमिलापकर्ताबाट नगएर न्यायाधिकरणबाटै मुद्दा अगाडि बढाउन चाहेमा पनि सक्नेछन् । मेलमिलाप हुन नसक्ने अवस्थाका मुद्दाहरुलाई पहिलेकै तरिकाले न्यायाधिकरणमार्फत जान सकिने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया