कोरोनाको कारण विदेशमा अप्ठेरोमा परेकाको समस्या समाधान गर्न बन्यो छुट्टै संयन्त्र

 जेठ ६, २०७८ बिहिबार १६:५७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले कोरोना लगायत विभिन्न कारणले यो विषम परिस्थितिमा अप्ठेरोमा परेका श्रमिकको समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै गएको वर्षजस्तै श्रमिकहरूको समस्या नदोहोरियोस् भन्नका लागि तत्काल समस्या सम्बोधन हुने गरी संयन्त्र बनाइएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार मन्त्रीस्तरीय निर्णय अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकत्वमा परराष्ट्र मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक, विभागका महानिर्देशक र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिसहितको छुट्टै संयन्त्र बनाइएको हो । सञ्चारको पाटो भने वैदेशिक रोजगार बोर्डमा रहेको कल सेन्टरले गर्ने निर्णय भएको पनि उहाँले बताउनुभयो । 

‘कोरोना महामारीको कारण पुनः समस्याहरू सुरु हुन थालेका छन्, त्यसकारण यो टिमले विषेश गरी सम्बन्धित देशमा रहेका नेपाली नियोगसँग समन्वय गरी उद्धारको काम गर्नेछ,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो,‘समस्या आउनसाथ त्यसको समाधानतर्फ तत्काल यो संयन्त्रले काम गर्नेछ ।’

कोरोना सङ्क्रमण रोकथामका लागि उडानहरू बन्द भएपछि घर फर्कने तयारीमा रहेका नेपालीहरू श्रम गन्तव्य देशमा अड्किएका छन् । कतिपय त कम्पनीले तोकेको समयमा घर फर्कन नसक्दा अलपत्र जस्तै भइसकेका छन् । 

कार्यकारी निर्देशक श्रेष्ठका अनुसार अब यस्ता समस्या सम्बन्धित देशमा रहेको नेपाली नियोगसँगको समन्वयमा समाधान हुने छ भने नियोगले अनुरोध गरेको खण्डमा अलपत्र परेका श्रमिकको उद्धार र त्यहाँ रहँदासम्मका लागि खाने बस्ने व्यवस्थाका लागि समेत बोर्डले रकम पठाउने छ । 

महामारीको समयमा मात्र नभई सामान्य अवस्थामा पनि श्रमिक अलपत्र पर्दा नियोगको अनुरोधमा बोर्डले रकम पठाउने गर्छ ।

‘हामीले सामान्य अवस्थामा त रकम पठाउँदै आएका थियौँ, झन् यो विषम परिस्थितिमा कोही श्रमिक समस्यामा हुनुहुन्छ र उहाँको सुरक्षित स्वदेश फिर्तीका लागि नियोगले माग गरेको आधारमा बोर्डले सहयोग नगर्ने भन्ने कुरै हुँदैन,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ।

अब यो समयमा स्वदेश फर्कने नेपालीको तथ्याङ्क सङ्कलनको काम पनि विमानस्थलमा छुट्टै कक्षको स्थापना गरेर बोर्डले नै गर्नेछ । अहिले पनि वैदेशिक रोजगारीमा हिँडेका र फर्किएकाहरुलाई सही सूचना र जानकारी दिनका लागि बोर्डले सहायता कक्ष विमानस्थलमै सञ्चालन गरिरहेको छ ।

नेपाली श्रमिकको श्रम गन्तव्य देशहरूमा पनि फेरि कोरोना सङ्क्रमण बढ्न थालेको छ ।

1 Comments

  • Aakash bk

    May 26, 2021, 6:36 a.m.

    हामीहरु दिल्लीमा ६/७ जना बसिरहेका छौं, मालिकले पैसा पनि दिएको छैन , अनि खानलाई पनि पैसा छैन , हामी नेपाल आउन चाहन्छौं /

तपाईको प्रतिक्रिया