कतारसहित तीन देशमा नियमित उडान खोल्ने सरकारको निर्णय

 जेठ १४, २०७८ शुक्रबार ८:३९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि  चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।  

कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको उहाँले जानकारी दिनुभयो । तीनै देशबाट सातामा एउटा मात्र उडान हुने छ ।

एअर बबल सम्झौता अन्तर्गत अहिले पनि भारतमा सातामा दुई उडान नियमित रूपमा भइरहेको छ । आन्तरिक उडान खोल्नेबारे भने अहिले कुनै निर्णय भएको छैन । अहिले पनि सङ्क्रमण नघटेकाले अहिले नै आन्तरिक उडान खोल्नेबारे नसोचिएको मन्त्री ढकालले बताउनुभयो । 

अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् ।

मन्त्री ढकालका अनुसार, दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट लिएर आएकाहरूलाई १० दिन होम क्वरेण्टीनमा बस्ने सर्तमा आफ्नो घर जान दिइने छ । 

कसैले एउटा मात्र खोप लगाएको छ र पीसीआर परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वरेण्टीन बस्नुपर्नेछ । तीन दिन पछि परीक्षण गर्दा कोरोना नेगेटिभ आएमा यात्रु सम्बन्धित गन्तव्यमा जान पाउनेछन् । होटल क्वरेण्टीन खर्च भने आफैंले  बेहोर्नुपर्नेछ ।

एउटा पनि खोप नलगाएको तर पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएका यात्रुले भने १० दिनसम्म होटेल क्वरेण्टीनमा आफ्नै खर्चमा बस्नुपर्नेछ । त्यसपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा घर जान पाइनेछ ।  

यस्तै भारतीय दूतावासको अनुरोधमा सरकारले नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी पुर्याउनका लागि १० चार्डड उडान अनुमति पनि दिएको थियो । साउदी गएका यी जहाजले त्यहाँ ज्यान गुमाएका केही नेपालीको शव भने ल्याएको छ । 

नियमित उडान बन्द भएका बेलामा पनि विभिन्न एअरलाइन्सले चार्डड उडान भने गरिरहेका छन् ।

वैशाख २३ गते मध्यरात देखि भारत बाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको थियो ।

3 Comments

  • हरि गुरुङ

    May 29, 2021, 3:25 p.m.

    दुबै खोप लगाउनेलाई १० दिन होम क्वारेन्टाइन, एउटा खोप लगाएकालाई ३ दिन होटल, सुन्दा अलि नमिलेको जस्तो भएन र ? अलि विचार गरि निर्णय गरियोस न हजुर !

  • jaya prakash rana magar

    May 28, 2021, 7:45 p.m.

    नमस्कार ! म अहिले यु ए इ मा छु।मेरो दुई बर्सको करार सकिएको आज १४दिन भयो ।कोरोनाको कारण कम्पनीको बिजनेस नचलेको (काम कमाई नभएको )र मेरो करार पनि सकिएको हुँदा आजभन्दा दुई महिना अघि नै घर फर्कने सोंच गरेर कम्पनीसंग भिसा नथप्ने भनेर संझौता गरिसकेको हुँदा आफ्नो कुम्लो /कुटुरो तयार गरेर नेपाल फर्कने पर्खाइमा बसिरहेछु।मेरो अनुरोध छ नेपाल सरकारलाई अब हप्ताको २ वाट मात्रै भएपनी उडान खोल्नु पर्यो!!! म जस्तै अरु सयांै नेपाली घर फर्कने भनेर आफ्नो कुम्लो /कुटुरो बांधेर फ्लाईट को पर्खाइमा निराश भएर दिन बिताइरहेका छौँ ,,,

  • Manohar Shah

    May 28, 2021, 10:16 a.m.

    3 देशको लागि उडान नियमित भयो राम्रो कुरा हो तर खाडी लगायत अन्य गन्तब्य खोल्नको लागि प्रयास गरियोस भिसाको म्याद सकिन लाग्यो सरकार फेरि पनि नया साहुसङ बेचिन नपरोस।।।।

तपाईको प्रतिक्रिया