मर्नबाट जोगाउने त्यो पासो !

 माघ ९, २०७८ आइतबार १७:१४:२३
unn.prixa.net

कुसुम गुरुङ, गाेरखा ।

घरपरिवारको घृणा । विदेशबाट श्रीमानको शंका । काँधमाथि ऋणको भारी ।  यो सब सहन नसकेर गोरखाकी माया (नाम परिवर्तन)ले आत्महत्या गर्ने निधो गर्नुभयो । डोरी बोकेर बारीतिर जानुभयो । एउटा रुखको हाँगामा डोरी बाँधेर त्यसमै आफूलाई पासो लगाउनुभयो ।

मायालाई लागेको थियो, ‘यस्तो जिन्दगी बाच्नुभन्दा त मरेकै जाती ।’ तर जब भोलिपल्ट बिहान होस् खुल्यो, मायाले आफूलाई बारीको छेउमा रुखमुनि उत्तानो परेको पाउनुभयो । उहाँ आफैलाई सपना जस्तै लाग्यो । माथि हेर्नुभयो । पासो लगाउन हाँगामा बाँधेको डोरी लत्रिरहेको थियो । उहाँलाई विश्वास लागेन । अनि आफ्नै घाँटी मुसार्नुभयो । घाँटी चहर्यायो । अलि पीडा भयो । बल्ल उहाँको दिमागमा हिजोको कुरा याद आयो । उहाँ झसँग हुनुभयो ।

मायाको मर्ने चाहनालाई पासोले समेत साथ दिएन । घाँटीमा लगाइसकेको पासो चुडिएर उहाँ बाँच्नुभयो । त्यो दिन सम्झिँदै माया भन्नुहुन्छ, ‘ओहो ! त्यो दिन कुन भाग्यले बाचिएछ, मरेको भए त !’

ऋणको भार र आफ्नैको घृणा

३७ वर्षीया मायाका दुई छोरी र एक छोरा छन् । उहाँका श्रीमान वैदेशिक रोजगारीको क्रममा मलेसियामा हुनुहुन्छ । परदेशमा श्रीमानले कमाइ गरिरहेका थिए । गाउँमा मायाले घर व्यवहार सम्हाल्दै छोराछोरीलाई पढाइरहनुभएको थियो । जीवन सजिलै चलिरहेको थियो । त्यहीबेला मायाको भाइ भिरबाट लडेर घाइते भए । माइती पक्षबाट उपचार खर्च जुटाउन गाह्रो भएपछि माया आफैले भाइको लागि ऋण खोज्नुभयो । आफ्ना गहना पनि बेच्नुभयो ।

तर जब भाइ निको भए, कसैले पनि मायाको गुन सम्झेनन् । भएको गहनासमेत बेचेको र त्यसैमाथि ऋण परेको थाहा पाएपछि मलेसियामा रहेका मायाका श्रीमानको पनि मायासँग खटपट हुन थाल्यो । 

ऋण दिनेहरुले मायालाई पैसा माग्न थाले । पैसा माग्न घरमा आउनेहरुको चहलपहल हुन थाल्यो । ऋणको चाजो पाजो मिलाउन आफन्तकहाँ जाँदा मायाप्रति उहाँका श्रीमानको शंका बढ्दै गयो । घर छाडेर बाहिर अन्तै डुलेको देख्दा रिसले आगो भए । परपुरुषसँग हिँडी भन्ने आरोप आउन थाल्यो । त्यसपछि मायासँग बोल्न र पैसा पठाउन छोडिदिए ।  

घरकै मान्छेले घृणा गर्न थाले । जसको उपचारको लागि उहाँले ऋण खोज्नुभयो त्यही भाइले पनि साथ दिएन । यतिसम्म की आफ्नै सानी छोरीले पनि घर छाडेर जा भनेपछि उहाँलाई यो दुनियाँमा आफ्नो कोही छैन जस्तो लाग्यो । त्यहीबेला माया बिरामी पर्नुभयो । मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्नुपर्ने भयो । अरुबेला नबोले पनि बिरामी भएको बेला निकै न्यास्रो मानेर श्रीमानको एक शब्द सुन्न उहाँले धरै पटक फोन गर्ने प्रयास गर्नुभयो । फोन उठेन । शल्यक्रिया भएको तीन दिनपछि श्रीमानले बल्लतल्ल फोन त उठाए । तर हालखबर सोध्नुको साटो उताबाट गालीको वर्षा भएपछि उहाँलाई अब मर्नुको विकल्प अरु केही छैन जस्तो लाग्यो । त्यसपछि उहाँले मर्ने निधो गर्नुभएको हो ।

सामीको साथले जागेको आशा

भाग्यले साथ दिएर मर्नबाट त बचायो तर मनको बेचैनीले मायालाई राम्रोसँग जिउन पनि दिएको थिएन । मनमा खेलिरहने अनेक कुराहरु । निदाउन नसक्दाका रातहरु । के गरौँ र कसो गरौँ भन्दै छटपटीमै बितिरहेको थियो दिनचर्या । ज्यान दुब्लाएर झिनो भएको थियो । जिङ्रिङ्ग कपाल, दुब्लो शरीर र मैलो कपडामा झोक्राएर बस्ने आदत परिसकेको थियो । एक दिन सुरक्षित आप्रवासन परियोगना सामीका एक जना मनोपरामर्शकर्ताले मायालाई त्यस्तै हुलियामा भेटाउनुभयो । उहाँले मायालाई जिल्ला अस्पतालमा लिएर जानुभयो र मायाको उपचार भयो । योसँगै सामीको तर्फबाट नियमित मनोपरामर्श पाएपछि अहिले मायामा जीवउने आशा जागेको छ । सामीले नै घरपरिवारका अरु सदस्यसँग कुरा गरेर पारिवारिक मिलाप गराएको छ तर परदेशमा रहेका श्रीमान भने अझै मायासँग बोल्न मान्दैनन् । यति हुँदा पनि मायालाई एक दिन श्रीमानले आफ्नो यथार्थता बुझ्ने र आफूलाई स्वीकार्नेमा ढुक्क हुनुहुन्छ ।

मायाले विद्यालय छेउमा खाजा पसल खोल्नुभएको छ । त्यहीँबाट आएको खर्चले उहाँले छोराछोरी पढाइरहनुभएको छ । ऋण तिरिरहनुभएको छ । घरपरिवार र ऋणको पीडाले अँध्यारो छाएको मायाको अनुहारमा विस्तारै अचेल चमक देखिन थालेको छ । कुनै समय निराश भएर मृत्युको बाटो रोज्ने माया अहिले आशावादी भएर जीवनसँग लड्नुपर्ने पाठ सिकाउनुहुन्छ अरुलाई नि ।

(कुसुम गुरुङ सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत गाेरखामा मनाेपरामर्शकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । सामी परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुईपक्षीय परियोजना हो ।)

1 Comments

तपाईको प्रतिक्रिया