कन्सुलर सेवा विभागले अब पालिका तहबाट पनि सेवा दिने

 फागुन १, २०७८ आइतबार १६:९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

आफ्ना सेवाग्राहीलाई सहज होस् भनेर अनलाइन प्रणालीबाट सेवा दिन थालेको कन्सुलर सेवा विभाग अब पालिका तहबाटै पनि सेवा दिने तयारीमा जुटेको छ ।

सुरुमा कुरा गरौँ, कन्सुलर सेवाको । कुनै पनि देशका नागरिक अर्को देशमा जाँदा उनीहरुले पाउने सुविधा, कानुनी उपचार, उनीहरुको स्टाटस र आइपर्ने समस्याहरुका समग्र विषयलाई एक देशले अर्को देशमा कस्तो सेवा दिने, कुन प्रकारले व्यहार गर्ने, कुन हैसियतमा राख्ने भन्ने कुराहरु कन्सुलर सेवा अन्तर्गत पर्छन् । कन्सुलर सेवालाई सन् १९६३ मा जारी भियना महासन्धीले समेटेको छ । यस अन्तर्गतका काम गर्ने गरि हरेक देशमा स्थापित हुने कन्सुलर कार्यालय वा कन्सुलर सेवा विभाग, त्यो देशको परराष्ट्र मन्त्रालयको एउटा कार्यालयको रुपमा रहन्छ । 

कन्सुलर सेवा विभागले मुख्यता दुई प्रकारका काम गर्छ, कागजात प्रमाणीकरण र उद्धारको काम । कुनै पनि नागरिक जब विभिन्न प्रयोजन जस्तो, अध्ययन गर्न, व्यवसाय गर्न, घुमफिर गर्न, उपचार गर्न वा रोजगारीका लागि विदेश जान्छ, त्यतिबेला उसले अर्काको देशमा जाँदा आफ्नो बारेमा परिचय स्थापित गर्नुपर्ने हुन्छ । त्यसैले परिचय स्थापित गर्न, कामलाई आवश्यक पर्ने कागजातहरुको प्रस्तुतिका लागि नेपालका कुनै पनि निकायबाट जारी गरिएका कागजातलाई नेपालका आधिकारिक कागजात हुन् भनि प्रमाणीकरण गर्ने काम कन्सुलर सेवा विभागले गर्छ । त्यसपछि मात्र ती कागजातहरु अन्य देशमा ग्राह्य हुन्छन् । यसलाई कन्सुलर प्रमाणीकरण भनिन्छ । यो कन्सुलर सेवा विभागको प्रमुख काम हो ।

यस्तै यस विभागले उद्धारको काम पनि गर्छ । जब कुनै व्यक्ति कुनै पनि प्रयोजनका लागि विदेशमा जान्छ, त्यहाँ विभिन्न प्रकारका समस्याहरु आउन सक्छन् । विदेशमा ठगीन सक्छ, कुनै कसुरमा जेल पर्न सक्छ, घाइते हुन सक्छ, उसको मृत्यु पनि हुन सक्छ । यी सबै परिस्थितिमा त्यो व्यक्तिको हकहितको रक्षा गर्ने, विदेशमा नेपालीलाई परेको समस्याबाट छुटकारा दिलाउने, घाइते भयो भने उपचार गर्ने, अलपत्र पर्यो भने उद्धार गर्ने, कुनै कारणले मृत्यु भयो भने शव व्यवस्थापन गर्ने वा परिवारको इच्छाअनुसार नेपाल फर्काउने काम पनि विभागले गर्छ  । र श्रमिक आफ्नो कार्यक्षेत्रमा हुँदा उसलाई समस्या परेमा व्यक्ति आफैले वा उसका परिवारले उद्धार गरिपाउँ भनि विभागमा निवेदन दिएमा त्यसको कानुनी रुपमा प्रमाणीकरण गरि सम्बन्धित देशमा रहेको नेपाली दूतावाससँग समन्वय गरि उद्धार तथा क्षतिपूर्ति दिलाउन पनि कन्सुलर सेवा विभागले सहयाेग गर्छ । यसरी यी सबै कामको लागि कन्सुलर सेवा विभागले केन्द्रीय संयोजनको भूमिका खेल्छ ।

अनलाइन तथा स्थानीय तहबाटै सेवा

कन्सुलर सेवा विभाग स्वरुपका हिसाबले काठमाण्डौमा मात्रै केन्द्रित हुने कार्यालय हो । यसको कुनै शाखा छैन । प्रदेशमा कार्यालय छैन । तर यसका सेवाग्राही भने विदेशमा पुगेका सबै नेपाली नागरिक हुन्छन् । त्यसैले माथि उल्लेखित सेवाहरु कसरी सेवाग्राहीसम्मै पुर्याउने, कसरी उहाँहरुले आफ्नो नजिकमा यी सेवा पाउने भन्नको लागि विभाग लागिरहेको छ ।

केही समय पहिलेसम्म यी सेवा लिनको लागि काठमाण्डौमा रहेको कन्सुलर सेवा विभागमै आउनुपर्ने बाध्यता थियो । यो निकै खर्चिलो थियो, कठिन थियो । दार्चुला होस् या ताप्लेजुङ, सबै जिल्लावासीले कन्सुलर सेवा लिन काठमाण्डौमै आउनुपथ्र्यो । कोरोना कालमा पनि दैनिक १२ देखि १५ सयसम्म सेवाग्राही काठमाण्डौमै आउनुहुन्छ । तर कन्सुलर सेवा विभागले यो आर्थिक वर्षमा नयाँ कार्ययोजना कार्यान्वयन गर्ने गरि एउटा अवधारणको विकास गरेर दुई चरणमा बाँडेको छ । पहिलो, स्थानीय तहसँग कन्सुलर सेवा प्रवाहमा सहकार्य । दोस्रो, विभागका सेवालाई अनलाइनमार्फत प्रवाह गर्ने । 

अनलाइनको काम २०७८ को भदौ १३ गतेदेखि सुरु भइसक्यो । स्थानीय तहसँगको सहकार्यको काम भदौ २५ देखि पहिलो चरणमा काठमाण्डौमा रहेका सबै पालिकाबाट सुरु गर्यौँ । त्यसपछि पुसको १९ गते मधेस प्रदेशको वीरगञ्जमा चारवटा जिल्लालाई समावेश गरेर गर्यौँ । २१ गते बाँकी रहेका मधेस प्रदेशका चार वटा जिल्ला तथा जिल्लाका पालिकाहरुलाई समावेश गरेर गर्यौँ । त्यसैगरि फागुनको ४ गते चितवनमा चार जिल्लालाई, ६ गते बुटवलमा ४ जिल्लालाई, ८ गते दाङमा ४ जिल्लालाई गर्ने गरि कार्यक्रम तयार गर्दैछौँ । तोकिएका जिल्ला र पालिकाहरु कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा जोडिने छन् । यसैबाट सम्पूर्ण कागजातहरुको निवेदन पालिकाबाटै दिन मिल्छ र निवेदन दिनकै लागि काठमाण्डौसम्म आइरहनुपर्ने बाध्यताको अन्त्य हुनेछ । 

तर कतिपय कागजातहरु कस्ता हुन्छन् भने, त्यो देशको कानुनले तोकेका आधारमा, त्यहाँको अदालतले तोकेको ढाँचामा कागज बनाइ सक्कलै बुझाउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा हामीले त्यो जिल्लामा रहेको हुलाकले आफ्नो द्रूत डाँकसेवामार्फत हामीसम्म ल्याइदिने भन्ने व्यवस्थापन गर्दैछौैँ । र हामीले के काम गर्याैँ र हाम्रो निर्देशन अनुसार विदेशमा रहेका नियोगहरुले के काम गरे भन्ने कुरा अब सेवाग्राहीले पनि हेर्न पाउँछन्, पालिका तथा जिल्ला प्रशासनले पनि हेर्न पाउँछ । 

यस्तै अनलाइनबाट सेवा लिन विभागको वेबसाइटमा जानुपर्छ । ती सबै सेवाहरु हामीले वेबसाइटमै राखिदिएका छौँ । सेवाग्राहीले आफ्नो फोन नम्बर, पासपोर्ट नम्बर वा नागरिकता नम्बरबाट निवेदन दिन सक्छन् । तर नेपालमा सबै नागरिकले सजिलै अनलाइन चलाउन सक्दैनन् । जसका कारण सानो कामको लागि फेरि काठमाण्डौमै पुग्नुपर्ने बाध्यता रहन्छ । त्यसको लागि जिल्ला तथा पालिकास्तरमै यो सेवा विस्तार गरेका हौँ । यिनै कुराहरुलाई समेटेर कन्सुलर सेवा एप पनि ल्याउने हाम्रो तयारी छ ।

यस्तै विदेशमा रहेका नेपाली नागरिकलाई पनि सजिलै सेवा लिन सक्ने गरि भाइबर र ह्वाट्सअपबाट पनि सेवा प्रदान गर्ने तयारी भइरहेको छ । कुनै पनि सेवाग्राही तथा पीडितका परिवारले फोन गरेर वा भाइबर, ह्वाट्सअपमार्फत सेवा लिन सक्नुहुन्छ । त्यसबाट नै उहाँलाई कहाँ जाने, के गर्ने लगायतका जानकारी प्रदान गरिनेछ ।

(कन्सुलर सेवा विभागका महानिर्देशक धनबहादुर वलीसँग गरिएकाे कुराकानीमा आधारित ।)
 

तपाईको प्रतिक्रिया