बेलायत रोजगारी : श्रम समझदारी कार्यान्वयनको ढाँचा छलफलकै क्रममा

 भदौ १५, २०७९ बुधबार १३:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी दिने गरी बेलायत र नेपालबीच श्रम समझदारी पत्रमा भदाै ६ गते हस्ताक्षर भयाे । यो श्रम समझदारीपछि सरकारी प्रक्रियाबाटै नेपालका स्वास्थ्यकर्मी बेलायत रोजगारीमा जान पाउने बाटो खुला भएको छ ।

नेपाल र बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भइसके पनि त्यसको कार्यान्वयनका कतिपय विषय भने छलफलकै चरणमा रहेको छ । स्वास्थ्यकर्मी भनिए पनि सुरुवाती चरणमा नेपाली नर्सलाई मात्र बेलायत पठाउने तयारी छ । 

सरकार सरकारबीचको प्रक्रिया

नेपाल र बेलायतबीच नेपालका स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारी प्रदान गर्ने गरी श्रम समझदारी भएको हो । यो समझदारीले सरकार सरकारबीचको प्रक्रियामार्फत बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी लैजाने बाटो खुलेको छ ।

नेपालबाट स्वास्थ्यकर्मी बेलायत पठाउन नेपालमा वैदेशिक रोजगार विभाग र बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसियल केयरलाई आधिकारिक निकाय तोकिएको छ । यी दुई निकायले तोकिएको विधि र प्रक्रिया अनुसार भर्ना प्रक्रियाको काम गर्ने छन् । 

दुई देशबीच भएको श्रम समझदारीको कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल)बारे अहिले दुई देशबीच छलफल भइरहेको छ । दुईदेशको सहमतीमा नै कार्यान्वयनको ढाँचा बन्ने छ । 

कस्तो होला कार्यान्वयनको ढाँचा

दुई देशले संयुक्त रूपमा बनाउने कार्यान्वयनको ढाँचामा बेलायत पठाउने स्वास्थ्यकर्मीको छनोट, पदस्थापन र सेवा सुविधासम्बन्धी मापदण्ड लगायतका कुराहरू उल्लेख हुनेछ ।

बेलायतमा नेपाली नर्सहरूलाई पठाउने विधि र प्रक्रियाबारे छलफलकै चरणमा भए पनि सामान्यतया बेलायत रोजगारीको लागि २० देखि ४५ वर्ष उमेर समूहको हुन पर्ने छ । स्टार्फ नर्स, ब्याच्लर डिग्री इन नर्सिङ, बीएससी, बीएन र मास्टर्स इन नर्सिङ गरेकाहरूले बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्न जान पाउनेछन् । नेपाल नर्सिङ काउन्सिलबाट व्यवसायीक लाइसेन्स लिएको र मान्यताप्राप्त अस्पतालमा २ वर्ष काम गरेको अनुभव हुन पर्ने छ । 

अङ्ग्रेजी भाषाको सन्दर्भमा भने आइएलटिएसमा ७ स्कोर हुनुपर्ने छ भने ओइटी गरेकोहरुको रिडिङ, राइटिङ र लिस्निङ सेक्सनमा गरी बी र राइटिङमा सी प्लस हुन पर्नेछ । 

भर्ना प्रक्रिया

बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्नका लागि बेलायत सरकारले तोकेको योग्यता पुगेको उम्मेदवार वैदेशिक रोजगार विभागमा अनलाइन माध्यममार्फत नै आवेदन दिन सक्नेछन् ।

बेलायत रोजगारीमा कसरी पठाउने भन्नेबारे विस्तृत जानकारी अहिले आएको छैन । भर्नाको प्रक्रिया सुरु भएपछि सरकारले सूचना जारी गर्ने छ । सरकारले जारी गरेको सूचना अनुसार नै प्रक्रिया अघि बढाउन पर्छ । 

भर्ना प्रक्रिया सुरु भएपछि वैदेशिक रोजगार विभागको वेबसाइटमा नै आवेदन दिने प्रक्रिया र अनलाइन प्ल्याटर्फम उपलब्ध हुनेछ । आवेदनकर्ताले अनलाइन माध्यमबाट नै सबै आवश्यक कागजात पेश गर्न सक्नेछन् ।

अनलाइनमार्फत आवेदन दिएकाहरूको प्रारम्भिक छनौट हुनेछ । प्रारम्भिक छनौटमा परेकाहरू तोकिएको मिति, समय र ठाउँमा आफैँ उपस्थित हुन पर्नेछ । त्यसपछि अन्तिम सूचीमा परेकाहरूलाई अन्तरवार्ता लगायत थप परीक्षामा सहभागी गराइने छ । भर्ना प्रक्रियाको सबै चरण पास भएकाहरूको स्ट्याडर्ड इम्प्लोइमेन्ट कन्ट्रयाक हुने छ र त्यसपछि श्रम स्वीकृतिको प्रक्रिया अघि बढ्ने छ ।   

निःशुल्क जान पाइने

नेपाल सरकार र बेलायत सरकारबीच जीटूजी प्रक्रिया अनुसार श्रमिकहरू पठाउने भएकाले जानेले शुल्क तिर्न नपर्ने कुरा श्रम समझदारीमा नै उल्लेख गरिएको छ ।

नेपाल सरकारले पछिल्लो समय शून्य लागतमा नेपाली श्रमिक वैदेशिक रोजगारीमा पठाउने नीति लिएको छ । यही नीति अनुसार नै नेपाल र बेलायतबीच पनि श्रम समझदारी भएको छ । बेलायत रोजगारीको पूरा प्रक्रियामा कुनै पनि तेस्रो पक्षको संलग्नता हुने छैन । सम्पूर्ण प्रक्रिया दुई देशका सरकारबीच नै हुनेछ ।

बेलायतमा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीले पनि त्यहाँका स्वास्थ्यकर्मी सरह नै सेवा सुविधा पाउने श्रम मन्त्रालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया