सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुभएको छ ? यसरी लिनुहोस् मोबाइल एपबाटै सेवा

 भदौ १५, २०७९ बुधबार १६:३३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यही भदौ १ गतेदेखि सामाजिक सुरक्षा कोषले ‘सामाजिक सुरक्षा एप’ पनि ल्याएको छ । कोषमा रकम जम्मा गर्ने योगदानकर्ताले सामाजिक सुरक्षा एपबाटै १३ किसिमको सेवा लिन सक्छन् । हुन त कोषले आफ्नो धेरैजसो सेवाहरू अनलाइनबाटै लिन मिल्ने व्यवस्था नगरेको होइन । तर कार्यालयमा उपस्थित नै नभई एपबाटै सेवा लिन सक्ने गरी मोबाइल एप ल्याएको कोषले जनाएको छ ।

कसरी चलाउने कोषको मोबाइल एप

कोषको ‘सामाजिक सुरक्षा एप’ अहिले एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमा उपलब्ध छ । तत्कालका लागि सामाजिक सुरक्षा कोषकै वेबसाइटमा गई डाउनलोड मेनुमा क्लिक गरेर पनि चलाउन सकिन्छ। 

मोबाइलमा एप डाउनलोड गरेपछि त्यसमा दर्ता हुन पर्छ । दर्ता हुनका लागि सामाजिक सुरक्षा कोषमा दर्ता हुँदाको नम्बर, आफ्नो मोबाइल नम्बर र जन्म मिति राख्न पर्छ । यी तीन कुरा राखेपछि यी तीनै कुरा मेल खाएमा मोबाइलमा एउटा ओटिपि कोड आउँछ । यो कोड राखेर अघि बढेपछि तपाईँले आफूले चाहेको पासवर्ड सेट गरी एप चलाउन सकिन्छ । मोबाइल एप चलाउन पनि आफूले केवाइसी अपडेट गर्न पर्छ । 

मोबाइल एपमा दर्ता भएपछि एपबाटै आफू कुन कुन सेवा लिनका लागि योग्य छु भन्ने जानकारी पाउन सकिन्छ । जस्तै यदि स्वास्थ्य उपचारसम्बन्धी सेवा पाउन योग्य भएमा त्यो सेवामा एक्टिभ देखाउँछ । पाउन नसक्ने भएमा अनएक्टिभ देखाउँछ । 

मोबाइल एपबाटै आफ्नो पछिल्लो पटक योगदान रकम कहिलेसम्म भयो, अहिलेसम्म कति जम्मा भयो, ब्याज कति आयो भन्ने विवरण पनि जानकारी पाउन सकिन्छ । जम्मा रकमबाट आफूले कति रकम निकाल्न मिल्छ भन्ने जानकारी पनि पाउन सकिन्छ । 

ल्यापटप नखोली एपबाटै सुत्केरी बिदा, बिरामी बिदा, मातृत्व हेरचाह बिदा लगायतको पैसाको दाबी पनि गर्न सकिन्छ । एपबाटै विशेष सापटीका लागि आवेदन दिन सकिन्छ । कोषले एपबाटै आएको आवेदनलाई आधिकारिक मानी माग अनुसारको सापटी रकम उपलब्ध गराउँछ । 

यदि पैसा झिक्ने हो भने पनि  २०७८ असारभित्रै योगदान रकम जम्मा गर्न थालेको हो भने निवृत्तिभरण योजनाको पैसा पनि अवकाश योजनामा मोबाइल एपबाटै सार्न मिल्छ । र त्यो पैसा निकाल्नका लागि मोबाइल एपबाटै आवेदन दिन मिल्छ । 

कोषले उपलब्ध गराउने विशेष सापटी लिनको लागि ३६ महिना कोषमा नियमित योगदान रकम जम्मा गरेको हुनुपर्छ । योगदानकर्ताको अवकाश योजनामा ५० हजारभन्दा बढी रकम छ भने विशेष सापटीका लागि आवेदन दिन सकिन्छ ।

विशेष सापटीका लागि आफू योग्य छु कि छैन भनेर एपबाटै हेर्न सकिन्छ । यस्तै आफू रहेको नजिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएको कुन अस्पताल छ भनेर पनि थाहा पाउन सकिन्छ । 

यी हुन् कोषबाट पाइने सेवा सुविधा

असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार भन्ने नाराका साथ सुरु भएको सामाजिक सुरक्षा कार्यक्रम योगदानमा आधारित छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु भनेको आयको निरन्तरता हो पनि भनिन्छ । 

कामको दौरानमा दुर्घटनामा पर्न सक्ने, मृत्यु हुन सक्ने, बिरामी हुँदा जुन खर्च हुन्छ त्यो बेहोर्न, आयको निरन्तरता हुने र रिटायरमेन्टपछि पनि बाँचुन्जेल पाउने सुविधाहरूको कारणले गर्दा योगदानमा आधारित भए पनि यो श्रमिकको हितमा छ । 

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताको तर्फबाट रोजगारदाताले आधारभूत पारिश्रमिकको ३१ प्रतिशतले हुन आउने रकम जम्मा गर्नुपर्छ । त्यसमा रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत रकम जम्मा हुन्छ ।

कोषमा आबद्ध भएर नियमित रकम जम्मा गर्नेहरूले औषधि उपचार, स्वास्थ्य, मातृत्व सुरक्षा, दुर्घटना, अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाहरू कोषले कार्यान्वयनमा ल्याएको छ । कोषले योगदानकर्ताका लागि लागू गरेको पहिलो भनेको औषधि उपचार स्वास्थ्य र मातृत्व सुरक्षा योजना हो ।

जसअन्तर्गत कोषमा सहभागी हुनेहरूको निम्ति वार्षिक एक लाख रुपैयाँ सम्मको औषधि उपचारको भुक्तानी कोषले गर्छ । औषधि उपचारभित्र ओपिडीमा उपचार गरेको छ भने त्यसको २० हजारसम्म कोषले भुक्तानी गर्छ भने ओपिडी गरेको छै र आइपीडी भर्ना भएरै गरेका उपचारको एक लाख रुपैयाँसम्मको भुक्तानी गर्छ । 

मातृत्व सुरक्षा अन्तर्गत पुरुष योगदानकर्ताको पत्नी वा महिला योगदानकर्ता गर्भवती भई नियमित गर्भ परीक्षण गराउँदाको खर्च कोषले उपलब्ध गराउँछ । त्यस्तै अस्पताल भर्ना भई प्रसूति शल्यक्रिया वा उपचार गराउँदाको खर्च, अस्पतालमा सुत्केरी हुँदाको खर्च कोषले बेहोर्छ । सुत्केरी भएको छ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित उपचार खर्च तथा तीन महिनासम्मको शिशु उपचार बापतको खर्च पनि कोषले बेहोर्छ ।

योगदानकर्ता महिला भएको खण्डमा प्रसूति बिदाबापत ६० दिनभन्दा माथिको थप ३८ दिनसम्मको भुक्तानी आधारभूत पारिश्रमिकको ६० प्रतिशत पाइन्छ । 

दोस्रो स्किम भनेको दुर्घटना र अशक्तता हो । दुर्घटनालाई दुई किसिमले हेर्न सकिन्छ । कामको सिलसिलामा भएको दुर्घटना र कामको सिलसिलाबाहेक बाहिर भएका दुर्घटना । कामको सिलसिलामा भएको खर्च हो भने सम्पूर्ण उपचार खर्च कोषले बेहोर्छ ।

अफिसको कामको सिलसिलाभन्दा बाहिर भएको हो भने सात लाख रुपैयाँसम्मको उपचार खर्च कोषले बेहोर्छ । अशक्तताको सन्दर्भमा आजीवन हो कि, पूर्ण वा अर्ध अशक्त हो त्यसको आधारमा हुन्छ । यदि पूर्ण अशक्त हो भने बेसिक स्यालरीको ६० प्रतिशतले हुन आउने रकम मासिक पेन्सनको रूपमा पाइन्छ । हरेक तीन वर्षमा विमांकीय मूल्याङ्कन भएपछि त्यो रकम पनि बढ्दै जान्छ ।

तेस्रो स्किम भनेको आश्रित परिवार सुरक्षा योजना हो । आश्रित परिवार सुरक्षा भनेको कोषमा नियमित योगदान गर्ने योगदानकर्ताको कुनै पनि कारणले निधन भयो भने योगदानकर्ताको श्रीमान् वा श्रीमतीले अन्तिम तलबको ६० प्रतिशतले हुन आउने रकम आजीवन रूपमा पाउँछन् । यस्तै बेसिक स्यालरीको ४० प्रतिशत हुन आउने रकम बालबच्चालाई शैक्षिक वृत्ति भनेर कोषले उपलब्ध गराउँछ । 

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगका कारण अस्थायी पूर्ण अशक्त भएको अवस्थामा श्रमिक काममा नफर्किँदासम्म आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बिदा अवधिको भुक्तानी पाइन्छ । 

आंशिक अशक्तता भएको अवस्थामा अशक्तताको प्रतिशतको आधारमा उपचार खर्च पाइन्छ । पूर्ण अशक्तता भएको अवस्थामा आधारभूत पारिश्रमिकको ६० प्रतिशत आजीवन अशक्तता वृत्ति पाइन्छ । 

वृद्धावस्था सुरक्षा योजनामा जम्मा भएको रकम तथा त्यसले आर्जन गरेको प्रतिफल एकमुष्ट फिर्ता पाइन्छ । 

योगदानकर्ताको अवकाश उमेर पूरा भएपछि निवृत्तिभरण योजनामा जम्मा भएको रकम र त्यो रकम कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना योगदानकर्ताको जीवनकालभर निवृत्तिभरण पाइन्छ ।

अवकाश सुविधा योजना अन्तर्गत कोषमा जम्मा भएको रकम  र त्यसमा प्राप्त प्रतिफल समेत जोडी हुन आउने रकम योगदानकर्ता अवकाश हुँदा वा उसको रोजगारीको अन्त्य भएको अवस्थामा पाइन्छ । योगदानकर्ताको मृत्यु भएको अवस्थामा उसको हकवालाले एकमुष्ट भुक्तानी पाउने व्यवस्था छ । 

सापटी योजना

योगदानकर्ता विशेष सापटी

कोषमा कम्तीमा ३६ महिना नियमित योगदान रकम जम्मा गरेका र उमेर वा सेवाका अवधिका आधारमा अवकाश हुन कम्तीमा दुई वर्ष सेवा अवधि बाँकी रहेका योगदानकर्तालाई कोषले विशेष सापटी प्रदान गर्छ । 

यो सापटी अन्तर्गत योगदानकर्ताको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशतसम्म सापटी लिन सक्छन् । 

विशेष सापटी योगदानकर्ताले मासिक तलबबाट कट्टी गरी वा कोषले तोकेको बैङ्क खातामा पटक पटक वा एकै पटक जम्मा गरी तिर्न मिल्ने व्यवस्था छ ।

घर कर्जा 

कोषका निरन्तर ३६ महिनासम्म पैसा जम्मा गरेका योगदानकर्ताले नयाँ घर निर्माण गर्न, खरिद गर्न अथवा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न पनि घर सापटी पाउँछन् । त्यस्तै घर मर्मत गर्न र संयुक्त आवासमा युनिट खरिद गर्न पनि सापटी पाइन्छ । 

घर सापटी स्वीकृत गर्दा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी योगदानकर्ताको १५ वर्षको तलब, योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलब वा ७५ लाख रुपैयाँमध्ये जुन कम हुन्छ त्यही रकम घर कर्जाका लागि कोषले उपलब्ध गराउँछ । 

 शैक्षिक सापटी

योगदानकर्ताले पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययनका लागि शैक्षिक सापटी उपलब्ध गराउँछ । यस्तो सापटी बढीमा ३५ लाख रुपैयाँसम्म उपलब्ध गराउने कोषले जनाएको छ। 

सामाजिक कार्य सापटी

योगदानकर्ता आफू वा एकाघर सगोलको परिवार सदस्यको सामाजिक कार्य जस्तै विवाह, व्रतबन्ध लगायत कामका लागि कोषबाट यो सापटी लिन सकिन्छ । सामाजिक कार्य सापटी भनेर कोषले पाँच लाख रुपैयाँसम्म उपलब्ध गराउँछ । 

22 Comments

तपाईको प्रतिक्रिया