सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्तिमा अन्योल, सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न

 बैशाख ३, २०८१ सोमबार ९:४१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दुईजनाको दाबी परेपछि नियुक्तिमा अन्योल भएको छ । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेस भएपछि प्रदेश प्रमुख नजिर मियाँलाई मुख्यमन्त्री नियुक्तिमा निर्णय गर्न समस्या भएको हो । रेशम चौधरी पक्षका लक्ष्मणकिशोरलाई कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थन छ ।

यस्तै रञ्जिता श्रेष्ठ पक्षका कैलाशलाई एमाले र माओवादीको समर्थन छ । ५३ सदस्यीय सुदूरपश्चिममा बहुमतको लागि २७ जना सांसदको आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र एकीकृत समाजवादीका ४ जना सांसद छन् । त्यस्तै, राप्रपाका एकजना र एकजना स्वतन्त्र सांसद छन् ।

मुख्यमन्त्रीमा दावी गर्ने नागरिक उन्मुक्ति पार्टीका दुवैजनाले आफ्नो पार्टीका सात जनाको समर्थन रहेको बताएका छन् । मुख्यमन्त्रीमा दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँ तत्काल ‘पर्ख र हेर’ को रणनीतिमा हुनुहुन्छ । आवश्यक परे भौतिक उपस्थिति गराएर सांसदको सनाखत गर्ने उहाँको तयारी छ ।

नागरिक उन्मुक्तिको विवादले सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योलसँगै केन्द्रको सत्ता गठबन्धनमा पनि खटपट ल्याएको छ । आफ्नै पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हिजो नै प्रदेश प्रमुखको कार्यालय पुगेर पार्टीको आधिकारिक उम्मेदवार कैलाश चौधरी भएको बताउनुभएको छ ।

पूर्वसहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नपाएको भन्दै एकीकृत समाजवादीले सत्तागठबन्धनमा बिद्रोह गरेको हो । उसको बिद्रोहले सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न उठेको छ । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया