तराईमा गर्मीले जनजीवन कष्टकर, धनगढी र नेपालगञ्जमा सबैभन्दा धेरै गर्मी

 जेठ १७, २०८१ बिहीबार ७:१०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – तराई मधेशका जिल्लामा गर्मी बढेको छ । पश्चिम तराईका कतिपय ठाउँमा अधिकतम तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । हिजो धनगढीको तापक्रम ४३ दशमलव ३ र नेपालगञ्जको तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ ।

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधवार २८ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिनुभयो । गएको वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।

यस्तै नेपालगञ्जमा हिजो यसवर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय, नेपालगञ्जकी इञ्जार्च मीना शिवाकोटीले  नेपालगञ्जको अधिकतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस पुगेको र यो  वर्ष गर्मी शुरु भएयताकै सबैभन्दा धेरै भएको बताउनुभयो ।

आज र भोलि अझै गर्मी बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अत्यधिक गर्मीका कारण सबैभन्दा बढी खुला ठाउँमा काम गर्ने मजदुर र रिक्साचालक प्रभावित भएका छन् । गर्मी बढिरहँदा नेपालगञ्जमा विद्युत् नियमित नहुँदा नागरिकले ठूलो सास्ती खेप्न बाध्य भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अघिल्लो हप्ताको हावाहुरीले ठूलो क्षति पुगेपछि विद्युत् वितरणमा समस्या भएको र केही दिनमा समस्या समाधान हुने बताउनुभयो । नेपालगञ्जसहित तराई, मधेशका धेरै ठाउँमा बजार र ग्रामीण क्षेत्रमा समेत मानिसको चहलपहल घटेको छ । गर्मी बढेपछि तराई मधेशका धेरै पालिकाहरुले विद्यालयमा बिदा दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले केही दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । गर्मी बढेकाले काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, बेलाबेला पानी र सर्वत तथा फलफूलको जुस पिउन प्रकोप विज्ञहरुको सुझाव छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया