उच्च गर्मी रहेको पश्चिम तराईमा बिहीवारसम्म पानी पर्ने सम्भावना कम

 जेठ १९, २०८१ शनिबार ७:१३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अत्यधिक गर्मी कायमै छ । ती क्षेत्रमा विगत केही दिनदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ । आज र भोलि पनि पश्चिम तराई क्षेत्रमा मौसम सफा रहने अनुमान छ । मौसम सफा हुँदा अत्यधिक गर्मीको सम्भावना कायमै रहेको, केही दिनदेखि तातो हावा चलेको हुँदा आवश्यक तयारी तथा सतर्कता अपनाउन मौसमविद्को सल्लाह छ ।

कृषि मौसम सल्लाह बुलेटिनकाअनुसार देशका पश्चिमी क्षेत्र लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा यो हप्ताभरी नै पानी पर्ने सम्भावना निक्कै कम छ । अर्थात् आजदेखि आउँदो बिहीवारसम्म पश्चिम तराईमा पानी पर्ने सम्भावना कम छ ।

हप्ताको मध्य र अन्तिमतिर गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका एक/दुई ठाउँमा साथै कोशी, मधेश र बाग्मतीको थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका पहाडी क्षेत्रमा थोरै ठाउँमा भने यो हप्ता पनि मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र बाग्मतीका थोरै ठाउँ तथा बाँकी पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तर प्रदेशदेखि बङ्गगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । यसपाली मनसुनमा भने सरदर भन्दा धेरै वर्षाको सम्भावना छ ।

सम्भावित जोखिम न्यूनिकरणका लागि कृषि कर्म गर्दा पूर्वतयारी गर्न किसानलाई कृषि विज्ञको सल्लाह छ । धानबालीको तयारीमा रहेका किसानलाई सुख्खा र डुबान सहन सक्ने गरि सिफारिस गरिएका धानका जातहरु छनोट गर्न सल्लाह छ । किसानले ठाउँअनुसार सिफारिस गरिएका धानका उन्नत जातको छनोट गर्न सक्नेछन् ।

कृषि मौसम सल्लाह बुलेटिन नेपाल कृषि अनुसन्धान परिषद् नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा तयार पार्छ ।

बुलेटिनले हप्ताको शुरु शुक्रवार र शनिवार, मध्य भन्नाले आइतवार, सोमवार र मङगलवार तथा अन्त्य भन्नाले बुधवार र बिहीवारलाई जनाउँछ ।


 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया