कोप–२९ उपलब्धिमूलक बनाउन ६ एजेन्डा प्राथमिकतामा

 असोज ७, २०८१ सोमबार १२:३४:२२ | रासस
unn.prixa.net

रासस

काठमाण्डौ – आउँदो कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २९औं सम्मेलन (कोप–२९) लाई उपलब्धिमूलक बनाउन सरकारले तयारी थालेको छ ।

जलवायुजन्य जोखिम न्यूनीकरण गर्न सरकारले मुख्य ६ वटा एजेन्डालाई उच्च प्राथमिकता दिएर तयारी थालेको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आउँदाे कोपमा नेपालको हितका लागि एजेन्डा लिएर प्रस्तुत हुने जानकारी दिनुभएको छ ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कार्बन व्यापारबाट नेपालले फाइदा लिन नसकिरहेकाले कार्बन व्यापारको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न दबाब दिने बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा. बुद्धिसागर पौडेलले जलवायु वित्त, जलवायुजन्य हानि/नोक्सानी न्यूनीकरण, कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशितासम्बन्धी ६ वटा विषयगत कार्यपत्र तयार गरेको जानकारी दिनुभयो ।

गएको वर्ष यूएईको दुबईमा भएको कोप–२८ मा स्थापना गरिएको जलवायुजन्य हानि–नोक्सानीसम्बन्धी कोषको प्रभावकारी कार्यान्वयनका लागि दबाब दिने पौडेलले जानकारी दिनुभयो ।

जलवायुविद् बटुकृष्ण उप्रेतीले जलवायु वित्त, कार्बन व्यापार, पर्वतीय मुद्दालगायतका विषयवस्तु प्राथमिकतामा राखेर तय गरिएको एजेन्डा राम्रो भएको भन्दै यी एजेन्डा सम्बोधन हुन सकेमा नेपालका लागि उपलब्धि हुने बताउनुभयो । उप्रेतीले कार्बन व्यापारको चर्चा चुलिएजस्तो नेपालले उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो । उहाँले आउँदाे कोपमा कार्बन व्यापारको मुद्दा जोडबलका साथ उठान गर्न सुझाव दिनुभयो ।

कोपमा जलवायु अनुदान बढाउन धनी देशलाई नेपाललगायतका विकासोन्मुख देशले दबाब दिँदै आइरहेको छ । अन्तर्राष्ट्रियस्तरबाट जलवायु वित्त जुटाउन नसके नेपाललगायतका विकासोन्मुख देशले बनाएको जलवायु नीति कार्यान्वयन गर्न सम्भव नहुने जलवायु व्यवस्थापनविद् डा. धर्मराज उप्रेती बताउनुहुन्छ ।

अन्तिम अपडेट: असोज ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया