विश्व पर्यटन दिवस मनाइँदै, नेपालमा मुख्य पर्यटकीय सिजन शुरू

 असोज ११, २०८१ शुक्रबार ८:४२:३३ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ  – आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको  प्रवर्द्धन ’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

दिवसका अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आएका पर्यटकलाई स्वागत, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवम् संस्थालाई सम्मान, प्रभातफेरी, रक्तदानलगायत कार्यक्रम आयोजना गरिँदैछ । दिवसकै सन्दर्भमा प्रसिद्ध पर्यटकीय क्षेत्र ठमेलमा आज ‘ठमेल नखः’ महोत्सव हुँदैछ ।

ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । ठमेल पर्यटन विकास परिषद् र दी काठमाण्डौ पोष्टको सहकार्यमा हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको अद्धितीय संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताउनुभयो ।

पर्यटन दिवसलाई लक्षित गरेर ‘नेपाल हस्पिटालिटी कन्क्लेभ’ को दोस्रो संस्करण काठमाण्डौमा हिजोदेखि शुरू भएको छ । नेपाली आतिथ्यता क्षेत्रको विकास एवम्  प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घको आयोजनामा राष्ट्रियस्तरको सम्मेलन आयोजना गरिएको हो ।

कोरोना महामारीपछि देशको पर्यटन क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ । कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक  प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता  दिएको छ ।

सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ मा १० लाख १४ हजार आठ सय ८२ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो आठ महिनामा सात लाख २० हजारभन्दा धेरै  विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

नेपालमा यतिखेर मुख्य पर्यटकीय सिजन शुरू भएको छ । विश्व पर्यटन दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।

पर्यटनमन्त्री पाण्डेले तीन तहका सरकारका साथै निजी क्षेत्रसँगको सहकार्यमा देशलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, पर्यटन  प्रवर्द्धन  र पूर्वाधारको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने योजनासहित मन्त्रालयबाट कामहरु भइरहेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया