वीपी राजमार्गको पुनर्निर्माणका लागि सरकार जाइकाको निर्णय कुर्दै

 कात्तिक ८, २०८१ बिहीबार १५:८:२४ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चाेक – गएको असोज दोस्रो हप्ता बाढी र पहिरोले क्षतविक्षत बनाएको वीपी राजमार्गको पुनर्निर्माणका लागि सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निर्णय कुरिरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुरले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनर्निर्माणको काम थाल्ने जनाएको छ ।

वीपी राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबासअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडक खण्डको धेरैजसो सडक क्षतिग्रस्त अवस्थामा रहेको छ ।

बाढी पहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याए पनि सुक्खा पहिरोको जोखिमका कारण कार्यालयले गएको असोज ३० गतेदेखि नै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन रोक लगाएको छ । सङ्घीय राजधानी काठमाण्डाैलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको वीपी राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुनेगरी सञ्चालनमा आएको छ ।

वीपी राजमार्ग पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएपछि गएको असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेर सहयोगबारे छलफल गर्नुभएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले आफूहरू अहिले जाइकाको निर्णयको पर्खाइमा रहेको जानकारी दिँदै पुनर्निर्माणमा ढिला गर्ने पक्षमा नरहेको बताउनुभयो  । उहाँले तत्कालै निर्माण थाल्नेगरी सरोकारवाला निकायसँग छलफल पनि शुरू भइसकेको पनि जानकारी दिनुभयो ।

इन्जिनियर योगेशका अनुसार प्रधानमन्त्री ओलीसँग राजमार्ग पुनर्निर्माणबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक/दुई दिनमै थप छलफल गर्ने योजना तय गरेको छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया