दक्षिण कोरियाका प्रधानमन्त्रीमाथिको महाभियोग अदालतबाट खारेज, कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली

 चैत ११, २०८१ सोमबार १२:१०:५५ | एजेन्सी
unn.prixa.net

तस्वीर : एजेन्सी

दक्षिण कोरियाको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री एवम् कार्यवाहक राष्ट्रपति हान डक–सुको महाअभियोग खारेज गरेको छ । संसद्ले लगाएको महाभियोग अदालतले खारेज गरेसँगै उहाँ कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली हुनुभएको छ ।

राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएपछि त्यति बेला प्रधानमन्त्री रहेका हान डक सु कार्यवाहक राष्ट्रपति बन्नुभएको थियो । सैनिक कू गर्ने असफल प्रयास गरेका राष्ट्रपति युनको महाभियोग अदालतबाट अगाडि बढ्ने प्रक्रिया रोकेको भन्दै संसद्ले कार्यवाहक राष्ट्रपति बनेका हान डक सुलाई पनि महाभियोग लगाएको थियो ।

झन्डै तीन महिनामा निर्णय सुनाउँदै संवैधानिक अदालतले हान डक सुलाई कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गरेको बीबीसीले जनाएको छ । अदालतले पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेका बताउनुभएको छ ।

संवैधानिक इजलासका आठमध्ये पाँच जना न्यायाधीशले हानलाई महाभियोग लगाउनुपर्ने पर्याप्त आधार नरहेको निर्णय गरेका छन् । दुई जना न्यायाधीले भने संसद्को दुई तिहाइले पास नगरेका कारण महाभियोग प्रस्ताव नै अवैध रहेको बताएका छन् । एक जना न्यायाधीशले भने हानलाई महाभियोग लगाउनुपर्ने पक्षमा मत दिएका थिए ।

गएको डिसेम्बरमा राष्ट्रपति युनले देशमा सैनिक शासन लागू गरेका थिए । तर उनको घोषणालाई केही घन्टामै दक्षिण कोरियाली संसद्ले उल्ट्याएको थियो । त्यसपछि संसद्ले उनीमाथि महाभियोग लगाएको थियो ।

दक्षिण कोरियामा संसद्ले महाभियोग लगाएपछि त्यो प्रस्तावमा संवैधानिक अदालतले एक सय ८० दिनभित्र फैसला गर्छ । युनमाथिको महाभियोगबारे पनि अब केही दिनमा अदालतले निर्णय गर्ने बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया