काठमाण्डौका सडकमा गाडी आवतजावत सामान्य, ठाउँठाउँबाट जुलुस निकाल्ने तयारी

 चैत १५, २०८१ शुक्रबार ९:२१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका सडकमा बिहानपख गाडीको आवतजावत सामान्य छ । बिहानपख कहीँ कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ । तर दिउँसो १२ बजेपछि ठाउँठाउँबाट जुलुस निकाल्ने तयारी भएकाले सडकमा अवरोध हुन सक्ने सम्भावना छ ।

आज समाजवादी मोर्चा र राजावादीहरुको छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका छन् । काठमाण्डौ प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ ।

बिहान एसईई भएकाले दिउँसो १२ बजेपछि मात्रै प्रदर्शन गर्ने दुवै समूहको तयारी छ । समाजवादी मोर्चाले मध्याह्न १२ बजेदेखि र्‍याली शुरू गर्ने र १ बजे भृकुटीमण्डपमा सभा गर्ने जनाएको छ । मोर्चामा आबद्ध दलले छुट्टाछुट्टै ठाउँबाट र्‍याली निकाल्दैछन् ।

माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट तथा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्‍याली निकाल्दैछ । नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट र्‍याली निकाल्ने तयारी गरेका छन् ।

चारवटै दलले फरक–फरक ठाउँबाट निकालेको र्‍याली भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभा शुरू हुने नेताहरुले बताएका छन् ।

यस्तै राजावादीहरुले सिनामंगल र भक्तपुरबाट र्‍याली निकालेर तीनकुनेमा सभा गर्ने तयारी छ । दुई समूहले ठाउँठाउँमा प्रदर्शन र सभा गर्ने भएकाले काठमाण्डौको ट्राफिक व्यवस्थापन चुनौती हुने देखिएको छ ।

राजावादीहरुको जुलुस चक्रपथभित्र प्रवेश गर्न नदिने र समाजवादी मोर्चाको जुलुसलाई चक्रपथभित्र केन्द्रित गर्ने गरी सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया